८ वैशाख २०८१ शनिबार
राजनीति

सन्की मन्त्रीको गिर्दो मर्यादाः उत्कर्षमा आलेको अश्लीलता

गत फागुन पहिलो साता मजदुरीका लागि भारतमा रहेका अछामका जगत वलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले गरेको कुराकानीको श्रव्यसामग्री बाहिरियो र ‘भाइरल’ पनि भयो। सो सामग्रीमा मन्त्री आलेले वलीलाई अश्लील शब्द प्रयोग गरेर गालीबेइज्जती गरेका थिए। मन्त्री आलेको लोकप्रियता देखेर तर्सिएकाहरू सुनियोजित रूपमा ‘डबिङ’ आवाज प्रयोग गरेर उनलाई बदनाम गर्न खोजेको दाबी उनको सचिवालयले गरेको थियो। यति गर्दा पनि सत्य ढाकछोप गर्न नसकिने अवस्था आएपछि उनी स्वयं मिडियामा आए। त्यसक्रममा उनले ती युवाले आफूलाई धेरै ‘टर्चर’ गरेका कारण बाध्य भएर गाली गर्न पुगेको बताए। सो सामग्री एक वर्ष पुरानो भएको भन्दै पन्छाउने कोसिस गरियो। घटना सामसुम पनि भयो।

मन्त्री आलेको त्यस्तै खालको अर्को अश्लील हर्कत शुक्रबार सार्वजनिक भएको छ। उनले आफ्नै मन्त्रालयमातहतका एक उच्च अधिकारीमाथि अश्लील शब्दबाण प्रहार मात्र गरेका छैनन्, हातपात गर्नसमेत पुगेका छन्। मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गर्दै हातपात गरेका हुन्। उनको यो हर्कत सञ्चारमाध्यमबाट बाहिरिएको हो। सोही हर्कतका कारण उनको चर्को आलोचना भइरहेको छ। पीडामा परेका कार्यकारी अध्यक्ष अधिकारीले मन्त्री आलेले आफूलाई ‘गोलीसमेत हान्ने धम्की दिएको’ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गरेर निवेदनसमेत दिएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन वायुसेवा निगम केन्द्रीय समिति, निगमकै कर्मचारी युनियन केन्द्रीय समिति, आधिकारिक ट्रेड युनियन र नेपाल वायुसेवा निगम कर्मचारी संघले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेर मन्त्री आलेको बर्खास्तीको माग गरेका छन्। सामाजिक सञ्जालमा समेत आलेको अश्लील शब्दोच्चारणसहितको दुर्व्यवहारको चर्को विरोध भइरहेको छ।

संस्कृतिमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गर्दै हातपात गरेका छन्। उनको यो हर्कत सञ्चारमाध्यमबाट बाहिरिएको हो। सोही हर्कतका कारण उनको चर्को आलोचना भइरहेको छ।

शुक्रबार प्रतिनिधिसभामा पनि आलेको हर्कतबारे प्रश्न उठेको छ। प्रमुख प्रतिपक्षी दल एमालेका सांसद झपट रावलले शून्य समयमा बोल्दै उनले संस्कृतिको संरक्षण र नयाँ संस्कृति निर्माणका लागि संस्कृति, पर्यटन मन्त्रालय बनाइएको बताउँदै सामाजिक मूल्यमान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्रीजस्तो गरिमामय पदमा बसेका व्यक्तिले कहिले सर्वसाधारण र कहिले आफूमातहतकै कर्मचारीसँग बोलेका शब्द र गरेका व्यवहारले समाजकै बेइज्जत गरेको बताए। ‘यस्ता गाली शिरोमणिलाई संस्कृतिमन्त्रीको सट्टा गाली शिरोमणिको उपाधिले विभूषित गर्नुहुन हार्दिक अनुरोध गर्दछु,’ रावलले भने।  

मुखै अश्लील!

यी त भए बाहिर आएका घटना तर मन्त्री आलेबाट यस्ता हर्कत त पाइलापाइलामा हुने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। मन्त्री आलेका मुखमा ‘मा...’ भन्ने शब्द त पहिल्यैदेखि झुन्डिएको उनीहरूको भनाइ छ। ‘रिस उठ्यो कि अश्लील शब्द निस्किहाल्छ, थोरै पनि सहने धैर्य छैन,’ जानकार स्रोतले भन्यो। पछिल्लो समय मन्त्री भएपछि उनको अश्लीलताको सिकार मातहतकै कर्मचारीहरू हुने गरेका छन्। जानकारहरूका अनुसार उनी कर्मचारीहरूलाई पुरै अपमानजनक व्यवहार गर्छन्। त्यसकारण सिंगो कर्मचारी क्षेत्र उनीदेखि त्रसित छ। ‘त्यो त एउटा घटना मात्रै हो। दिनहुँ त्यस्ता शब्द सुनिन्छन् हाम्रो मन्त्रालयमा,’ पर्यटन मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘उहाँको त्यस्ता अश्लील शब्द प्रहार नपाउने सचिव, सहसचिव, उपसचिव कोही बाँकी छैनन्।’  

