१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

दाङमा कांग्रेसकाे उपस्थिती पहिले भन्दा बलियो

अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा अहिले नेपाली कांग्रेसले जिल्लामा आफ्नो उपस्थिती बलियो बनायो। हालसम्म मत गणना सम्पन्न भएका ९ स्थानीय तह मध्य एक नगरपालिकासहित ५ तहमा आफ्नो एकल नेतृत्व कायम गर्यो। 

यसैगरी थप दुई गाउँपालिकाको उपाध्यक्षमा आफ्नो उपस्थिती जनायो। उता गठबन्धनका तर्फबाट घोराही उपमहानगरको उपप्रमुखमा उम्मेदवारी दिएको कांग्रेस यहाँ भने असफल भयो। उता तुलसीपुर उपमहानगरमा पनि गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएको कांग्रेस अहिले सम्मको परिणामले जीतको सम्भावना देखाएको छ। यो उपमहानगरमा कांग्रेसले अग्रता लिईरहेको छ। यो उपमहानगरमा पनि जीत निकालेको खण्डमा कांग्रेस १० स्थानीय तह मध्य ६ तहको नेतृत्वमा रहने छ।  

कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा आफूलाई जिल्लामा अब्बल सावित गरेको भएपनि कांग्रेसका जिल्ला पदाधिकारीहरुकै वडाहरुमा भने कांग्रेसले आफ्नो नतिजा सुखद बनाउन सकेन। कतै पदाधिकारीहरु स्वयंले वडा तहमा निर्वाचनमा हार बेहोर्नु पर्यो भने कतै पदाधिकारीहरुले आफ्नै वडामा पार्टीलाई जीत दिलाउन सकेनन्।  

नेपाली कांग्रेसका जिल्ला सभापति शंकर प्रसाद डाँगीको वडामा कांग्रेसले पराजय बेहोर्यो। सभापतिको वडा शान्तिनगर गाउँपालिका वडा नम्बर २ मा कांग्रेसकै बागी उम्मेदवारले कांग्रेसका अधिकारीक उम्मेदवारलाई हराईदिए।  

यसैगरि जिल्ला सभापति त आफै पराजित बन्न पुगे। कांग्रेस उपसभापति गिरिराज सुवेदी घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा वडा सदस्यमा भिडेका थिए। तर सभापति सुवेदीले आफ्नो जीत सुनिश्चित पार्न सकेनन्। उनी संगै वडा अध्यक्ष पनि पराजित बन्न पुगे। जिल्ला उपसभापति सुवेदी जिल्ला समन्वय समितिको संयोजक बन्ने योजना अनुसार वडा सदस्यमा भिडेका थिए।  

यसैगरि जिल्ला सचिव अर्जुनकुमार योगीले पनि आफ्नो वडामा कांग्रेसलाई जीत दिलाउन सकेनन्। उनको वडा घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा कांग्रेसलाई पराजित गर्दै नेकपा एमाले हाबी भयो। यसअघिको निर्वाचनमा यो वडामा कांग्रेस निर्वाचित भएको थियो। यो वडामा यसअघि वडा अध्यक्षमा निर्वाचित कांग्रेसका बिष्णुमणी दाहाल अहिले पुनः उम्मेदवार बनेका थिए।  

यसैगरि कांग्रेसका जिल्ला सह सचिव राजु आचार्य आफै हारको भागेदार बने। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा भिडेका उनलाई एमालेका भिमबहादुर योगीले हराए। यसअघि उनै योगीलाई हराएर आचार्य यो वडाको वडा अध्यक्षमा निर्वाचित भएका थिए। यसैगरि कांग्रेसका जिल्ला सदस्य किरण रेग्मी पनि वडा सदस्यमा पराजित बन्न पुगे। घोराही उपमहानगरपालिका वडा नम्बर १७ को वडा सदस्यका उम्मेदवार उनलाई पनि एमालेका उम्मेदवारले पछि पारे। उनी पनि जिल्ला समन्वय समितिको संयोजक बन्ने योजना अनुसार वडा सदस्यमा भिडेका थिए।  

यसैगरी कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भिमप्रकाश खड्काले पनि आफ्नो वडामा पार्टीको जीत जोगाउन सकेनन्। घोराही उपमहानगरपालिका वडा नम्बर ७ का खड्काको वडामा कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाथोकी एमालेसंग पराजित बने। 

प्रकाशित: ५ जेष्ठ २०७९ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App