coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा एसलाई धोका!

एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन्। सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन्।

नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई विद्रोहबाट जन्मेको पार्टी भएकाले गठबन्धन दलहरूले जुन सदाशयता देखाउनुपर्ने हो, त्यो नदेखाएको पाइएको छ। ती सदस्यले गठबन्धन दलले नेकपा एसको मत लिएको तर मत नदिएको निर्वाचन परिणामबाट देखिएको बताए। उनका अनुसार गठबन्धन नेतृत्वले सिट बाँडफाँटमा देशभर नेकपा एसलाई धोका दिएको र मतदानमा पनि यसको असर देखिएको छ।

काठमाडौंको शंकरापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, इटहरी नगरपालिकालगायतमा नेकपा एसलाई गठबन्धन दलबाट धोका भएको देखिएको छ। काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन दलबाट धोका भएको महसुस नेकपा एसले गरेको छ।

‘कांगे्रस र माओवादी केन्द्र मिलेर नेकपा एसलाई धोका दिएको देखिन्छ। उनीहरूले हाम्रो पार्टीका कार्यकर्तालाई उपयोग गरेको अवस्था छ। यसको समीक्षा हुन्छ,’ नेकपा एसका अर्का एक केन्द्रीय सदस्यले भने। कम्तीमा ६० स्थानीय तहमा प्रमुख पद जित्ने आकांक्षासहित नेकपा एस निर्वाचनमा होमिएको थियो। नेकपा एससँग ६६ स्थानमा तालमेल गरेका कांग्रेस र माओवादीले व्यवहारमा भने इमानदारी नदेखाएको विश्लेषण सो पार्टीका नेताहरूको छ। ‘स्थानीय तह निर्वाचनमा गठबन्धन भएदेखि नै हामीले अन्याय भएको महसुस गरेका छौं। यो विषयमा समीक्षा हुन्छ,’ नेकपा एसका केन्द्रीय सदस्य मोहन गौतमले भने।

उनका अनुसार पुरै नतिजा आएपछि पार्टीको बैठकले भावी रणनीति र निर्वाचन परिणामबारे समीक्षा गर्नेछ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गठबन्धन दलबाट आफ्नो पार्टीका उम्मेदवारलाई सोचेजस्तो मत नआएको बताइसकेका छन्। दुवै नेताले निर्वाचनको परिणाम आइसकेपछि समीक्षा गर्ने बताएका छन्। केन्द्रबाट भएको तालमेलमा एक महानगर र एक उपमहानगरपालिकाको प्रमुख पाएको नेकपा एसलाई जिल्ला र प्रदेशस्तरमा कांग्रेस र माओवादी केन्द्रले मतदान प्रक्रियामा धोका दिएको एक नेताले बताए। कांग्रेस र माओवादीले नेकपा एसको हैसियत नभएको भन्दै धोका दिएको ती नेताको दाबी छ।

केन्द्रमा भएको सहमतिअनुसार पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा मेयर, काठमाडौं महानगरपालिका तथा बुटवल र इटहरी उपमहानगरपालिकामा उपमेयर नेकपा एसको भागमा परेको थियो। तर ती ठाउँमा नेकपा एसका उम्मेदवारलाई गठबन्धनका अन्य दलबाट मत परेको देखिएको छैन।

काठमाडौंको शंकरापुर नगरपालिकामा कांग्रेसले पूर्ण रूपमा धोका दिएर राप्रपालाई सहयोग गरेको नेकपा एसको निष्कर्ष छ। सल्यान जिल्लामा पनि गठबन्धन दलमा आबद्ध कांग्रेसले असहयोग गर्दा प्रकाश ज्वालाले आफ्नो वडासमेत जोगाउन सकेनन्। निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एसले माओवादी केन्द्र र कांग्रेसको सहयोगमा नौवटा स्थानीय तहमा प्रमुख पद हात पारेको छ।

