२४ जेष्ठ २०८० बुधबार
राजनीति

गण्डकीमा बजेट दुरुपयोगः बुबाआमाको नाममा खोलिएको ट्रष्टमा बजेट

गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरुको दबावमा बजेट दुरुपयोग भएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको दबावमा बजेटको दुरुपयोग भएको हो।

बजेटको दुरुपयोग कतिसम्म भएको छ भने एउटै वडामा २८ करोडसम्म पनि बजेट गएको छ भने मुख्यमन्त्री र मन्त्रीको माता–पीताको नाममा खोलिएको ट्रष्टमा लाखौं लाख बजेट विनियोजन भएको छ। यसरी बजेट दुरुपयोग गर्ने मन्त्रीहरु सबै कांग्रेसका हुन्।

बजेटमा कयौं वडामा एक करोड पनि बजेट परेको छैन। तर प्रदेशका एकजना मन्त्रीको एउटै वडामा २८ करोड बजेट परेको छ। प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले आफ्नो वडा पोखरा–१६ मा सो बजेट हालेका हुन्। उनले रातो किताबमा २२ करोड बजेट हालेका छन् भने पछि सेतो कितावमा थप ६ करोड हालेर आफ्नो वडामा २८ करोड बजेट पुर्‍याएका हुन्।

चालु आर्थिक वर्षमा पनि उनले सोही वडामा बजेट खन्याएका थिए। गठबन्धन सरकार बनेलगत्तै बजेट ल्याउँदा मुख्यमन्त्री मातहत नै अर्थमन्त्रालय रहेकाले त्यतिबेला बजेट निर्माणको हर्ताकर्ता बनेका मन्त्री खड्काले आफ्नो हात जगन्नाथ गर्दै २५ करोड बजेट आफ्नो वडामा हालेका थिए।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका स्व. पीता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। तनहुँको व्यास नगरपालिका–१० मा गोवर्द्धन स्मृति कोषका लागि सो बजेट दिइएको हो। यो सामाजिक विकास कार्यालय तनहुँमार्फत बजेट कार्यान्वयन हुने उल्लेख छ।

चालु आर्थिक वर्षमा पनि मुख्यमन्त्री पोखरेलले पीताको नाममा रहेको सो फाउण्डेसनलाई प्रदान गरिएको एक रोपनी जग्गा पास गर्न लाग्ने रजिस्ट्रेसन शुल्कमा पचास प्रतिशत छुट गराएका थिए। मुख्यमन्त्री पोखरेलले आफ्नो भाई डा.जगदीशचन्द्र पोखरेलले फाउण्डेसनलाई प्रदान गरेको सो जग्गा पास गर्न लाग्ने शुल्कको पचास प्रतिशत छुट गराउने निर्णय मन्त्री परिषद बैठकबाट गराएका थिए।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको माता स्व.धनकुमारी श्रेष्ठ र पीता पुननारायण श्रेष्ठको नाममा खोलिएको ट्रष्टमा एक करोड बजेट हालिएको हो। स्याङजा भीरकोट नगरपालिका–१ स्थित पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा दुई फरक मन्त्रालयबाट फरक–फरक शीर्षकमा ५०–५० लाख गरेर कुल १ करोड बजेट विनियोजन भएको हो।

ट्रष्टका लागि मन्त्री श्रेष्ठले आफ्नै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयबाट ५० लाख विनियोजन गरेका छन् भने भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट ट्रष्टको भवन निर्माण गर्न भने थप ५० लाख विनियोजन गरिएको छ। अर्थमन्त्री बराल यो ट्रष्टलाई बजेट दिने पक्षमा थिएनन्। तर मन्त्री श्रेष्ठले बजेट हाल्न दबाव दिनुका साथै धम्क्याएर बजेट हाल्न लगाएका हुन्।

यहि विषयमा मुख्यमन्त्री निवासमा अर्थमन्त्री बराल र श्रेष्ठबीच चर्काचर्कीसमेत परेको थियो। अर्थमन्त्री बरालले कुनैपनि हालतमा बजेट नहाल्ने अडान राखेपछि सामाजिक विकास मन्त्री श्रेष्ठले आफ्नो माता पीताको नाममा खोलिएको ट्रष्टमा बजेट नहाले मन्त्री पद नै खोसिदिने धम्की दिएका थिए। अर्थमन्त्री निकट श्रोतका अनुसार त्यतिबेला मन्त्री श्रेष्ठले भनेका थिए, ‘बजेट नहाले जे पनि हुनसक्छ।’

उनले ‘जे पनि हुनसक्छ’ भनेर अर्थमन्त्रीको ज्यान नै तलमाथि पारिदिनेसम्मको चेतावनी दिएको अर्थमन्त्री बरालको बुझाइ छ। त्यही भएर अर्थमन्त्री बरालले तत्कालै ‘आँट छ भने गरेर देखाउनु’ भन्ने जवाफ फर्काएको उनको सचिवालयले जनाएको छ।

तर पछि बजेट नहालेसम्म संसद नै नचल्ने स्थिति बनेपछि अर्थमन्त्री बरालले सेतो कितावमा सो बजेट हालेका हुन्। ‘अर्थमन्त्रीज्यूले ट्रष्टलाई बजेट नहाल्न खोज्नु भएको हो तर दवाबमा हाल्न बाध्य पारियो,’ अर्थमन्त्री निकट श्रोतले भन्यो। मन्त्री श्रेष्ठले भने छुटेका योजना सेतो कितावमा थपिएको जिकिर गरे।

उनले भने,‘यो नया कुरा होइन। छुटेका योजना सेतो कितावमार्फत ल्याउने चलन पुरानै हो’ त्यस्तै, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीका पीता स्व.अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख र पर्वतकै अर्का कांग्रेस नेता स्व. डिल्लीराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउनका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ।

स्मृति पार्क पर्वतको कुश्मा नगरपालिका–८ मा निर्माण गरिने उल्लेख छ। कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र आफ्ना पीताहरुको नाममा रहेको ट्रष्टलगायतलाई बजेट नहालेसम्म बजेटमाथिको छलफल रोकेको थियो।

त्यही भएर असार १ गते आएको बजेट १९ गतेसम्म छलफल हुन सकेको थिएन। अन्तिममा अर्थमन्त्री बराल घुमाउरो बाटोबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि बजेट दिन र कांग्रेसले भनेका योजना हाल्न तयार भएपछि असार २० गतेबाट सदन चल्न थालेको हो।  

प्रकाशित: २५ असार २०७९ १८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App