२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एस सचिवालय बैठकः वाम गठबन्धन गर्नुपर्नेमा जोड

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) मा हालको पाँच दलीय गठबन्धनमै रहने कि वाम गठबन्धन बनाउने भन्ने बहस सुरु भएको छ। नेपाली कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गरिरहँदा नेकपा एसले गठबन्धनकै विकल्प खोज्दै आगामी निर्वाचनमा कसरी अगाडि बढ्ने भनेर छलफल थालेको हो।

‘हालको सत्तारूढ गठबन्धन बन्दा कांग्रेस, माओवादी र नेकपा एसले दुईदुई प्रदेशको नेतृत्व गर्ने भनेर सहमति गरिएको हो तर कांगे्रेसले केन्द्रीय सहमति उल्लंघन गरेका कारण अहिले नै वाग्मती प्रदेशको मुख्यमन्त्री छाड्नुपर्दैन, अर्को प्रदेशमा मुख्यमन्त्री दिने भए मात्र वाग्मती छाड्न सकिन्छ,’ नेकपा एसका एक पदाधिकारीले भने। उनका अनुसार कांग्रेसले यस्ता सहमतिहरू उल्लंघन गर्दै गए आगामी दिनमा गठबन्धन गरे पनि अक्षरशः कार्यान्वयन नहुने निष्कर्ष बैठकले निकालेको छ। ‘स्थानीय तहको निर्वाचनमा भोगेको पीडा कायमै छ। तत्काल वाम गठबन्धनको विषय नै ठिक हुन्छ। अन्य कुरा सोच्नैहुँदैन,’ उनले भने।  

काठमाडौंमा सोमबार बसेको बैठकमा नेकपा एसको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमालेभन्दा माओवादी केन्द्रसँगको सहकार्यलाई जोड दिएका थिए। ‘वाम गठन्धन बनाउँदा पनि माओवादीसँगको सहकार्य सहज हुन सक्ने बताउनुभएको थियो,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने। उनका अनुसार हालै सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा कार्यकर्ताले उठाएका सवाललाई पनि आजको बैठकले छलफलको विषय बनाएको थियो। परिषद् बैठकमा कार्यकर्ताहरूले नेकपा एसले एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव पनि अघि सारेका थिए। पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सोमबारको सचिवालय बैठकमा वाम गठबन्धनबारे छलफल भए पनि अन्य दलसँग एकता गर्नेबारे भने कुराकानी नभएको बताए। ‘पार्टी एकताको विषयमा कुराकानी भएन तर वाम गठबन्धनबारे कुराकानी भएको हो,’ उनले भने।

पछिल्लो समय वामदेव गौतमले पनि वामपन्थी पार्टीहरू मिलेर अघि बढ्नुपर्ने भन्दै प्रस्ताव राख्दै आएका छन्। गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै सो प्रस्ताव राखिसकेका छन्। उनले नेकपाकालीन सचिवालयका सदस्यहरूलाई पनि एकसाथ राखेर वाम गठबन्धनको प्रस्ताव गरिसकेका छन्। ‘वाम एकताका लागि वामदेव गौतमले गरेको प्रस्तावबारे छलफल भएको हो तर पार्टी एकता गरिहाल्नुपर्ने होइन,’ ती पदाधिकारीले भने। ‘गौतमले एमाले पनि वाम गठबन्धनमा आउन सक्ने कुरा गर्नुभएको थियो तर अध्यक्ष नेपालले यो विषयमा कुरा उठाउनुभएन,’ नेकपा एसका ती पदाधिकारीले भने।

नेकपा एसभित्र अधिकांश नेताकार्यकर्ता माओवादीसँग एकता गर्न नहुने पक्षमा छन्। सचिवालय बैठक सकिएपछि बाहिरिने क्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले माओवादीसँगको एकता सोच्न पनि नसकिने बताए। ‘गठबन्धन र पार्टी एकता फरक कुरा हुन्, अहिले नै पार्टी एकता गर्ने विषय राम्रो होइन। यस्तो कुरा सोच्न पनि सकिन्न,’ उनले भने। नेकपा एसभित्र माओवादीले स्थानीय तहको निर्वाचनमा धोका दिएको, कांग्रेससँग मिलेर आफूहरूलाई टाढा राखेकोजस्ता विषयले प्राथमिकता पाएका छन्।

माओवादीले नेकपा एसलाई मतदाता मात्रै बनाएको र कांग्रेससँग मिलेर स्थानीय तहको निर्वाचनमा धोका दिएको भन्दै राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा कुरा उठेको थियो। ‘माओवादीसँग हचुवाका भरमा एकता हुन नसक्ने भएकाले पनि अध्यक्षले चाहना राख्दैमा अहिले त्यो सम्भव छैन,’ नेकपा एसका ती पदाधिकारीले भने।

माओवादी अध्यक्ष दाहालले नेकपा एसलाई माओवादीमा विलय गराउन सकिने अभिव्यक्ति पार्टीभित्र दिँदै आएका छन्। नेकपा एसका अध्यक्ष नेपालले पार्टी एकीकरण गर्ने भए पनि सिंगो पार्टी माओवादीमा समाहित हुने सम्भावना निकै कम रहेको छ। ‘माओवादीको एउटा ठुलो समूहले नेकपा एसलाई पार्टीका रूपमा स्वीकार गरेकै छैन। केपी ओलीले पेलेका कारण पार्टीका रूपमा नेकपा एस बनेको भन्ने मनस्थिति माओवादीमा रहेकाले निरीहता देखाएर एकता हुन सक्दैन,’ उनले भने।

प्रकाशित: २१ असार २०७९ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App