१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदान गर्न जानेको लर्काे

स्थानीय तहको निर्वाचनका लागि बुधबार कलंकीबाट आआफ्नो थातथलो फर्किंदै मतदाता। तस्बिर: विजय राई/नागरिक

स्याङ्जा भिरकोट नगरपालिकाका स्थायी निवासी सन्तोष शर्मा पहिलोपटक स्थानीय तहको निर्वाचनमा भोट खसाल्न बुधबार बिहानै काठमाडौंबाट बाहिरिएका छन्। काठमाडौंमा स्नातक तहमा अध्ययनरत उनी पहिलोपटक स्थानीय तहको निर्वाचनमा सहभागी हुन लागेकाले उत्साहित देखिएका छन्। ‘भोट खसाल्न गाउँ जाँदैछु। पहिलोपटक चुनावमा सहभागी हुन लागेकाले मन फुरुंग भइरहेको छ,’उनले भने, ‘स्थानीय तहको निर्वाचनमा आफ्नै गाउँठाउँका उम्मेदवार हुने भएकाले पनि भोट हाल्न जान लागेको हुँ।’

स्याङ्जा भिरकोटका शर्मा मात्रै होइनन्, अध्ययन र रोजगारीका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका अधिकांश मतदाता भोट खसाल्ने प्रयोजनका लागि गाउँ फर्किरहेका छन्। त्यसरी गाउँ फर्किने यात्रुको संख्या कलंकीमा व्यापक देखिन्छ भने कोटेश्वर हुँदै पूर्वी नेपाल जानेको लर्काे पनि लामै छ।

विद्यालय लगायत अन्य विभिन्न संघसंस्थाले चुनावभन्दा दुईतीन दिनअगाडि नै बिदा दिएकाले पनि मतदाता सूचीमा नाम रहेकाहरू मताधिकार प्रयोग गर्न र सोही मौकामा पारिवारिक भेटघाटमा रमाउन भन्दै घर फर्किएका हुन्।

मंगलबारको तुलनामा बुधबार काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अधिक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्म काठमाडौं उपत्यकाबाट सडकमार्गबाट ९ हजार ९ सय ५६ सवारीसाधनबाट ५९ हजार ८१ यात्रु बाहिरिएका छन्। सोही अवधिमा ८ हजार ८ सय ६९ सवारीसाधनबाट ४२ हजार ८ सय ३२ यात्रु काठमाडौं भित्रिएको पनि महाशाखाको भनाइ छ।

बुधबार बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म ५ हजार ५ सय ९८ सवारीसाधनबाट ६७ हजार ५ सय ४४ यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ। सोही अवधिमा २ हजार ३ सय ६९ सवारीसाधनबाट २१ हजार ४ सय ७९ यात्रु उपत्यका भित्रिएका पनि छन्। महाशाखाका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले अघिल्ला दिनको तुलनामा बुधबार काठमाडौंबाट आफ्नो घर फर्किने यात्रुको संख्या अधिक भएको बताए। ‘निर्वाचनका लागि घर फर्किने यात्रुको चाप बुधबार बिहानदेखि बेलुकासम्म निकै थियो,’उनले भने, ‘अधिंकाश यात्रु रिजर्भ गरिएका बसबाट र अरू निजी तथा सार्वजनिक सवारीसाधनबाट बाहिरिएका थिए।’ बिहीबार उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अझै बढ्ने अनुमान महाशाखाको छ।

साधारणतया सामान्य अवस्थामा काठमाडौंबाट ३० देखि ३८ हजार यात्रु उपत्यकाबाट बाहिरिने गर्छन्। तर अहिले निर्वाचनका कारण दैनिक ६० हजारभन्दा बढी यात्रु बाहिरिइरहेका छन्। अहिले उपत्यकाका मुख्य चार नाकाबाट यात्रु बाहिरिने गर्छन्। काठमाडौंमा पर्ने थानकोट, दक्षिणकाली र टोखा तथा भक्तपुरको जगाती नाका हुँदै यात्रुवाहक सवारीसाधन बाहिरिन्छन्।