‘पूर्वको ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्म पनि नेकपा एसलाई उपयुक्त ठाउँ दिइएन,’ सो पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘गठबन्धनमा आबद्ध दलहरूले आफूहरूको असहमति हुँदाहुँदै मनमौजी ढंगले बैठक बसी मापदण्ड उल्लंघन गरी भागबन्डा गरे। यसमा हाम्रो आपत्ति थियो, छ ।’ गठबन्धनका अन्य दलले नेकपा एसलाई झापामा वडा सदस्यसमेत दिन आनाकानी गरेका थिए। त्यसपछि गठबन्धनबाट नेकपा एस बाहिरिएको थियो। मोरङ र सुनसरीमा पनि त्यही अवस्था भएको थियो।

प्रदेश १ मा संखुवासभा र तेह्रथुमबाहेकका जिल्लामा नेकपा एस गठबन्धनबाट अलग्गिएको थियो। नेकपा एसका एक नेताले दिएको जानकारीअनुसार ७७ मध्ये ६५ जिल्लामा पार्टीलाई गठबन्धनले पेलेको छ। गुल्मीका १२ पालिकामध्ये आठवटा कांग्रेस र चारवटा माओवादी केन्द्रले लिने सहमति गरेर रामकुमारी झाँक्रीलाई पनि धोका दिइएको थियो।

देशभर नेकपा एसका कार्यकर्ताको मत लिने तर उसलाई गठबन्धनका अन्य दलले मत नदिएपछि नेताहरू चिढिएका छन्। गठबन्धनबाट नेकपा एसलाई केही स्थानमा मात्रै सहयोग भएको छ। ‘हाम्रो संगठन कमजोर थियो होला तर एमालेलाई पराजय गर्न हाम्रो मत निर्णायक थियो। यो कुरा कांग्रेस र माओवादी केन्द्रले बुझेरै हामीलाई उपयोग गरे तर हामीलाई मत दिएनन्। यसबाट भविष्यमा उनीहरूलाई नै घाटा हुन्छ,’ नेकपा एसका ती केन्द्रीय सदस्यको दाबी छ।

ती सदस्यका अनुसार नेकपा एसकै मतले कांग्रेस र माओवादीका उम्मेदवारले धेरै स्थानमा जितेका छन्। नेकपा एसकै कारण माओवादीले पुरानो बिरासत जोगाएको र कांग्रेसले पनि एमालेको किल्ला भत्काएको छ। अहिलेसम्मको मत परिणाम हेर्दा करिब ६० भन्दा बढी ठाउँमा नेकपा एसको सहयोगमा कांगे्रसले चुनाव जितेको छ। ‘हाम्रो सहयोगमा धेरै स्थानमा कांग्रेस र माओवादीले जित हात पारेका छन् तर हामीलाई धोका मात्रै प्राप्त भएको छ,’ ती सदस्यको दाबी छ।

नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले मंगलबार स्थानीय तहको निर्वाचनमा केन्द्रमा भएको सहमतिअनुसार कांग्रेसका कार्यकर्ताले इमानदारी नदेखाएको संकेत गरेका थिए। उनले मात्र होइन, सम्मानित नेता झलनाथ खनालले पनि गठबन्धन दलहरूले नेकपा एसाई धोका दिएको बताएका थिए। ‘अध्यक्षले गठबन्धनको विषयमा समीक्षा हुने बताएका छन्।

यसको अर्थ एमालेसँग मिल्ने भन्ने होइन,’ नेकपा एसका अर्का एक केन्द्रीय सदस्यको दाबी छ। ती सदस्यका अनुसार केपी ओलीले दिएको धोकालाई बिर्सन नसक्दा कांग्रेससँग मिल्नुको विकल्प छैन। ‘स्थानीय तहको निर्वाचनले धेरै पाठ सिकाएको छ। हाम्रो मतको सम्मान हुन सकेन। प्रदेश र संघको निर्वाचनमा भने अहिलेको जस्तो अप्राकृतिक गठबन्धन हुँदैन,’ ती सदस्यले भने।

प्रकाशित: ५ जेष्ठ २०७९ ००:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App