१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचनः परिचयपत्र नहुँदा मतदाता अन्यौलमा

विराटनगर १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मतदान स्थलमा मतदाता परिचयपत्र लिन आएका मतदाताहरू । तस्बिरः विनोद/नागरिक

आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सबैलाई मतदाता परिचयपत्र बितरण नगर्दा मतदाताहरू अन्यौलमा परेका छन्। मतदाता परिचयपत्र लिन आएका पुराना मतदाताहरू मतदाता परिचयपत्र नपाउँदा अन्यौलमा परेका हुन्।  

मतदान गर्न मतदाता परिचयपत्र चाहिन्छ भन्ने सुनेका  विराटनगर–१२ मुसहर वस्तीका मटरा ऋषिदेवले मतदाता घर जल्दा पुरानो परिचयपत्र जलेको र नयाँ परिचयपत्र नपाइएका कारण मतदान गर्न पाइने वा नपाइने अन्यौल भएको बताए। उनले मतदाता परिचयपत्र लिन महेन्द्र मोरङ निर्वाचन केन्द्र गए पनि त्यहाँका कर्मचारीले नदिएको गुनासो गरे। ‘नयाँको मात्रै परिचयपत्र हुन्छ भनेर कर्मचारीहरूले फर्काइदिए ’उनले भने ‘ मत दिन पाइने हो वा हैन टुंगै भएन।’ 

उनले कर्मचारीले परिचय पत्र नभए नागरिकता लिएर आउन आग्रह गरे पनि मतदाता परिचय पत्रको नम्बर पनि ल्याउनु भनेकाले मतदाता परिचयपत्रको नम्बर कहाँबाट ल्याउने थाहा नभएको बताए। उनले भने‘ पुरानो मतदाता परिचयपत्र आगोमा जलिहाल्यो मतदाता परिचयपत्रको नम्बर कहाँबाट ल्याउने?’ उनी मात्रै हैन विराटनगर ४ की पार्वती घिमिरे पनि पुरानो परिचयपत्र हराएर  विराटनगर –४ स्थित पुसेट क्याम्पसमा आएको तर, परिचय पत्र नपाएको गुनासो गरिन्।

कर्मचारीहरूले नयाँले मात्रै पयिरचयपत्र पाउँने भनेकाले परिचयपत्र नलिइ फर्किएको बताइन्। उनले परिचयपत्र नभएकाले अब, मत हाल्न पाइने हो वा हैन टुंगो नभएको बताइन्। ‘मतदाता परिचयपत्र छैन ’ उनले भनिन् ‘ कर्मचारीहरूले नागरिकता लिएर आउनु भने पनि मतदान गर्न पाइने हो वा हैन टुंगै भएन।’ निर्वाचन आयोगले बैशाख ३० गते हुने निर्वाचनका लागि बुधबार देखि मतदाता परिचयपत्र बितरण थालेको छ। तर, यस्तो परिचय पत्र नयाँ दर्ता भएका मतदाताहरूलाई मात्रै दिने व्यवस्था गरिएको छ। पुराना मतदाताले परिचय हराएको भए नयाँ परिचयपत्र पाउने व्यवस्था गरिएको छैन। परिचयपत्र नहुँदा विराटनगरका धेरैजसो मतदाताहरू मत हाल्न पाइने वा नपाई भन्ने अन्यौलमा परेका छन्।  

मतदाता परिचयपत्र हराए पनि मतदान गर्न पाइने मतदाता परिचयपत्र बितरणमा खटिएका कर्मचारीहरूले बताएका छन्। विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रका मतदान अधिकृत मोदराज दाहालले मतदाता परिचयपत्र हराए पनि नागरिकता, लाइसेन्स वा परिचय खुल्ने कागजात लिएर आए मतदान गर्न पाइने बताए। उनले मतदाता परिचयपत्र हराएर आउने मतदाताहरूलाई आफूहरूले नागरिकताको परिचयपत्र र मतदाता परिचयपत्रको नम्बर लिएर आउन आग्रह गरेको बताए। उनले भने,‘मतदाता परिचयपत्र हराएर लिन आएका मतदाताहरूलाई नागरिकता वा परिचय खुल्ने कागजात, मतदाता परिचयपत्रको नम्बर लिएर आउन आग्रह गरेका छौं।’ उनले विराटनगरका मतदातासम्म मतदानका विषयमा यथार्थ सूचना र मतदाता शिक्षासमेत नपुगेकाले मतदाताहरू अलमलमा परेको बताए। उनले मतदाता परिचयपत्र हराए पनि अलमलमा नपरी नागरिकता,लाइसेन्स, जग्गा धनीपुर्जा वा आफ्नो परिचय खुल्ने कागजात लिएर आए मतदान गर्न पाइने स्पष्ट पारे।  

मतदान केन्द्र  निर्माण सुरू  

आसन्न स्थानीय तहको निर्वाचनका लागि विराटनगरमा बुधबार देखि मतदान केन्द्र निर्माणको तयारी सुरू गरिएको छ। विराटनगरका सबै वडाका मतदान स्थलमा मतदान केन्द्र निर्माण सुरू गरिएको हो। आसन्न स्थानिय तहको निर्वाचनमा हरेक मतदान केन्द्रमा तीनवटा लाइन तयार पारिएको छ। महिला, पुरुष र अपाङ्गका लागि छुट्टा छुट्टै लाइन निर्माण गरिएको छ। यस्तै निर्वाचनका दिन पानी पर्ने सूचनाका कारण मतदान केन्द्रहरूमा त्रिपालसहितको छानाको पनि व्यवस्था गरिएको मतदान अधिकृत दाहालले बताए।

प्रकाशित: २८ वैशाख २०७९ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App