विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले करको दर घटाएर दायरा बढाउने पहिलो निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै कोइरालाले करको दायरा फराकिलो पारेर करको दर घटाउने पहिलो निर्णय गरेका हुन्।
कोइरालाले पहिलो निर्णय सार्वजनिक गर्दै विराटनगर महानगरपालिकाको कर ज्यादै चर्को भएका कारण करको दर घटाउने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘करको दायरा बढाएर दर घटाउने पहिलो निर्णय गरिएको छ।’ कोइरालाले करको दर घटाउने विषयमा १० दिनभित्र अध्ययन गरी कसरी र कति कर घटाउने निक्यौल गर्ने स्पष्ट पारे। कोइरालाले आफूले निर्वाचनका बेला घोषणा पत्रमार्फत महानगरले उठाउने करको दर घटाउने र दायरा बढाउने विषयमा गरेको प्रतिवद्धता पूरा गराउन पहिलो दिनबाटै काम थालनी गरेको बताए।
उनले करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने गरी गरिएको निणर्यमा हस्ताक्षर गरी आफ्नो नयाँ कार्यकाल शुरुवात गरे। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हरेक आर्थिक वर्षमा महानगर सभाले करको दर र दायरा तय गर्ने गरेको जानकारी दिए। उनका अनुसार नगर सभामा लैजाने गरी स्थनीय कर तथा राजश्व समितिले तयार गरेको प्रस्तावमा कोइरालाले हस्ताक्षर गरेका छन्। यो प्रस्ताव महानगरसभामा लगेर निर्णय हुने बस्नेतले जानकारी दिए।
यस्तै विराटनगर महानगरपालिकाकी प्रमुख शिल्पा कार्कीले विराटनगर महानगरपालिकामा लैङ्गिहिंसा निवारण कोष स्थापना गर्ने निर्णय गरेकी छिन्। हिंसामा परेका महिलाको उद्वार, संरक्षण, कानुनी उपचार, पुर्नस्थापनामा यो कोष परिचालन गरिने उनले बताइन्। ‘लैङ्गिक हिंसा निवारण कोष कार्यविधि-२०७८ बमोजिम कोष संचालन गरिने छ’ उनले भनिन्। यो कार्यविधि नगर कार्यपालिकाले स्वीकृत गरिसकेकाले चाँडै कोष कार्यन्यवन ल्याइने जानकारी दिइन्। कोष संचालन समितिको संयोजक उपप्रमुख रहने प्रावधान छ।
मोरङका १७ पालिकाका प्रमुखले लिए सपथ
विराटनगर महानगरपालिका प्रमुखसँगै मोरङका १७ पालिकाका प्रमुख तथा अध्यक्षहरूले पद तथा गोपनियाताको सपथ लिएका छन्। सोमबार विराटनगर महानगरपालिकामा आयोजित कार्यक्रममा मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। सोमबार नै विराटनगर महानगरपालिका मेयर कोइरालाले उपमेयर, वडाअध्यक्ष, सदस्यलगायत नव निर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका छन्। सपथग्रहण समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी कांसिराज दाहाल, मोरङका प्रहरी प्रमुख शान्तिराज कोइरालालगायत विभिन्न पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
प्रकाशित: ९ जेष्ठ २०७९ १२:३२ सोमबार