३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा कोइराला पक्षले भ्रष्टाचार र प्रधानमन्त्रीका कमजोरीका एजेण्डा राख्ने

सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सरकारलाई भ्रष्टाचारको आरोप लागेको र प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको निष्कर्ष निकाल्दै पार्टी केन्द्रिय समिति बैठकमा गम्भिर समिक्षा गर्ने एजेण्डा तय गरेको छ।  

आइतबार विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भोली (सोमबार) बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारवाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको हो।  

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ।

नेता चन्द्र भण्डारीले बैठकले सरकारलाई भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकालेको जानकारी दिए। उनले पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रिय समिति बैठकमा समिक्षा गर्नुपर्ने निष्कर्षसहित बैठक टुङगाइएको बताए।  

कोइराला पक्षले सरकारले ल्याएको बजेटप्रति पनि असन्तुष्टि जनाउदै आएको छ। त्यसैगरी पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ।  

स्थानीय तह निर्वाचनको समेत समिक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाईदा हुने गरी गठबन्धनलाई वृहत्त  बनाउने विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने नेता भण्डारीले बताए।  

उनले भने, ‘भोलिदेखि केन्द्रीय समिति बैठक हुँदैछ। त्यो बैठकमा समिक्षा, चाँहे स्थानीय तह निर्वाचनको होस्, वा सरकारको समिक्षा होस्। यसले ल्याएको बजेटले पारेको असरको बारेमा होस। पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरुमा पनि केन्दिय समिति बैठकमा छलफल गर्ने, काँग्रेसलाई कसरी मजदुत बनाउने, आगामी चुनावमा काँग्रेस कसरी जाने? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रुपमा पार्टीलाई फाईदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो। पार्टीको भातृ संस्थाहरुदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ।’

भण्डारीका अनुसार पार्टीको भातृ संस्थाहरु सबैको पूनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय भएको छ। पार्टीको भातृ संस्था र विभागहरुलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरुबीच छलफल भएको नेता भण्डारीले बताए।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा.रामशरण महतलगायतको सहभागिता रहेको थियो।  

नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ। पार्टीको विधान अनुसार विभागहरु समेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ।  

नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक भोली दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।

प्रकाशित: २६ असार २०७९ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App