१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यादवको एकता प्रस्तावको अन्तर्य

अघिल्लो वर्षको जेठ दोस्रो साता केपी ओली नेतृत्वको सरकार ढल्न लाग्दा महन्थ ठाकुर टेको बनेर टिकाउन पुगेपछि उनीसँग उपेन्द्र यादवको पार्टीगत सम्बन्ध विच्छेद भएको थियो।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष ठाकुरसँग मिलापको हात अघि बढाएर पानी बाराबारको राजनीतिलाई तरंगित बनाइदिएका छन्।

जसपा अध्यक्ष यादवसँग खटपट भएपछि ठाकुरले अलग भएर लोसपा गठन गरेका हुन्। मधेस प्रदेशको राजधानी जनकपुरधामबाट जसपा अध्यक्ष यादवले मधेसको मत र जनमत विभाजन हुँदा मधेसी जनतालाई क्षति पुगेको भन्दै करिब एक वर्षअघि जसपाबाट अलग भएका ठाकुरसँग पार्टी एकताका लागि प्रस्ताव गरेपछि यसले मधेसको राजनीतिमा तरंग ल्याइदिएको छ।

यादवले बुधबार आयोजित सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘अब फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ।’ तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एक भएर जसपा बन्दा मधेसको मत एकढिक्का थियो। जसपा विभाजित भएर लोसपा बनेपछि न मधेसी जनतालाई फाइदा भयो न जसपा र लोसपालाई नै।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दुवै दलले अपेक्षित नतिजा हात पार्न सकेनन्। यसको कारण टुटफुट नै हो। जनकपुरधामबाट यादवले भनेका थिए, ‘स्थानीय तह निर्वाचन परिणामले हामीलाई मिल्न सन्देश दिएको छ।’ यादवले जसपाबाट ठाकुर नेतृत्वमा निस्केको समूहले समीक्षा गर्ने बेला आएको बताए।

उनले भनेका थिए, ‘पार्टी छाडेर के फाइदा भयो? नोक्सान दुवैतिर भएको छ। फाइदा त कसैलाई भएको छैन। विभाजनको औचित्य छैन। षड्यन्त्रपूर्ण ढंगले भड्काएर पार्टी विभाजन गराइयो जसले न लोसपालाई हित भयो न मधेसी जनतालाई नै। म खुला हृदयले महन्थजीलाई आग्रह गर्दछु–अझै समय छ, फुटेर होइन जुटेर अगाडि बढौं। जुटेर अगाडि बढ्न म तयार छु। लोसपाका साथीहरू आए खुला हृदयले गला लगाउन तयार छु।’

स्थानीय तहको निर्वाचनअघि ठाकुर नेतृत्वको लोसपा र यादव नेतृत्वको जसपाबीच पानी बाराबारको स्थिति थियो तर निर्वाचन परिणाम अपेक्षाकृत नआएपछि यादवले लचिलो भएर ठाकुरसँग सम्बन्ध सुधारको हात अघि बढाएका हुन्। पानी बाराबारको अवस्थामा अचानक यादवले ठाकुरसँग एकताका लागि किन आग्रह गरे त? राजनीतिक विश्लेषक तुलानारायण साह यसलाई रणनीतिक र गणनात्मक हिसाबकिताबसहितको प्रस्ताव भएको बताउँछन्। साह यो प्रस्तावलाई स्थानीय तह निर्वाचन परिणामको उपज ठान्छन्।

स्थानीय तहको निर्वाचन परिणामबाट मधेसकेन्द्रित राजनीतिक दलहरू मधेस प्रदेशमै कमजोर देखिएका छन्। मधेस प्रदेशका १ सय ३६ पालिकामध्ये कांग्रेसले ४६, एमालेले ३०, जसपाले २५, लोसपाले १४, माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ६, जनमत पार्टीले २, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले १ र विवेकशील साझा पार्टीले एउटामा नेतृत्व लिएका छन्।

जनकपुर उपमहानगरपालिका र बर्दिबास नगरपालिकाको नेतृत्वमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले २६, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले २५, नेपाली कांग्रेसले ४० एमालेले १८, माओवादी केन्द्रले २१ र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ३ पालिकामा नेतृत्व जितेका थिए।

निर्वाचनपछि तत्कालीन संघीय समाजवादी फोरम र राजपा मिलेर जसपा बनेको हो। संघीयता स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ को तुलनामा दोस्रो स्थानीय तह निर्वाचनमा जसपा, लोसपा र माओवादी केन्द्रले मधेसमा सिट गुमाएका छन्। कांग्रेस र एमालेको सिट थपिएको छ। यसपटक सिके राउत नेतृत्वको जनमत पार्टीले पनि दुई पालिका प्रमुख जितेर स्थानीय सरकारमा आफ्नो उपस्थिति देखाएको छ।

जसपा अध्यक्ष यादवले पार्टी विभाजनका कारण दोस्रो स्थानीय तह निर्वाचनमा क्षति बेहोर्नुपरेको स्विकारेका छन्। जसपा विभाजनको फाइदा मधेसइतर दललाई पुगेको छ। जसपाबाट अलग हुँदाको मार लोसपाले पनि स्थानीय निर्वाचनमा बेहोर्नुपरेको लोसपाका नेताहरू पनि स्विकार्छन्। तर सजिलै यादव नेतृत्वको जसपासँग एकता हुनेमा लोसपाका नेताहरू ढुक्क देखिँदैनन्।

