१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

पहिलो निर्णय लोकप्रिय गर्नमा तँछाडमँछाड गर्दै पालिका सरकार प्रमुख

पद तथा गोपनीयताको शपथ खाएर पद बहाल गर्दै रौतहटका अधिकांश पालिका सरकार प्रमुखले लोकप्रिय निर्णय गरेको सार्वजनिक गर्न थालेका छन्। पालिका सरकारको गठनले औपचारिकता नपाउँदै पालिका सरकार प्रमुखको हैसियतमा रौतहटका विभिन्न पालिका सरकार प्रमुखले लोकप्रिय निर्णयहरु गरेको सार्वजनिक गरेका छन्।  

रौतहटको राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी राय यादवले नगरका नागरिकलाई अस्पताल पुर्‍याउन सजिलोको लागि एम्बुलेन्स किन्ने टिप्पणी र आदेशलाई सदर गरेका छन्।

यसैगरी मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले वडा नम्बर ९ मा दलित बस्ती निर्माण गर्ने निर्णय गरेको बताएकी छन्। यसअघि पनि मौलापुर नगरपालिकाले रिनाकुमारी साहकै नेतृत्वमा विभिन्न ठाउँमा दलित बस्ती निर्माण गरिसकेकी छन्।

राजपुर नगरपालिकाका प्रमुख डा. राजिक आलमले पालिकाका गर्भवती महिलालाई सुरक्षित मातृत्व सेवा दिन अल्ट्रा साउन्ड मेसिन खरिद गर्ने निर्णय भएको सार्वजनिक गरेका छन्।

यसैगरी रौतहटको कटहरिया नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय प्रकाश जयसवालले नगरपालिकाका सबै विद्यालयमा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा पठनपाठन संचालन गर्ने पहिलो निर्णय सार्वजनिक गरेका छन्।

प्रत्यक्ष निर्वाचित पालिका सरकार प्रमुखले धमाधम लोकप्रिय निर्णय सार्वजनिक गरिरहँदा जिल्लाको सदरमुकाम गौरमा नगर प्रमुख शम्भु साह कानुले नियमानुसार कार्यपालिकाबाट निर्णय गराएर पहिलो निर्णय नगरका सम्पूर्ण नागरिकलाई तीस युनिट बिजुली नि:शुल्क गर्ने मनसाय राखेको जानकारी गराएका छन्।

पहिलोपटक नगर प्रमुख बनेका अधिकांश पालिका सरकार प्रमुखले आफ्ना प्रतिबद्धता मध्येका सबैभन्दा प्रमुख एकलाई लोकप्रिय निर्णय गर्न थालेका छन्।

प्रकाशित: ११ जेष्ठ २०७९ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App