coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश १ सरकारले पेस गरेको आर्थिक वर्ष  २०७९/०८० को नीति तथा कार्यक्रम आइतबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो।  

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको बताए। नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिकमतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लिलाबल्व अधिकारीले संशोधन प्रस्ताव राखेका थिए।

प्रतिपक्षी दलका सांसदहरूले राखेको संशोधनको प्रस्ताव पारित भने भएन। प्रदेशसरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा २० जना सांसदहरूले बोलेका थिए। प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम अपुरो रहेको भन्दै आलोचना गरेका थिए भने सत्तापक्षका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गरेका थिए।  

छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि प्रदेशको विकासमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। सरकारबाट भएका कमीकमजोरी औँल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनले बताए। ‘पदमा हुँदा एउटा भाषा र पदबाहिर हुँदा अर्को भाषा किन  बोल्नु उपयुक्त हैन,’ मुख्यमन्त्री राईले भने, ‘आफू ४ वर्ष सत्तामा बस्दा केही नगर्ने अनि अरुलाई केही गरेन भनेर भन्ने?’

बजेट तथा नीति कार्यक्रम साझा विषय भएकोले यसलाई मिलेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। मुख्यमन्त्री राईले प्रदेश सरकारले बजेटको अभावले धेरै नयाँ खालका कार्यक्रम ल्याउन नसकेको बताए। उनले अघिल्लो सरकारले जथाभावी बहुवर्षीय योजनाहरू ठेक्का लगाएका कारण प्रदेशमा समस्या रहेको बताए।

उनका अनुसार प्रदेश सरकारको वार्षिक पूँजीगत खर्च गर्ने बजेट १२ अर्बको रहेको तर, अघिल्लो सरकारले ५४ अर्बका आयोजना ठेक्का लगाइसकेका कारण तीनै आयोजनामा बजेट पुर्‍याउन मुस्किल भएको बताए। राईले पहिलेको सरकारले ठेक्का लगाएका आयोजना पूरा गर्नै ५ वर्षभन्दा बढी समय लाग्ने स्पष्ट पारे।

प्रकाशित: २९ जेष्ठ २०७९ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App