६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

त्रियुगा नगरकार्यपालिका चुनावले गठबन्धन जोखिममा

आगामी संघ र प्रदेशतहसम्मको निर्वाचनमा देशव्यापी गठबन्धन भए पनि एक्लै लडेको नेपाली काँग्रेस त्रियुगा नगरकार्यपालिका सदस्य चयनमा पनि एक्लै भिड्ने भएको छ। सत्ताधारी दलहरुबीच त्रियुगामा गठबन्धन हुन नसकेपछि काँग्रेस एक्लै लडेर मेयरसहित बहुमत वडाध्यक्ष जितेकाले कार्यपालिका सदस्य चयनमा पनि एक्लै लड्ने निर्णयमा पुगेको हो।  

मेयर, उपमेयर र १६ वडाध्यक्ष र ६४ सदस्यसहित ८२ सदस्यीय नगरसभामा काँग्रेसले स्पष्ट बहुमत ४२ सदस्य जितेको छ। आफूसँग स्पष्ट बहुमत भएकै कारण ८ जना कार्यपालिका सदस्य छनौटमा पनि एक्लै जित्ने योजनाका साथ कसैसँग तालमेल नगरी काँग्रेस अघि बढेको हो। स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकामा विजयी सदस्यमध्येबाट ५ महिला र अल्पसंख्यक, दलित तथा महिलाबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्यमा छान्न पाउने प्रावधान अनुसार काँग्रेसले ८ जनाकै सीटमा उम्मेदवारी दर्ता गराएको छ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको समयतालिका अनुसार बिहीबार १०ः०० देखि २ः०० बजेभित्र मनोनयन दर्ताको समय सीमाभित्र काँग्रेसले ८, नेकपा (माओवादी केन्द्र)ले ४ र नेकपा (एमाले)ले ४ सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। ८ कार्यपालिका सदस्यका लागि त्रियुगामा १६ जनाको उम्मेदवारी परेको र अन्तिम नामावली दिउँसो ३ः०० बजे नै प्रकाशन भईसकेको सहायक निर्वाचन अधिकृत दिलिप थापामगरले बताएका छन्।  

उनका अनुसार काँग्रेसले दलित तथा अलपसंख्यकतर्फ ३ जना उम्मेदवार उठाएको छ। जसमा गुणराज दनुवार, बलदेव विश्वकर्मा र बालोप्रसाद भगत छन्। त्यस्तै निर्वाचित सदस्यमध्येबाट ल्याउनुपर्नैं ५ महिलातर्फ अनिता थापा, गोमाकुमारी राउत, भलमाया मगर, बिमला राई र मीरा विश्वकर्माले उम्मेदवारी दिएका छन्।

माओवादी केन्द्रले ४ सदस्यमा अल्पसंख्यकतर्फ बिमल किराती, दलिततर्फ प्रल्हाद विश्वकर्मा र निर्वाचितबाट रेखा थापामगर र कुन्ति परियारलाई उठाएको छ। त्यसैगरी एमालेले अल्पसंख्यकमा डिल्लीसेर राई, महिलामा रेनुका श्रेष्ठ, सुनिता गजमेर र गीताकुमारी उप्रेतीलाई उठाएको छ। मगरका अनुसार कार्यपालिका सदस्य निर्वाचनमा नगरसभा सदस्यहरु मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ।  

आउँदो २८ गते हुने कार्यपालिका सदस्य निर्वाचनका लागि परेको उम्मेदवारीप्रति बिहीबार दिउसो ३ः०० देखि ५ः०० जबेसम्म उजुरी दिने कार्यतालिका छ। त्यस्तै शुक्रबार १०ः०० देखि १२ः०० बजेसम्म मनोनयनपत्र जाँच र उजुरीउपर निर्णय गर्ने, १२ः०० देखि १ः०० बजेसम्म उमेदवारको नामावली प्रकाशन, १ः०० देखि ३ः०० बजेसम्म नाम फिर्ता र ३ः०० देखि ४ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन तथा ४ः०० देखि ५ः०० बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह बितरण गर्ने तालिका छ। २८ गते विहान १०ः०० देखि ४ः०० बजेसम्म मतदानको कार्यतालिका रहेको मगरले बताए।  

८२ सदस्यीय नगरसभा रहेको त्रियुगामा १६ वडामध्ये काँग्रेसका नगरप्रमुख, ९ वडाध्यक्ष र ३२ सदस्यसहित ४२ जना छन्। त्यस्तै एमालेका उपप्रमुख, ४ वडाध्यक्ष र १९ सदस्यसहित २४ जना तथा माओवादीका ३ वडाध्यक्ष र १२ सदस्यसहित १५ जना र एकीकृत समाजवादीको तर्फबाट १ सदस्य निर्वाचित भएका छन्।  