मन्त्री आलेले कर्मचारीलाई सम्बोधन गर्ने शब्द ‘तँ’ नै रहेको कर्मचारीहरूको गुनासो छ। ‘उहाँले सबैलाई सम्बोधन तँ भनेर गर्ने हो। भनेको नमाने उहाँ मा... सम्म पुगिहाल्नुहुन्छ,’ ती कर्मचारीले भने। कर्मचारीलाई उनले दासझैं मान्ने गरेको उनीहरूको अनुभव छ। मन्त्री आलेबाट सबैभन्दा बढी गाली खानेमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, सरकारले भर्खरै सेवाबाट हटाएका वायुसेवा निगमका पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेललगायत रहेको स्रोतको भनाइ छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी (सिइओ) धनञ्जय रेग्मी कर्मचारीसँग गर्ने व्यवहारका सन्दर्भमा मन्त्री आलेमा समस्या रहेको बताउँछन्। ‘कर्मचारी पनि राष्ट्रसेवक हुन्। उनीहरूको पनि आत्मसम्मान हुन्छ भन्नेमा मन्त्रीज्यूमा थोरै समस्या छ,’ उनले भने, ‘रिस उठ्यो भन्दैमा जे पनि भनिदिने, जे पनि गरिदिने स्वभाव उहाँमा छ।’ मन्त्री आलेको इच्छाअनुसार आफूले काम गर्न नसक्दा सार्वजनिक कार्यक्रममा अपमानपूर्वक ‘साँढे भनेको’, हटाउन खोजेको रेग्मीले बताए। ‘मन्त्रीज्यूले नीतिगत रूपमा अह्राएको काम कर्मचारीले गर्नुपर्छ। तर कतिपय यस्ता कुरा हुन्छन्, जो नीतिगत रूपमा गर्नै मिल्दैन वा मिलाउन समय लाग्छ। उहाँलाई त्यस्ता कुराको मतलब नै हुन्न। भन्नेबित्तिकै काम नभए उहाँ अश्लील शब्दसहित गालीगलौजमा उत्रिहाल्नुहुन्छ,’ उनले भने।

‘अह्राएको अवाञ्छित काम नगरे पनि गाली’

मन्त्रालय स्रोतका अनुसार मन्त्री आलेमा पैसा माग्ने, अवाञ्छित काम गर्न लाउने प्रवृत्ति छ। स्रोतका अनुसार आलेले वायुसेवा निगमका पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेलसँग १० करोड मागेका थिए। उनले नदिएपछि पहिले मन्त्रालय ताने र केही दिनअघि मात्रै मन्त्रिपरिषद्को बैठकमार्फत सेवाबाट हटाएका छन्। यस्तै पर्यटन बोर्डका सिइओ रेग्मीसँग पनि आलेले २ करोड मागेको स्रोतको भनाइ छ। सिइओ रेग्मीले भने सो कुरा खोल्न चाहेनन्। तर आफ्ना स्वकीय सचिवलाई बेलायत जान टिकटको व्यवस्था गर्न भनेको तर सो कुरा नमानेपछि झोंक निकालेको उनले स्वीकार गरे।

यस्तै तारागाउँ विकास समितिको सदस्य सचिवमा नियुक्त गर्दा नारद लुइँटेलसँग ‘बार्गेनिङ’ गरेको कुरा पनि स्रोतले नागरिकसँग बताएको छ।

‘हरेक काममा उहाँको बार्गेनिङ गर्ने प्रवृत्ति छ। नभएपछि गुन्डागिरी शैलीमा उत्रिनुहुन्छ,’ स्रोत भन्छ, ‘पैसा उठाउन पनि पुरै गुन्डागर्दी शैलीमै उत्रिने हो, नदिए अनावश्यक दुःख दिने छँदैछ।’ कर्मचारीहरूका पनि सानाठूला कमजोरी हुने गरेकाले चुप लाग्ने, अपमान सहने गरेको स्रोत बताउँछ।

स्रोतका अनुसार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई ठाडो आदेशमा ८० भन्दा बढी कर्मचारी भर्ना गर्न आदेश दिएका थिए। सोही आदेश समयमै पालन नगर्दा उनलाई अश्लील गाली र हातपात गरेका हुन्। जुन कुरा निगममा रहेका विभिन्न ट्रेड युनियनका विज्ञप्तिहरूमा पनि उल्लेख छ।

वायुसेवा निगम कर्मचारी संघले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यकारी अध्यक्षज्यूलाई अनैतिक ढंगले कर्मचारी भर्ना गर्न र नियमविपरीत क्रियाकलाप गर्न दबाब दिने मन्त्रीज्यूले ८० भन्दा बढी मासिक ज्यालादारीका कर्मचारी नियुक्ति गर्न लगाई नियुक्तिपत्र मन्त्रालयबाटै बाँडिनु दुःखद् पक्ष हो।’

प्रकाशित: ४ असार २०७९ ००:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App