१५ चैत्र २०८० बिहीबार
राजनीति

एसपिपी प्रकरणः राजनीतिमा नैतिकता हरायो

प्रतिनिधि सभा सदस्य एवं माओवादी नेत्री अमृता थापाले राजनीतिमा नैतिकता हराउँदै गएको बताएकी छन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का विषयमा प्रतिनिधि सभा सदस्यहरू पक्ष र विपक्षमा विभाजित भइरहेका बेला सांसद थापाले तथ्यलाई बंग्याएर पार्टीका जिम्मेवार नेताहरूले जनताको सार्वभौम थलोमा मिथ्या धारणा राखेर नैतिकताको अलिकति पनि ख्याल नगरेको बताएकी हुन्।  

प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले उपाध्यक्षसमेत रहेका सांसद ईश्वर पोखरेलले तथ्यलाई बंग्याएर मिथ्या धारणा राखेको जिकिर गर्दै थापाले उनले व्यक्त गरेको धारणा संसद्को रेकर्डबाटै हटाउनुपर्ने तर्क गरिन्। उनले सांसद पोखरेलको अभिव्यक्तिप्रति लक्षित गर्दै भनिन्, ‘राजनीतिमा नैतिकता हराएपछि यस्तै हुन्छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीका पालामा २०७२ कात्तिकमा एसपिपीका विषयमा हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाउने अहिले आएर उनकै दलका नेताले संसद्बाट ठाडो चुनौती दिन मिल्छ? सार्वभौम प्रतिनिधि सभामा झुट बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ।’

आफैं गल्ती गर्ने अनि आफैं निहुँ खोज्ने काम एमालेका सांसदले गरेको उनले बताइन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद पोखरेलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागिताका लागि पत्राचार गर्ने कार्य तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा भएको दाबी गर्दै यसबारे एमाले अध्यक्ष ओली नेतृत्वको सरकारका पालामा कुनै लिखत, निर्णय भको भए संसद्मा प्रस्तुत गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका थिए। त्यसअघि दाहालले ओली नेतृत्वको सरकारले एसपिपी अघि बढाएको बताएका थिए।  

ओलीले नै पत्राचार गरेको होः गौतम

राष्ट्रियसभाका सांसद एवं पूर्वउप्रधानमन्त्री वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी ओलीले एसपिपीमा सहभागी हुन पत्राचार गरेको बताएका छन्। उनले शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा एसपिपीमा सहभागिताका लागि सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारका पालामा पत्राचार भएको भन्ने कुरा प्रतिनिधि सभामा आएपछि आफूले खोजीनिती गर्दा प्रधानमन्त्रीका रूपमा ओलीले नै प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन्। गौतम कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री थिए। यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओलीले यसलाई अघि बढाएको गौतमको दाबी छ। उनले एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै सत्य कुरा बताउँदा कुनै पनि पार्टी सानो नहुने र त्यसका नेताको व्यक्तित्व नघट्ने बताए। गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा गएर यस विषयमा जवाफ दिनुपर्ने धारणा राखे।  

अर्को प्रसंगमा गौतमले कम्युनिस्ट पार्टी एकजुट बनाउने अभियानमा आफू लागिपर्ने बताए। केही समयदेखि आफू कतै पनि संलग्न नभएको उल्लेख गर्दै गौतमले कम्युनिस्टलाई फेरि एकीकृत गर्ने अभियानको केही समयपछि घोषणा गर्ने योजना सुनाए। उनले भने, ‘हेरौं कत्तिको सफलता प्राप्त हुन्छ।’

कांग्रेस सांसद प्रकाश पन्तले बोल्न हतारो गर्ने एमाले सांसद ईश्वर पोखरेलले आँखा झिमिक्क गर्दा एउटा र हेर्दा अर्को कुरा गरेको भन्दै आलोचना गरे। ‘अलिकति पनि ख्याल नगरीकन बोलियो, यसमा खेद प्रकट गर्न चाहन्छु, पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई बिनाकारण एसपिपीमा मुछ्ने काम भयो,’ उनले भने। कांग्रेसका अर्का सांसद रमेशजंग रायमाझीले पनि प्रतिनिधि सभा सदस्य पोखरेलको अभिव्यक्तिप्रति आपत्ति जनाए।

प्रकाशित: ४ असार २०७९ ००:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App