देशका ७ सय ५३ स्थानीयतहमध्ये त्रियुगामा बिबाद भएका कारण सबभन्दा पछि मत गणना भएको थियो। वैशाख ३० गते भईरहेको चुनावमा वडा नं. १२ को जनप्रेमी मतदान केन्द्रमा बिबाद भएपछि स्थगित भएको निर्वाचन सुचारु गर्ने कि खसेको मतलाई मात्र सदर गर्ने भन्ने विषयलाई लिएर स्थानीय राजनीतिक दल, अदालत र निर्वाचन अधिकृतको कार्यालयबीच मतान्तर हुँदा ११ दिनपछि गणना भएर ५ दिनपछि अन्तिम परिणाम सार्वजनिक भएको थियो।

कार्यपालिका सदस्य चुनावले गर्दा गठबन्धन दलहरुबीच केही खटपट उत्पन्न भएको बताइएको छ। आउँदो संघ र प्रदेशतहको निर्वाचनसम्म मिलेर जाने भनेकोमा यो चुनावले उदयपुरको गठबन्धन जोखिममा पर्नसक्ने आँकलनसमेत केहीले गरेका छन्। दीर्घकालसम्म गठबन्धनलाई लानु पर्ने भएकाले स्पष्ट बहुमत भए पनि कार्यपालिका सदस्य छनौटमा मिलेर अघि बढ्न कार्यकर्ताहरुले काँग्रेस र माओवादीलाई सुझाएका थिए।  

जस अनुसार दुवै पार्टीका जिल्ला र नगरस्तरीय नेतृत्वबीच बाक्लै  छलफल भए पनि सहमति जुट्न नसकेको माओवादी त्रियुगा नगर कमिटी उपाध्यक्षसमेत रहेका १६ नं. वडाध्यक्ष मानबहादुर राईले बताए। नगर कार्यपालिका सदस्य चयनमा सहमति नजु्टेपछि भद्र प्रतिस्पर्धा गर्ने सहमति अनुसार आआफ्नो दलबाट उम्मेदवारी मनोनयन भएको राईले बताएका छन्। काँग्रेसको स्पष्ट बहुमत हुँदाहुँदै पनि स्वस्थ्य प्रतिस्पर्धा गरेरै जाने निर्णय पार्टीले गरे अनुसार उम्मेदवारी दिएको उनले बताए।  

कतिपयले भने कार्यपालिका चुनावले गर्दा जिल्ला समन्वय समिति गठनमासमेत गम्भीर प्रभाव पार्नसक्ने आँकलन गरेका छन्। समन्वय समिति गठन गर्ने १६ मतमध्ये अहिलेको निर्वाचनमा कुनै पार्टीले बहुमत ल्याएको छैन। समन्वय समितिका मतदाता ८ स्थानीयतहका १६ जना हुन्, जसमध्ये काँग्रेसबाट ३ नगरप्रमुख र ४ गाउँपालिका उपाध्यक्ष गरी ७ जना जितेका छन्। एमालेबाट १ नगरप्रमुख र ४ उपप्रमुख गरी ५ जना, माओवादीबाट ३ गाउँपालिका अध्यक्ष र एकीकृत समाजवादीले १ गाउँपालिका अध्यक्ष जितेको छ।  

१६ मध्ये जसले ९ मत हासिल गर्न सक्यो उसैको जिल्ला समन्वय समिति बन्ने प्रष्ट छ। काँग्रेससँग ७ मत मात्र भएकाले कसै न कसैसँग गठबन्धन गर्नैपर्ने हुन्छ। त्यसैगरी ५ मत मात्र भएको एमालेले माओवादीसँग गठबन्धन गर्दा पनि बहुमत (९) नपुग्ने हुँदा १ मत भएको एकीकृत समाजवादीलाई लिन सक्दा निर्णायक हुने देखिन्छ। काँग्रेसले समाजवादीको १ मत लिँदा पनि माओवादीसँग सहयोग नलिई सुख छैन। यो अवसरलाई ‘क्यास’ गर्दै एमालेले आफू उपप्रमुख लिएर, माओवादीलाई प्रमुख र बहुमत सदस्य दिएरै भए पनि गठबन्धन फुटाउने कोसिस जारी राखेको छ।  

तर, काँग्रेस र माओवादी नेताहरुले एमालेको यस्तो खेललाई बिफल बनाएर गठबन्धनबाटै समन्वय समिति गठन गर्ने दाबी गरिरहेका छन्। काँग्रेस सभापति हिमाल कार्कीले पछिसम्म गठबन्धन कायम राख्नुपर्ने भएकाले सकेसम्म मिलेरै अघि बढ्ने आसय व्यक्त गरेका छन्। माओवादी जिल्ला समन्वय सचिव किरण राईले पनि नगरपालिकामा सहमति कायम हुन नसके पनि जिल्ला समन्वय समिति गठनको हकमा गठबन्धन गरेर जाने प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २६ जेष्ठ २०७९ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App