२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोसपा पुनःपार्टी एकता गर्न आए खुल्ला हृदयले स्वागत गर्छौँः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन्।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, 'विगतको समीक्षा गरी पुनःपार्टी एकता गर्न लोसपाका नेता आउनुभयो भने हामी हृदयदेखि नै उहाँहरुलाई स्वागत गर्न तयार छौँ।' 'फुटेर होइन जुटेर जानु अहिलेको आवश्यकता हो, त्यसैले हामी उहाँहरुलाई विगतको समीक्षा गरी एकतालाई फर्किन आग्रह गर्दछौँ,' अध्यक्ष यादवको भनाइ थियो।

'हिजो पार्टी किन फुटाइयो? विभाजनले कसलाई फाइदा भयो? त्यसको समीक्षा गर्नु जरुरी छ,' अध्यक्ष यादवले भने, 'पार्टी विभाजनको कुनै औचित्य थिएन्, यसबाट उहाँहरुलाई त फाइदा भएन।' उनले भने, 'त्यसैले यी कुराको समीक्षा गरी उहाँहरु आउनुभयो भने हामी खुल्ला हृदयले स्वागत गर्न चाहन्छौँ, हामी खुल्ला छौँ।'

लोसपालाई सरकारमा सहभागी गराउने तयारी भइरहेको छ, यदी लोसपा सरकारमा आयो भने तपाईंहरु के गर्नुहुन्छ? सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले भने, 'लोसपा सरकारमा आयो भने हामी स्वागत गर्छौँ, सहयात्रा गरेर अघि बढ्छौँ।' पाँच दलीय गठबन्धन आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि कायम रहने जिकिर गर्दै उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्व र लोकतन्त्रलाई मजबुत बनाउन गठबन्धनलाई अझै कायम राख्नुपर्नेमा जोड दिए।

'गठन्धन गर्दा कुनै दललाई कहिले काँही घाटा हुन्छ, कहिले नाफा हुन्छ,' उनले भने, 'सिटको नाफा र घाटाको हिसाब गरेर गठबन्धन गर्ने होइन, मुख्य त लोकतन्त्रको रक्षा, राजनीतिक सङ्कटको निकास र लोकतन्त्रको मजबुतीका लागि गठबन्धन गरेर जाने हो। त्यसैले तत्काल पाँच दलीय गठबन्धन भत्किदैन्, अझै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म गठबन्धन कायम रहन्छ,' उनको दाबी थियो।

प्रकाशित: २५ जेष्ठ २०७९ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App