३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मुख्य नाकामा कडाइ, छेउछाउ खुला

स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सीमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार राति १२ बजेदेखि ३० गते रातिसम्मका लागि सीमा बन्द गरेको हो।  

निर्वाचनलाई लक्षित गरेर भारतले जोगबनीतर्फको ढाट बन्द गरेको छ भने विराटनगरको मुख्य नाका रानीका ३ वटै ढाट पनि बन्द रहेका छन्। मुख्य नाकामा सुरक्षा चुस्त बनाएर कडाइ गरिए पनि नाकाको पश्चिमतर्फबाट भने सर्वसाधारणहरु सहजै आवतजावत गरिरहेका छन्।

सुरक्षाकर्मीको पातालो उपस्थितिको फाइदा उठाउँदै सर्वसाधारणहरु नेपाल–भारत आवतजावत गर्नेको कमी छैन। मतदान स्थलको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका कारण पनि सीमा क्षेत्रमा पर्याप्त सुरक्षाकर्मीको उपस्थिति नभएको हो। प्रहरीले मुख्य नाका रानीबाट कसैलाई पनि आवतजावत गर्न दिएको छैन।  

सीमा क्षेत्रमा बसेर निर्वाचनलाई प्रभाव पार्ने गरी हुन सक्ने विभिन्न किसिमका आपराधिक गतिविधिलाई रोक्नका लागि मोरङ प्रशासनले सीमा बन्द गरेको जनाएको छ। भारतसँग सीमा जोडिएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाए पनि खासै प्रभाव परेको देखिँदैन।  

‘खुला सीमाका कारण केही समस्या भएको हो,’ मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘मुख्य नाका बाहेक अन्य सीमा क्षेत्र खुला भएकाले सबै ठाउँमा सुरक्षाकर्मी तैनाथी गर्न नसकिए पनि गस्तिलाई थप प्रभावकारी बनाउँदै आवतजावतलाई रोक लगाएका छौं।’ मानिसहरुको कतिको आवश्यकता (इमरजेन्सी)हो, त्यसका आधारमा मात्रै आवतजावत गर्न दिने व्यवस्था गरिएको छ। उनले भने, ‘सुरक्षाको ‘थ्रेड’लाई हेरेर तथा बिरामीलगायत अन्य अतिआवश्कीय अवस्थालाई मध्यनजर गरेरे मात्रै आवतजावत गर्न दिइने गरिएको छ।’

रानी नाका नजिक विराटनगर–१६ हुलास मेटल चोकदेखि पश्चिमतर्फ दरैया बस्ती क्षेत्रतिरबाट सर्वसाधारणको आजतजावत रोकिएको छैन। रानी नाकाको पूर्वतर्फ केही कडाइ गरेका कारण र जोगबनी बजार तथा रेल्वे स्टेसन नजिक भएकाले पनि सर्वसाधारणहरु दरैया बस्तीको क्षेत्रबाट आवतजावत गरेका हुन्।

प्रकाशित: २८ वैशाख २०७९ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App