१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस र एमालेको कारबाही प्रवृत्तिः ठूलालाई बचाउ गर्न कार्यकर्तालाई कारबाही

स्थानीयतहको चुनावमा अन्तर्घात गरेको नाममा साना कार्यकर्तालाई कारबाही गरेर ठूला नेतालाई बचाउ गरेको पाइएको छ। नेपाली कांग्रेसले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा ८ जना नाम उल्लेख गरेको नामावलीमा ठूलालाई बचाउ गरेर सामान्य कार्यकर्तालाई कारबाही गरेको पाइएको हो।

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोर, केन्द्रीय सदस्य संजय गौतम, जिल्लाको अनुशासन समितिका अध्यक्ष जग्गाप्रसाद पाण्डे, निवर्तमान केन्द्रीय सदस्य मंगल थारु, जिल्ला कमिटी सचिव जिवन मल्ल जस्ता कांग्रेसका हस्ती रहेका वडा हारेकाले सामान्य कार्यकर्तालाई कारबाही गरेको भन्दै कांग्रेस कार्यकर्ता असन्तुष्ट छन्।  

राजापुर नगरपालिका–६ का नेपाली कांग्रेस सहमहामन्त्री राठोरको वडा र नगरपालिका दुबै हारेको छ। सहमहामन्त्री राठोर बसोबास गर्ने वडानै निर्णायक मत भएको कांग्रेसको आँकलन थियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गौतमको गुलरिया नगरपालिका वडा नं. ५ यसपटक गुमाएको छ। यस्तैगरि पूर्व केन्द्रीय सदस्य मंगल थारु र गुलरियाबाट नगरपालिकाबाट निर्वाचित मुक्तिनाथ यादवको समेत वडामा कांग्रेस हारेको छ। जिल्लाको अनुशासन समितिका अध्यक्ष पाण्डेको वडामा कांग्रेसबाट बागी उम्मेदवार उठाउँदा स्वतन्त्रले जितेको छ। नेपाली कांग्रेस कार्यकर्ता नारायण मल्ल स्वतन्त्रबाट उठेर मधुवन–३ को वडामा जितेका छन्।  

मधुवन नगरपालिका वडा नं. ६ मा जिल्ला कमिटी सचिव मल्लको वडामा समेत कांग्रेस हारेको छ। कारबाही लिस्टमा परेका नेपाली कांग्रेसका नेता भोजराज जोशी, नेबिसंघका अध्यक्ष शोभाकान्त पौडेलमा वडा र नगर दुबै जितेको छ। अर्का कारबाहीमा परेका गुलरिया नगरपालिका वडा नं १ बस्ने नगर सभापति ईन्द्रकुमार यादवको वडामा नगर प्रमुख यादवले अधिक्तम मत ल्याएर नगर प्रमुख यादवले जितेका छन् भने वडामा एमालेलाई ६ सय ८८ मतान्तरले नेपाली कांग्रेस विजयी भएको छ।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र शर्माको समेत वडामा कांग्रेसको हार भएको छ। कांग्रेसले कारबाहीको गरेको कार्यकर्ताको तथ्य हेर्दा प्यानल र गुट हाबी भई कारबाही भएको देखिन्छ। नेपाली कांग्रेसले बढैयाताल गाउँपालिका, ठाकुरबाबा, राजापुर र गुलरिया नगरपालिकाका ८ जनालाई पार्टीबाट निलम्बन गरेको छ। राजापुर नगरपालिकाबाट भोजराज जोशी र रमनकुमार रेग्मीलाई कारबाही गरेको हो।

कारबाहीमा परेका भोजराज जोशीले चुनाव अघिनै तीन सय जनाले पार्टी कार्यालयमा राजीनामा बुझाएको सामाजिक संजालमा सार्वजनिक गरेका छन्। नेता जोशीले आफ्नो वडा कांग्रेसलाई जिताएको दाबी गरेका छन्।

