६ वैशाख २०८१ बिहीबार
राजनीति

विकास योजनाको लागि क्लोज क्याम्प राख्ने छौंः नवनिर्वाचित मेयर धनराज

तस्बिरसः उमेश पुनरनागरिक

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले सपथ ग्रहणपछि पद बहालीसँगै काउन्ट डाउन सुरु हुने बताएका छन्। उनले आफ्नो काउण्टडाउनसँगै विकास योजनाको लागि क्लोजक्याम्प राख्ने स्पष्ट पारे। ‘तीन दिन दुई रातको हामी क्लोजक्याम्प गर्ने छौं।’

गठबन्धनका साझा उम्मेदवारबाट निर्वाचित भएका प्रमुख आचार्यले विजय र्‍यालीपछिको सभालाई सम्बोधन गर्ने क्रममा भने, ‘क्लोजक्याम्पमा प्रमुख उपप्रमुख, ३३ वटै वडाका वडाध्यक्ष एवं महानगरभित्रका नौंवटा महाशाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टोली रहने छ।’

‘वडाध्यक्ष तथा सदस्यहरु छुट्टै कार्यक्षेत्रबाट आएका हौं। स्वभाव नमिल्न सक्छ।’ उनले भने, ‘महानगरभित्र राजनीतिक र पार्टीको कुरा गर्ने छैनौं।’ उनले महानगरभित्र म भन्ने होइन हामी भनेर काम गर्नुपर्नेमा जोड दिए। ‘महानगरभित्र कर्मचारीले नेपाली समय भन्दै ढिलो गर्ने गुनासो छ। समय नेपाली र अग्रेजी भन्ने हुदैंन। समयमै आउनुपर्छ काम गर्नुपर्छ।’ नवनिर्वाचित प्रमुख आचार्यको भनाई थियो।

महानगर प्रमुख आचार्यले आफूहरु प्रत्येक वडामा पुग्ने स्पष्ट पारे। ‘असारमा बजेट आउँछ। बजेट अनुसार वडामा योजनाको लागि छलफल गर्नुहोस्।’ उनले भने,‘जनप्रतिनिधि भएर आइसकेपछि सुत्ने समय बाहेक अन्य समयमा काम गर्नोस, किनकि तपाईहरु जनप्रतिनिधि हो।’ नवनिर्वाचित वडाध्यक्षहरुले घोषणापत्र अनुसार स्थानीय सुविधाहरु दिन सकिने छ भन्ने मात्रै होइन कार्यान्वयन गर्ने गरी हुनुपर्नेमा जोड दिए।

प्रमुख आचार्यले पदभार ग्रहणपछि पहिलो निर्णय नै जन्म, विवाह र मृत्यु दर्ता निशुल्क गर्ने घोषणा गरे। उनले पोखरालाई पर्यटकीय राजधानी बनाउने विषयलाई समेत कार्यान्वयनमा लैजाने स्पष्ट पारे। नवनिर्वाचित प्रमुख आचार्यले पोखरालाई चिनाउने सिम्बोल अफ पोखरा बनाउने बताए। ‘दुई लाख नगद पुरस्कार राखेर सिम्बोल अफ पोखरा बनाइने छ।’ उनको  भनाइ थियो।

उनले निर्वाचनकै विषयमा समेत प्रश्न उठाउँदै इतिहासमै धेरै मत बदर भएको उल्लेख गर्दै निर्वाचन आयोगप्रति प्रश्न उठाए। ‘इतिहासमै यतिधेरै मत बदर भएको छ।’ उनले भने, ‘निर्वाचन आयोगको कार्यक्षमता र दक्षतामा प्रश्न उब्जिएको छ।’ चुनाव चिन्ह जिकज्याक हुदाँ धेरै मत बदर भएको जिकिर गरे। एकिकृत समाजवादीका प्रदेश इन्जार्च प्रेमलाल श्रेष्ठ घोषणापत्रको कार्यान्वयन गर्ने तर्फ अग्रसर बन्नुपर्ने बताए।

‘चुनौती छ काम गरेर देखाउनुपर्छ।’ उनको भनाइ थियो। कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, पूर्व कानून मन्त्री यज्ञबहादुर थापा, राष्ट्रि जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतले सम्बोधन गरेका थिए। विजयर्‍याली तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरका नवनिर्वाचित प्रमुख धनराज आचार्य।

प्रकाशित: ११ जेष्ठ २०७९ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App