१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

धरानमा मतदान अधिकृतको हस्ताक्षर विना मतमत्र भेटिएपछि विवाद, मतगणना स्थगित

धरानको मतगणनास्थलमा विरोध प्रर्दशन गर्दै माओवादी केन्द्रका कार्यकर्ताहरु। तस्बिर: रोहित/नागरिक

धरानको वडा नं २० को मतगणना भइरहदा मतदान अधिकृत विनाको मतपत्र भेटिएको विषयमा विवाद बढेपछि मतगणना कार्य स्थगित भएको छ।  

वडा नं २० को मतगणना भइरहँदा मतपेटिकाबाट १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर विनाको भेटिएको थियो। ती मतपत्रमा ११ वटा मतपत्र नेकपा माओवादी केन्द्रको मात्र प्यानल भोट भएको भेटिएको माओवादी केन्द्रका नेता चोत्लुङले जानकारी दिए। 

वडाको मतगणना सकिदा अध्यक्षमा ४ भोटले माओवादी केन्द्रका उम्मेद्वार कांग्रेस उम्मेद्वारसँग पराजित भएका छन्। रद्द भएको मत गणना हुदा माओवादी केन्द्रका उम्मेद्वार विजयी हुने अवस्था भएको भन्दै अहिले माओवादी केन्द्रका कार्यकर्ताहरुले विरोध प्रर्दशन गरिरहेका छन्।

विरोध प्रर्दशन सुरु भएपछि सबै वडाको मतगणना कार्य स्थगित भएको छ। निर्वाचन अधिकृतले औपचारिक घोषणा गर्नुअघि नै विरोध प्रर्दशन भएको हो। लापरवाही गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने र पुनः मतगणना हुनुपर्ने भन्दै विरोध प्रर्दशन भइरहेको हो।  

धरानमा कुल १ लाख ३२४ मतदाता छन्। वैशाख ३० गतेको निर्वाचनमा ६२ हजार ८९७ मत खसेको थियो। अहिलेसम्म धरानको २० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ७, ९, १० र १८ वडाको मतगणना सम्पन्न भइसकेको छ। गणना सम्पन्न भएको वडाहरुमध्ये १, ३, ९ र १८ नेपाली कांग्रेसले जितेको छ भने २, ४, ५, ७ र १० वडा एमालेले जितेको छ। वडा नं ६ को अध्यक्षमा भने स्वतन्त्र उम्मेद्वारले जितेको छ। बाँकी वडाहरुको मतगणना कार्य अहिले स्थगित छ।

अहिलेसम्म गणना भएको मतको नतिजा अनुसार मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ १४ मतले अगाडि छन्। पछिल्लो मतगणनाको नतिजा अनुसार चुनाव चिह्न लौरो रहेका साम्पाङले ८१४० मत प्राप्त गरेका छन्। गठबन्धन उम्मेद्वार राईले ८१२६ मत प्राप्त गरेका छन्। एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६७१३ मत प्राप्त गरेकी छिन्। यस्तै, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ। उनले ९१३६ मत प्राप्त गरेका छन्। एमाले उम्मेद्वार पदम इस्वोले ८८५१ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App