८ वैशाख २०८१ शनिबार
राजनीति

अमेरिकी जनरल उच्चस्तरीय भेटघाटमा

नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चाल्र्स ए फ्लिलिनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा दुई देशबीच कूटनीतिक सम्बन्ध, मानवीय सहायता र विपद् व्यवस्थापन तथो राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपालको योगदानका बारेमा छलफल भएको थियो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भेटमा दुईपक्षीय हितका विषयमा छलफल भएको जानकारी दिए।

जनरल फ्लिनले शुक्रबार नै नेपाली सेनाको मुख्यालय भद्रकालीको पनि भ्रमण गरेका छन्। त्यस क्रममा नेपाली सेनाले उनलाई सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको अपरेसनल गतिविधिका बारेमा जानकारी गराएको थियो। त्यसलगत्तै उनले प्रधानसेनापति प्रभुराम शर्मासँग उनकै कार्यकक्षमा पुगेर भेटघाट तथा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका बारेमा छलफल गरेका थिए।

शनिबार उनले माउन्टेन फ्लाइटमार्फत सगरमाथा अवलोकन, आइतबार शान्ति कार्य तालिम केन्द्र पाँचखालको अवलोकन तथा सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरी भ्रमण कार्यक्रम रहेको सेनाले जनाएको छ।

नेपाल बसाइका क्रममा उनले विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने कार्यक्रम छ। नेपाली सेनाले यो औपचारिक सद्भावना भ्रमण भएकाले भ्रमणमा कुनै एजेन्डा तय नभएको जनाएको छ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ७५औं वर्ष पुगेको अवसरमा उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गरिरहेका बेला अमेरिकी सेनाका जनरल नेपाल आएका हुन्। अमेरिकाले जनरल फ्लिनको भ्रमण नेपाल र अमेरिकाबीच कायम रहेको दशकौं लामो रक्षा सहकार्यको निरन्तरताका रूपमा भएको जनाएको छ।

नेपालबाट प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण तय भइसकेको र प्रधानमन्त्री शेरबहादुर देउवाको पनि भ्रमणको चर्चा चलिरहेका बेला फ्लिन चार दिन लामो भ्रमणका लागि नेपाल आएका हुन्।

प्रकाशित: २८ जेष्ठ २०७९ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App