coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति चुनाव: कांग्रेस–समाजवादीविरुद्ध माओवादी–एमाले गठबन्धन

जिल्ला समन्वय समिति निर्वाचनको लागि नेपाली कांग्रेस–नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र– नेकपा एमालेले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन्। योसँगै यसअघि स्थानीय तह चुनावमा जिल्लैभरि तालमेल गरेको माओवादी–समाजवादी गठबन्धन टुटेको छ। जिसस निर्वाचनसम्म आइपुग्दा सत्तारुढ दलको केन्द्रीय नीति विपरित माओवादी–एमाले गठबन्धन बनेको छ।  

प्रमुख, उपप्रमुखसहित नौ सदस्यीय समन्वय समितिको लागि जिल्लाको पहिलो ठूलो दल कांग्रेस र चौथो पार्टी समाजवादीबीच तालमेल हुँदा क्रमशः दोस्रो र तेस्रो दल माओवादी–एमालेबीच नयाँ गठबन्धन बनेको हो। सत्तारुढ गठबन्धनबाट कांग्रेसले प्रमुखसहित सात सदस्य पाउँदा समाजवादीले उपप्रमुखसहित दुई पद पाउने सहमति भएको छ। यो गठबन्धनबाट कांग्रेको तर्फबाट प्रमुखमा बालकृष्ण श्रेष्ठ र समाजवादीका पदमनाथ नेपालले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले ६ र समाजवादीले एक सदस्य बाँडेर मनोनयन दर्ता गराएका छन्।  

सत्तारुढ–प्रतिपक्ष गठबन्धनबाट माओवादीले प्रमुखसहित चार सदस्य र एमालेले उपप्रमुखसहित पाँच सदस्य लिएर उम्मेदवारी दिएका छन्। यो गठबन्धनले प्रमुखमा माओवादीका गणेश बिक र उपप्रमुखमा एमालेका जेपी सिलवाललाई अघि सारेको छ। माओवादीको भागमा थप तीन सदस्य पर्दा एमाले चार सदस्य लिएको छ।  

सिन्धुपाल्चोकका १२ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले समन्वय समिति निर्वाचनमा मतदान गर्न पाउँछन्। यसहिसाबले जिसस चुनावमा २४ जना मतदाता रहन्छन्। कांग्रेस–समाजवादी गठबन्धनसँग १३ मत रहेको छ। यो गठबन्धनसँग ५१ प्रतिशतसहित बहुमत रहेको छ।  

त्यस्तै माओवादी–एमाले गठबन्धनसँग ११ मत रहेको छ। जिसस जित्न यो गठबन्धनलाई दुई मत पुग्दैन। अन्तिमसम्म अन्यथा नभए कांग्रेस–समाजवादीले जिसस बनाउने पक्का जस्तै छ। स्थानीय तह चुनावमा कांग्रेस एक्लैले १२ प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष जितेको थियो। एकलौटी जिसस बनाउन कांग्रेस एक मतलले चुकेको थियो। तीन अध्यक्ष र चार उपाध्यक्ष जितेको एमालेसँग सात मत छ। चार पालिकामा प्रमुख/अध्यक्ष मात्रै जितेको माओवादीसँग चार मत छ। चौतारा–साँगाचोकगढी नगरको उपप्रमुख जितेको समाजवादीसँग एक भोट छ।  

बामगठबन्धन बनेको भए १२/१२ मत हुन्थ्यो। यस्तोमा गोलाप्रथाद्वारा समन्वय समिति चयन हुँदा निर्वाचन रोमाञ्चक बन्न पुग्थ्यो। बहुमतका लागि नपुग एक मत समावजादीसँग तालमेल गरेर जुटाएको कांग्रेसले अरु बिकल्पको ढोका बन्द गरेपछि माओवादी–एमाले गठबन्धन गरेको थियो। सुनकोसी गाउँपालिकामा केन्द्रीय नीति बिपरित एमालेसँग गठबन्धन गरी एमाले उम्मेदवारलाई जिताएपछि कांग्रेस माओवादीसँग रुष्ट बनेको थियो। यहाँ कांग्रेस उम्मेदवार ४१ मतले प्रमुखमा पराजित भएका थिए। गठबन्धन नगरेको भए उनी निर्वाचित हुँदा कांग्रेसले एकलौटी जिसस बनाउन पाउँथ्यो।  

यसैको बदला लिन माओवादीसँग कुनै हालतमा तालमेल नगर्ने कठोर नीति लिएको कांग्रेसका एक नेता बताउँछन्। उता आफ्नै भोट पाएर उपप्रमुख जितेको समावजादी आफूलाई छोडेर कांग्रेससँग तालमेल गर्न पुगेपछि माओवादी समावजादीसँग नराम्ररी बिच्किएको छ। ‘आफ्नो शरिरमा टेकेर टाउकोमा हानेको’ भन्दै माओवादी नेता माधव सापकोटाले एक्लै गठबन्धन गर्न पुगेर अन्तिममा समाजवादीले धोका दिएको प्रतिक्रिया दिए। अघिल्लो निर्वाचनमा सात स्थानीय तह जितेर पहिलो पार्टी बनेको एमालेले एकलौटी जिसस गठन गरेको थियो।

प्रकाशित: २६ जेष्ठ २०७९ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App