७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपामा पनि मन्त्री फेर्न दबाब

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले मन्त्रीको सूची फेरेपछि जनता समाजवादी पार्टी (जसपा) भित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ।

सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न २०७८ असोज १८ मा बोलाइएको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले ६ महिनापछि नयाँ टिम पठाउने आश्वासन दिएका थिए। असन्तुष्ट नेताहरूले त्यस भनाइलाई उचालेर नयाँ टिम पठाउन पार्टी अध्यक्षको ध्यानाकर्षण गराएका छन्।

उनीहरूको दाबी छ, यादवको उक्त प्रस्तावमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पनि सहमति जनाएका थिए। भट्टराई र यादवको मौखिक प्रतिबद्धतापछि कार्यकारिणी समितिको बैठकले सरकारमा पठाउने व्यक्तिबारे निर्णय गर्ने जिम्मा भट्टराई, यादव र अशोक राईलाई दिएको असन्तुष्ट पक्षधरको भनाइ छ।

कार्यकारिणी समितिकी सदस्य तथा सांसद अमृता अग्रहरीले अध्यक्ष यादवले पार्टी सरकारमा गएको ६ महिना पुग्नेबित्तिकै पुरानो टिमलाई फिर्ता बोलाएर नयाँ टिम पठाउने प्रतिबद्धता प्रस्टसँग गरेको बताइन्। उक्त प्रतिबद्धता चाँडै कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ।

‘नेकपा (एस) ले पनि टिम फेर्‍यो। अब हामीले पनि चाँडै टिम फेर्नुपर्छ,’ उनले भनिन्। पार्टीको कार्यकारिणी समितिको बैठक पनि तत्काल बोलाउन पनि उनले माग गरिन्। ‘बैठक बोलाइयो भने यो विषयमा कुरा उठ्छ,’ उनले भनिन्। आठ महिनासम्म्म पनि कार्यकारिणी समितिको बैठक नबोलाइएकोमा उनले आक्रोश पोखिन्। ‘कार्यान्वयन नगर्ने भए किन प्रतिबद्धता गरेको हो ?’ अग्रहरीले भनिन्, ‘सबै सत्यमा अडिनुपर्छ।’

कार्यकारिणी समितिका अर्का सदस्य तथा राष्ट्रिय सभाका सांसद मृगेन्द्रसिह यादवले पनि सरकारमा गएको ६ महिनापछि पुरानो टिम फेर्ने र नयाँ टिम पठाउने मौखिक सहमति पार्टीको बैठकमा गरिएको बताए। यादवका अनुसार बैठकमा पार्टी अध्यक्ष यादवले भनेका थिए, ‘सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो। हामीलाई थोरै कोटा छ। अहिले केही साथीलाई पठाऔं। ६ महिनापछि पुरानालाई फिर्ता बोलाएर नयाँ टिम पठाउनेछौं।’

असन्तुष्ट नेताहरूको भनाइमा जसपाको संसदीय दलको बैठकमा दलका नेता तथा अध्यक्ष यादवले उही प्रतिबद्धता दोहोर्‍याएका थिए। मन्त्रीको सूची तयार गर्दा सुरुमा प्रमोद साहको पनि नाम राखिएको थियो। तर सूची प्रधानमन्त्रीलाई बुझाउने बेलामा भने साहको ठाउँमा महेन्द्र यादवलाई राखियो। सांसद साहले पनि ६ महिनापछि सरकारमा नयाँ टिम पठाउने प्रतिबद्धता गत असोजमा पार्टीका नेताहरूले गरेको बताए।

‘अब आठ महिना पुग्नै लाग्यो। त्यसैले यो विषय जोडतोडले उठ्छ,’ उनले भने। सरकारमा कसकसलाई पठाउनेभन्दा पनि पहिले गरिएको प्रतिबद्धता लागु हुनुपर्ने उनको भनाइ छ। ‘६/६ महिनामा मन्त्री फेर्ने प्रतिबद्धता शीर्ष तीन नेताले गर्नुभएकै हो,’ उनले भने। जसपाबाट मन्त्री भएकाहरू भने पुरानो टिमलाई फिर्ता बोलाउने र नयाँ टिम पठाउने विषयमा पार्टीभित्र कुनै किसिमको लिखित र मौखिक सहमति नभएको बताउँछन्।

यसबारे कुरा पनि नउठेको उनीहरूको भनाइ छ। कार्यकारिणी समितिका सदस्य तथा वनमन्त्री रामसहाय यादवले ६ महिनापछि पुरानो  टिम फिर्ता गरेर नयाँ टिम पठाउने विषयमा पार्टीभित्र कुनै पनि किसिमको छलफल नभएको बताए। ‘६/६ महिनामा टिम फेर्ने भन्ने विषयमा कुनै सत्यता छैन,’ उनले भने। जसपाले हाल रामसहयाय यादव, रेणु यादव, महेन्द्र यादव र राजेन्द्र श्रेष्ठलाई सरकारमा पठाएको छ।

सरकारमा जान नपाएपछि सांसद साह, प्रदीप यादव लगायत नेताहरू आक्रोशित भएका थिए। सांसद यादवले त पर्साबाट आफ्ना कार्यकर्तालाई काठमाडौं बोलाएर केन्द्रीय कार्यालयमा अध्यक्ष यादवविरुद्ध नाराबाजी समेत गर्न लगाए। त्यसबेला अध्यक्ष यादवको पुतलासमेत जलाइयो। अध्यक्ष यादवले असन्तुष्ट नेताहरूलाई अर्को सिफ्टमा पठाउने आश्वासन दिएर शान्त पारेका थिए।

प्रकाशित: २३ जेष्ठ २०७९ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App