लोसपा नेता राजेन्द्र महतो भन्छन्, ‘अप्ठेरोमा पर्दा एकीकरणको याद आउने उपेन्द्रजीसँग एकता सजिलो छैन। अहिले औपचारिक कुराकानी भएको छैन, त्यसैले धेरै कुरा गर्नुको तुक छैन।’ राजनीतिक विश्लेषक साह भन्छन्, ‘उपेन्द्र यादवजीको राजनीतिक यात्रा अध्ययन गर्दा उहाँको स्वभाव शक्तिमा हुँदासम्म नेता–कार्यकर्तालाई फलोअर ठान्ने र कमजोर पर्दा हदैसम्म लचक हुने देखिन्छ।’

दोस्रो स्थानीय तह निर्वाचन परिणापछि यादवले मुख्यतया तीनवटा धारणा सार्वजनिक गरेको साह बताउँछन्। विश्लेषक साहका अनुसार यादवले कांग्रेस सच्चिनुपर्ने, लोसपासँग एकताका लागि हरप्रयास गर्ने र कांग्रेस नसच्चिए सत्ता गठबन्धनको विकल्पबारे सोच्ने विषयमा धारणा राखेका छन्।

स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइराला र उपमेयरका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव थिए। मेयरमा कोइराला विजयी भए तर उपमेयरमा अमरेन्द्र पराजित भए। त्यसपछि जसपा अध्यक्ष यादव रन्थनिएका छन्। यादव स्थानीय तह निर्वाचनमा भएको क्षति आगामी प्रदेश र संघीय प्रतिनिधिसभा निर्वाचनबाट पूरा गर्न चाहन्छन्।

यसका लागि उनी गणनात्मक राणनीतिअनुसार अघि बढ्न खोजेका छन्। यसैकारण उनी मधेस प्रदेशमा फेरि बलियो उपस्थिति देखाउन लोसपासँग मिलाप गर्न चाहन्छन्। २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दुई दल (संघीय समाजवादी पार्टी र राजपा) ले मधेस प्रदेशमा बहुमत सिट जितेका थिए। उनीहरूले मिलेर पनि सरकार बनाए।

पछि यी दुई दल मिलेर जसपा बन्यो। जसपामा विभाजनसँगै उसको राजनीतिक शक्ति पनि कमजोर बन्यो। मधेसमा पुनः शक्तिमा पुग्ने यादवले ठाकुरसँग एकता प्रस्ताव ल्याएको विश्लेषण गरिएको छ। जसपा फुटेको वर्ष दिन नबित्दै स्थानीय चुनाव भयो। जसपाबाट अलग भएर बनेको लोसपा पनि विभाजित भयो। लोसपाबाट अलग भएर वृषेशचन्द्र लाल नेतृत्वमा तमलोपा पुनर्गठन गरियो।

तमलोपा पुनर्गठनको तीन महिना नपुग्दै स्थानीय चुनाव भयो। जसपाले मधेस प्रदेशमा करिब ६० पालिका जित्ने अपेक्षा राखेको थियो तर ऊ २५ पालिकामा खुम्चियो। स्थानीय तह निर्वाचन परिणामले मधेसमा मधेसी दल फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने सन्देश दिएको राजनीतिकर्मी खुसीलाल मण्डल बताउँछन्। मधेसकेन्द्रित पार्टीमा भएको विभाजन र सत्ता गठबन्धनका कारण मधेस प्रदेशमा नतिजा प्रभावित भएको उनले बताए।

उनका अनुसार पार्टी फुटको बढी बेफाइदा लोसपाले बेहोर्नुपरेको छ। लोसपासँग यसलाई स्वीकार गर्नुको विकल्प छैन। यो परिणामलाई स्विकारेर पुनः एकढिक्का हुनुको पनि विकल्प पनि लोसपासँग नरहेको मण्डलको विश्लेषण छ। लोसपा अर्थात् ठाकुरको सुरक्षित विकल्प यादवको नेतृत्व स्वीकार गरेर जसपासँग एकीकरण गर्नु रहेको उनी बताउँछन्।

जसपाभित्र परेको चिराले मधेसी जनताको मन पनि फाटेको स्थानीय तह निर्वाचन परिणामले देखाइदिएको छ। मधेसले चाहेको बलियो, कसिलो मधेसी पार्टी हो। ‘मधेसका नेताहरू मिल्दा मधेसको मतको वजन पनि बढ्छ,’ मण्डल भन्छन्, ‘२०७४ सालको निर्वाचनमा सहकार्य गर्दा मधेसको मतको भार तत्कालीन संघीय समाजवादी र राजपा पक्षमा थियो। जसका कारण यी दुई दलले मधेसमा सरकार बनाए। पछि दुवै दलबीच एकीकरण भयो, बलियो जसपा बन्यो। जसपा फुटेपछि मधेसको मत पनि बाँडियो।’

पहिलो संविधानसभा सदस्य निर्वाचनमा मधेसकेन्द्रित दल एकढिक्का हुँदा मधेसभरि जितको झन्डा फहराएको तत्कालीन मधेसी जनअधिकार फोरम चिरा पर्दा दोस्रो संविधानसभा निर्वाचनमा नराम्रो नतिजा आयो। ‘अब हुने निर्वाचनमा मधेसकेन्द्रित दल एक हुन सके परिणाम पक्षमा आउँछ, नभए विपक्षमा,’ मण्डल भन्छन्।

प्रकाशित: २७ जेष्ठ २०७९ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App