ठाकुरबाबा नगरपालिकाबाट मक्कुराम थारु र पर्ना थारुलाई पार्टीबाट निलम्बन गरेको छ। तर, कारबाही परेका थारुद्वयको ठाकुरबाबा नगरपालिका कांग्रेसले जितेको छ।

स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै कार्यकर्तालाई आरोप लगाउँदै आफ्नै कार्यकर्तालाई कारबाही गर्न नेकपा एमाले र नेपाली कांग्रेसबीच होडबाजी चलेको छ। तर कार्यकर्तालाई कारबाही गरेर नेता चोखिने पक्षमा देखिन्छन्। यसअघि एमालेले जितेको गुलरिया नगरपालिका वडा नं. १ मा उपमेयरकी उम्मेदवार टिका शंशेलि र वडा अध्यक्ष रामसोहन यादव उम्मेदवार रहेको वडामा नेपाली कांग्रेसले ६ सय ८८ मतले एमालेलाई पराजित गरेको छ।

एमालेका नेता लक्ष्मण ज्ञवालीको सिफारिसमा उपमेयर शंशेलि र अध्यक्ष यादवले टिकट पाएको कार्यकर्ता बताउँछन्। पराजित भएका एमालेका नगर प्रमुखको उम्मेदवार अंमर खड्काले आफ्नो वडामा तथा गुलरिया नगरपालिका ६ मा बढी मत ल्याएपनि वडा अध्यक्ष उम्मेदवार हारेका छन्। नेपाली कांग्रेस नव प्रवेशी निरज शर्मालाई अध्यक्ष उम्मेदवार बनाउँदा आफ्नो वडा अध्यक्ष कम मत पाएको खड्का तर्क गर्छन्।

बढैयताल गाउँपालिका निवर्तमान अध्यक्ष तथा जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ वडामा एमालेले जिते पनि गाउँपालिकामा अध्यक्ष श्रेष्ठले हार व्यहाेरे। एमालेले गुलरिया नगरपालिकाका १४ र बारबर्दिया नगरपालिकाका ४ जना गरी १८ जनालाई पार्टीबाट निष्काशन, निलम्बन तथा स्पष्टीकरण सोध्ने गरी कारबाही गरेको छ।  

वैशाख ३० गतेको स्थानीयतहको निर्वाचनमा आफ्नै पार्टीका आधिकारिक उम्मेदवारको विरुद्धमा मतदाता समक्ष भ्रम सिर्जना गरी प्रचार गरेको, चुनावमा पार्टीलाई अन्तर्घात गरेको, आफ्नो पार्टीका उम्मेदवारलाई हराउन र विपक्षी पार्टीका उम्मेदवारलाई जिताउन प्रचार गरी पार्टीको गरिमामा आँच पुर्‍याएको आरोपमा कारबाही गरेको नेपाली कांग्रेसका अनुशासन समितिका अध्यक्ष पाण्डेले जानकारी दिए।

एमाले जिल्ला कमिटी बर्दियाले गुलरिया नगरपालिका–७ का धनेशकुमार यादवलाई नगर कमिटी इन्चार्ज पदबाट हटाई निलम्बन गरेको प्रक्रिया गलत भएको कारबाहीमा परेको यादवको भनाई छ। ‘विधि प्रक्रिया मिचेर गरेको कारबाहीको औचित्य छैन,’ एमाले नेता यादवले भने, ‘जसले आफ्नो वडामा एमालेलाई एतिहासिक मत पाएको छ, मलाई कारबाही गर्ने।’ एमालेले सदरमुकाम गुलरियाको नगर कमिटीका सह–इन्चार्ज गुलरिया नगरपालिका–४ का रामबहादुर रावललाई, नगरपालिका–५ का नगेन्द्र रिमाल, गुलरिया नगरपालिका–४ का प्रकाश पौडेल, गुलरिया नगरपालिका–५ की पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट एमालेले हटाएको छ। यसैगरी एमालेले जिल्लामा ३० बढी नेता र कार्यकर्तालाई कारबाही गरेको छ।

प्रकाशित: ११ जेष्ठ २०७९ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App