coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तहः नयाँ सरकार, नयाँ योजना

पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै डोटीको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँद।

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले पदभार ग्रहण गरेकै दिन ‘आम नगरवासीको जनअपेक्षा अनुसारको विकास’ गर्ने प्रतिबद्धता गरेका छन्। गोदावरीमा नयाँ सरकारको नयाँ योजनासहित आफूले काम गर्ने बताउँदै उनले भने, ‘अत्तरिया बजार क्षेत्रलाई व्यवस्थित बनाउँदै समग्र गोदावरीको विकासका लागि जनताको चाहना अनुसार अगाडि बढ्नेछु।’

विकास भनेको निरन्तर प्रक्रिया भए पनि त्यसलाई कसरी र कुन ढंगले प्रस्तुत गर्ने भन्ने कुरा विज्ञहरुको सल्लाह अनुसार जाने बताउँदै उनले भने, ‘नयाँ सरकार आइसकेपछि नयाँ योजना अनुसार अगाडि बढ्ने छौँ।’ गोदावरी नगरपालिकामा पाँच वर्षसम्म नेकपा एमालेले स्थानीय सरकार चलाएको बताउँदै उनले भने, ‘अघिल्लो मेयरको कार्यकाल भन्दा सहज र जनतालाई स्थानीय सरकारको अपनत्व दिलाउने गरी काम गर्नेछु।’

डोटीको बडिकेदार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भैरवबहादुर साउँदले पनि गाउँपालिकामा नयाँ सरकार आएसँगै नयाँ योजना ल्याउने बताए। उनले भने, ‘बडिकेदार गाउँपालिकालाई दियालो रहित गाउँपालिका बनाउनेछु।’ कार्यकालभित्र गाउँपालिकामा विद्युतीकरण गरी सबै घरमा विजुली पुर्‍याउने लक्ष्य रहेको उनले बताए। उनले भने, ‘यसका साथै बीपीनगरहुँदै चवराचौतारासम्म सार्वजनिक यातायात सेवा सुचारु गर्न पहल गर्नेछु।’

यहाँको कृषिलाई आधुनिकीकरण गरी पर्यटन प्रवर्द्धनका साथै स्थानीयस्तरमै रोजगारीको सम्भावना खोजिने उनले बताए। दिपायल सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्का –विजय) ले पनि नयाँ सरकार आएसँगै नयाँ योजना ल्याएको बताए। उनले भने, ‘मैले नगरभित्रका गर्भवती महिलालाई प्रसूतिका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने र नगरबाहिर रेफर गरिएमा एम्बुलेन्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छु।’

आफूले पदभार ग्रहण गरेकै दिन पहिलो निर्णय गरेर स्वास्थ्य क्षेत्रका साथै युवाहरुका लागि नगरभित्रै उपयुक्त स्थान छनोट गरेर एउटा उत्कृष्ट खेल मैदान निर्माण गर्ने पनि बताए। ‘मैले पहिलो दिन दुईवटा निर्णय गरेको छु,’ उनले भने, ‘गर्भवती महिलालाई प्रसूतिका लागि नगरकै स्वास्थ्य संस्थामा पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा र खेलकुदका लागि मैदानको व्यवस्था गर्नेछु।’

डोटीकै आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश खड्काले विद्यालय शिक्षामा कोही वञ्चित नहोस् भनेर शिक्षा क्षेत्रलाई अगाडि बढाउने बताएका छन्। ‘विद्यालय छोडेका बालबालिकालाई पनि पुनः विद्यालय ल्याउनका लागि विशेष कार्यक्रम ल्याउनेछु,’ पदभार ग्रहणकै क्रममा बोल्दै उनले भने, ‘आदर्शलाई शिक्षित गाउँपालिका बनाउन मुख्य भूमिका खेलिनेछ।’

गाउँपालिकाको मुख्य समस्या भनेकै खानेपानी रहेकाले त्यसका लागि विशेष योजना बनाइने पनि उनले बताए। कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अघिल्लो सरकारले करमा उल्लेख्य वृद्धि गरेको बताउँदै उनले भने, ‘यो सरकारले व्यवस्थित कर प्रणाली लागू गरी करको दायरा घटाइने छ।’

यसअघि कैलारी गाउँपालिकाको विपत्पुर गाउँमा आगलागी हुँदा ७१ घर परिवार विस्थापित भएका थिए। उनीहरुको बसोबासलाई व्यवस्थितीकरण गर्ने उनले बताए। उनले भने, ‘गाउँपालिकामा दमकल नभएकै कारण पूरै गाउँ आगलागीले सखाप भयो, अब यो सरकारले गाउँपालिकामा नयाँ दमकल ल्याई दैवी प्रकोप घटाउन मद्दत गर्नेछ।’

स्थानीय तहमा आएका नयाँ अनुहारहरुले पदभार ग्रहणका क्रममा नयाँ योजना ल्याएका छन् भने दोहोरिएका पुराना अनुहारले भने पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै पाँच वर्षसम्म सिकेका अनुभवलाई समेटेर थप नयाँ योजना बनाई काम गर्ने बताएका छन्।

डोटीको जोरायल गाउँपालिकामा दोहोरिएका अध्यक्ष दुर्गा ओझाले भने, ‘हामीले अघिल्ला पाँच वर्षमा पूर्वाधारका कुरालाई जोड दियौं भने अबका पाँच वर्ष हामी आयआर्जनका साथै उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता दिइ बेरोजगारलाई रोजगार बनाउने योजना ल्याउनेछौँ।’

पदभारका क्रममा जोरायल गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने भन्दै पहिलो निर्णय समेत गरिएको उनले बताए। ‘हामी वर्षौदेखि अँध्यारोमा बस्दै आएका छौं,’ उनले भने, ‘अब भने गाउँपालिकालाई उज्यालो बनाउन विशेष पहल गरिनेछ।’ कार्यकालभित्रै पूरै गाउँपालिकालाई उज्यालो बनाउन विद्युतीकरण गरिने विशेष योजना रहेको उनले सुनाए।

प्रकाशित: ६ जेष्ठ २०७९ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App