coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

म विवादमा परेँ: राष्ट्रपति

काठमाडौं— राष्ट्रपति रामवरण यादबले संविधान निर्माण प्रक्रियामा असहमतहरुको आवाज समेट्नुपर्छ भन्दा आफू विवादमा परेको बताएका छन्। एनआरएन अन्तर्गत शुक्रबार आर्मी अफिर्सस क्लबमा ग्लोबल कन्फरेन्स उद्घाटन गर्दै राष्ट्रपति यादबले सो कुरा बताएका हुन्।संविधानको कार्यान्वयन गर्न धेरै अप्ठ्यारो रहेको उल्लेख गर्दै राष्ट्रपति यादबले भने, 'हामी यत्रो वर्ष संविधान बनाउन पर्खियौं। डिसेन्टिङ भोइसेसलाई मैले प्रक्रियामा ल्याउन भनेँ तर म कन्ट्रोभर्सीमा परेँ।'

संविधान निर्माण प्रक्रिया रोकेर असहमत आवाजहरुलाई समेट्न आफूले दलहरुलाई आग्रह गरे पनि उनीहरुले नसुनेको गुनासो उनले गरे। 'डिसेन्टिङ भोइसेसलाई ५–७ दिएर उनीहरुलाई पनि समेट्नु भनेँ। सरकारले संविधान सभाले र दलहरुले उनीहरुलाई बोलाउनुपर्छ भनेँ तर उनीहरुले सुनेन्', राष्ट्रपति यादबले भने, 'अहिलेका पार्टी, सरकार र रुपान्तरित व्यवस्थापिका संसदले त्यो काम गर्नुपर्छ भनेर मैले घचघच्याइरहेको छु।'

एनआरएन कन्फरेन्स उद्घाटनमा लिखित मन्तव्य दिइरहेका राष्ट्रपतिले अचानक राजनीतिक विषयमा बोल्न थालेपछि भाषण पट्यार राखेका थिए। 'जसरी भूकम्पले हाम्रो मन जोडेको थियो त्यसरी नै हामी सबैको मन जोड्न जरुरी छ', उनले भने।

एनअारएनलाई साइकल चढेर गाउँ जान राष्ट्रपतिको सल्लाह

विश्वभरिबाट आएका एनआरएन प्रतिनिधिलाई सम्बोधन गर्दै राष्ट्रपति यादबले साइकल चढेर गाउँ जान सुझाव दिए। भारतले इन्धन आपूर्ति रोकेको उच्चारण नगरी उनले भने, 'मैले तपाइँहरुलाई गाउँ गाउँमा जानुहोस्, विद्यालय खोल्नुहोस् त्यहाँका समस्यालाई हेर्नोस् भनेको थिएँ तर कसरी जानुहुन्छ र गाउँ? अब तपाइँहरु पनि साइकल चढेर गाउँ जानुहोस्।'

करिब ८ मिनेट राजनीतिक विषयमा भाषण गरेपछि उनी पुनः लिखित भाषणमै फर्किएका थिए।

एनआरएन झोले पर्यटक हैनन्: घले

एनआरएनका नवनिर्वाचित अध्यक्ष शेष घलेले एनआरएनहरु झोले पर्यटकजस्तो नभएको बताएका छन्। 'हामीलाई यहाँ दशैँ मनाउन आउँछन्। ठूला कुरा गर्छन् भन्ने गरिन्छ तर नेपालमा एनआरएनहरुले धेरै खर्च गरिरहेका छन्', उनले भने, 'हामी १० डलर खर्च गर्ने विदेशी पर्यटक जस्तो हैनौं। हामी आउनुभन्दा अगाडि २०–३० प्रतिशत पनि होटल बुकिङ हुँदैनथ्यो। अहिले सतप्रतिशत होटल बुक भएका छन्।'

एनआरएनहरुले प्रतिबद्धता पनि गर्ने गरेको र खर्च पनि गर्ने गरेको उनको भनाइ थियो। 'हामीले प्रतिबद्धता पनि गरेका छौं खर्च पनि गरेका छौं। तपाइँहरु प्रतिबद्धताको रेकर्ड राख्नोस् हामी त्यसलाई पूरा गर्दै जान्छौं ।'

प्रकाशित: २९ आश्विन २०७२ ००:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App