३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपा अध्यक्ष भट्टराईले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी

मौन अवधि सुरु भएपछि बुधवार पालुङटारमा आयोजित चुनावी कार्यक्रममा बोल्दै जसपा अध्यक्ष बाबुराम ।

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मौन अवधीमा निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै उजुरी परेको छ।

केहीदिन यता गृहनगर पालुङटारमा चुनावी अभियानमा रहेका उनले मौन अवधिको दिन बुधवार पनि चुनावी सभा गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो वा कुनै पनि विधिद्वारा भोट माग्न नपाइने मौन अवधिको आचार संहिता मिचेर पालुङटार १ को विभिन्न टोलमा पुगेर उनले चुनावी कार्यक्रम गरेको फोटो आफ्नो फेसबुक पेजमा पनि राखेका छन्।

भट्टराई र उनका कार्यकर्ताले निर्वाचनको आचार संहिता उल्लंघन गरेकोबारे लिखित र मौखिक उजुरी बारम्बार परिरहेको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए। ‘मौन अवधीमा बुधवार पनि निर्वाचन सम्बन्धी कार्यक्रम गरेको भनेर लिखित उजुरी परेको छ’ उनले भने ‘यो उजुरीको जानकारी आयोगलाई गराउँछौँ।’

केहीदिन अघि राति १२ बजेसम्म चुनावी कार्यक्रम गरेको भनेर उजुरी परेको, कहिले मतदातालाई प्रभावित पर्ने, प्रलोभनमा पार्ने गरेको भनेर पनि उजुरी आइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको तर पटक पटक दोहोरिने गरेको जनाएको छ।

गृहनगर पालुङटारमा जसपाका उम्मेदवारलाई जसरी पनि जिताउन लागेका भट्टराईले कांग्रेस सँगको तालमेल प्रयास गरेका थिए। सो प्रयास सफल नभएपछि उनले सत्ता गठबन्धन बाहिरको एमाले सँग पालुङटारमा चुनावी तालमेल गरेका छन्।

प्रकाशित: २८ वैशाख २०७९ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App