महाशाखाका प्रहरी नायब उपरीक्षक राणाले धेरै मानिस बाहिरिएकाले काठमाडौं उपत्यकामा सवारीसाधनको चाप कम हुन थालेको बताए।

‘निर्वाचनकै कारणले काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनको संख्या २५–३० प्रतिशतमा सीमित भएको छ,’ उनले भने, ‘प्रायजसो काठमाडौं उपत्यकामा दसैंको समयमा सवारीसाधनको चाप कम हुन्थ्यो। अहिले निर्वाचनको समयमा भएकाले उपत्यकामा ट्राफिकको जाम निकै कम भएको छ।’ यद्यपि काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, कोटेश्वर र बल्खु क्षेत्रमा उपत्यका बाहिरिने यात्रुको चाप भने बढी नै देखिन्थ्यो।

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि उपत्यका छाड्ने यात्रुको चाप अत्यधिक देखिन्थ्यो। सो बसपार्कको व्यवस्थापन तथा सञ्चालन गर्दै आएका ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले विगतको तुलनामा यो वर्ष निर्वाचनमा घर फर्किने सर्वसाधारणको भिड निकै रहेको बताए। ‘सामान्य अवस्थामा नयाँ बसपार्कबाट दैनिक ३ सय बस उपत्यकाबाट बाहिरिन्थे। तर अहिले निर्वाचनको बेला ४ सयभन्दा धेरै यात्रुवाहक बस बाहिरिएका छन्,’ उनले भने, ‘एक साताको अवधिमा नयाँ बसपार्कबाट मात्रै ८६ हजारभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन्।’

महाप्रबन्धक कुँवरले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरूले आआफ्ना मतदाताका ओसार्न पनि पर्याप्त मात्रामा रिजर्भका सवारीसाधन पठाएको बताए। ‘अधिकांश उम्मेदवारले आफ्ना मतदाताका लागि भन्दै रिजर्भका बस पनि उल्लेखनीय मात्रामा पठाएका छन्,’ उनले भने, ‘यातायात व्यवसायीले पनि सर्वसाधारणका लागि बस थपेकाले यात्रु सहज ढंगले बाहिरिएका छन्।’ उनले यस वर्ष उपत्यकाबाट युवा मतदाता धैरै बाहिरिएको दाबी गरे। ‘निर्वाचनलाई लक्षित गरेर अहिले धेरैजसो युवा मतदाता गाउँ फर्किएका छन्,’ उनले भने, ‘यसपालिका चुनावलाई लिएर नयाँ मतदाता धेरै उत्साहित भएको देखिन्छ।’

काठमाडौं उपत्यकाबाट सबैभन्दा धेरै यात्रु भने कलंकी नाकाबाट बाहिरिएका छन्। त्यसपछि भक्तपुरको जगातीबाट धेरै यात्रु बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले पनि राजधानीसहित मुख्य जिल्लामा रहेका मतदाताहरू आफ्नो गाउँ फर्किने क्रम ह्वात्तै बढेको बताए। ‘दसैंमै जस्तो यात्रुको लर्काे त छैन,’ उनले भने, ‘उम्मेदवारहरूले आफ्नो मतदातालाई राजधानी तथा जिल्ला सदरमुकाममा सार्वजनिक बस पठाएर यात्रु ओसार्ने क्रम भने तीव्र रूपमा भइरहेको देखिएको छ।’ यातायात व्यवसायीले आवश्यकताअनुसार सवारीसाधन थपेर यात्रुलाई सरल र सहज ढंगले गन्तव्यसम्म पुर्‍याउने काम गरिरहेको उनको भनाइ थियो।

प्रकाशित: २९ वैशाख २०७९ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App