१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मतदाता शिक्षा पहुँचवालालाई मत बदर प्रतिशत बढ्ने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराबाट मतदान केन्द्रहरूमा निर्वाचन सामाग्री लैजाँदै सुरक्षाकर्मी। तस्बिरः रासस

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २४ करोड रूपैयाँ छुट्याएको छ। तर, लक्षित क्षेत्रसम्म मतदाता शिक्षाका लागि विनियोजित रकम र कार्यक्रम नपुग्दा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मत बदर संख्या विगतमा भन्दा अझ बढ्ने देखिएको छ।

सूचना तथा सञ्चारका साथै शिक्षाको पहुँच नभएको वर्गलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुको साटो आयोगले निकट र पहुँचवालालाई मात्र यस्तो शिक्षा प्रदान गरेको छ। अझ सचेत वर्गको पहुँचमा रहेको सामाजिक सञ्जालसहित माध्यम र मिडिया लक्षित कार्यक्रममा खर्च गर्दा लक्षित वर्ग मतदाता शिक्षाबाट वञ्चित हुन पुगेका छन्। साथै मतपत्रको आकार ठुलो र चुनाव चिह्न धेरै भएकाले पनि मतदाता अलमलमा पर्ने देखिएको छ। विभिन्न दलहरूबीच थरीथरीका गठबन्धनसहित तालमेलका कारण चुनाव चिह्न फरकफरक हुँदा मतदाता अलमल पर्ने देखिएको हो।

सबैभन्दा धेरै मतदाता भएको काठमाडौं उपत्यकामा ८० वटा चुनाव चिह्न भएको मतपत्र हुनेछ। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी ८० वटा चुनाव चिह्नबाट मतदाताले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला सदस्य, खुला सदस्य दुईजना गरी सातजना उम्मेदवार छान्नुपर्नेछ। त्यसका लागि मतदाता शिक्षा निकै आवश्यक देखिन्छ।

यसपटक निर्वाचन आयोगले आफ्ना नजिकका व्यक्तिलाई खुसी पार्न सेलिब्रेटी, विभिन्न संघसंस्थामा आबद्ध, समाजका प्रबुद्ध भनिने र पहुँचवालालाई खुसी बनाउन सामाजिक सञ्जाललक्षित कार्यक्रम गरेको देखिन्छ।

आयोगले सामाजिक सञ्जालमा कलाकार, समाजसेवी, पत्रकारलगायतलाई बोल्न लगाएर मतदाता शिक्षाको रकम खर्च गरेको छ। 

मतदाता शिक्षाका लागि २४ करोड रूपैयाँ छुट्याएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। त्यसमध्ये केही रकम देशभर खटिएका २१ हजार मतदान केन्द्रका स्वयंसेवकमा खर्च हुने जानकारी उनले यसअघि नै दिएका थिए। टिभी, रेडियो, पत्रिका, फोन (रिङ टोन), सामाजिक सञ्जालका साथै पहुँच र प्रभाव पार्नसक्ने व्यक्ति र संस्थाले मतदाता शिक्षाअन्तर्गत विभिन्न श्रव्यदृश्यसहितका सामग्री उत्पादन गर्न अनुमति पाएका छन्।

तर, ती सामग्री कहाँ प्रकाशन र प्रसारण हुन्छ भन्ने यकिन पनि छैन। कतिपयपय सामग्री त्यत्तिकै आयोगको रेकर्डमा मात्र सीमित रहेको आयोग स्रोतको दाबी छ। ‘जसका लागि मतदाता शिक्षा आवश्यक हो, त्यो वर्गलाई लक्षित गरी यस पटक कुनै कार्यक्रम तय गरिएन,’ आयोग स्रोतले भन्यो, ‘राज्यको स्रोतसाधन केही व्यक्ति र संस्थाको मुखबुजो लगाउन र खुसी बनाउनमा प्रयोग भएको छ ।  त्यसको खास उपयोगिता देखिएको छैन।’ आयोगले मतदाता शिक्षासम्बन्धी सामग्री बनाएर टिकटकमा राखी त्यो भिडियो ५० लाख जनाले हेरेमा ५० हजार रूपैयाँ पुरस्कार दिनेसम्मको स्किम राखेको छ। 

शुक्रबार हुने चुनावका लागि आयोगले नमुना मतदान गराएको थियो। आयोगले काठमाडौंमा गराएको नमुना मतदानमा ३० प्रतिशत मत बदर भयो। बुधबार र बिहीबार मतदान स्थलमा मतदाता परिचय पत्र लिन आउनेहरूलाई खटिएका कर्मचारीले नै मतदाता शिक्षा दिने भनिएको छ। परिचय पत्र लिन आउने घरका एकजना मतदाताले मात्रै त्यो शिक्षा पाउने देखिएको छ। २०७४ सालको चुनावमा मतदाता शिक्षामा धेरै खर्च गरेको तर मत बदरको संख्या झनै बढेको भन्दै आयोगको आलोचना भएको थियो। त्यसैकारण यस पटक मतदाता शिक्षा सञ्चालन नगरिएको आयोगले जनाएको छ। 

यस पटकको चुनावमा जम्मा पाँच लाख जति मत बदर हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले जवाफ दिएका थिए। निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा एक अर्ब ५० करोड रूपैयाँ बढी मतदाता शिक्षामा खर्च गरेको थियो। प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख ४२ हजार ७ सय ७७ मत बदर भएको थियो जुन  खसेको मतको ९.८४ प्रतिशत हो।

वैशाख ३० को स्थानीय तह निर्वाचनलाई लक्षित गरी बनाइएका प्रचार सामग्रीलाई सामाजिक सञ्जालमा प्राथमिकता दिइएको छ। तर, लक्षित वर्गसम्म पुग्न सकेको छ छैन भन्ने विषयमा अनुगमन छैन। यस पटक काठमाडौं जिल्लामा ५६ थरी चुनाव चिह्न राखिएका छन्। त्यसैगरी धनुषाका लागि ४४ थरी चुनाव चिह्न राखिएको मतपत्र छापिएको छ।

२०७४ सालको मत बदरको परिणाम हेर्दा निर्वाचनमा पद र उम्मेदवारको संख्या धेरै हुनु पनि मतपत्र बदर हुनु रहेको छ। त्यसैगरी मतपत्रको आकार ठुलो हुनु, मतदान केन्द्रहरू साँगुरो हुनु, एउटै पदका लागि एकभन्दा बढी चिह्नमा स्वस्तिक छाप लगाइँदा मतपत्र बदर हुने गरेका छन्। मतदाता अलमलिँएर सबै पदमा मतदान नगरेको, उम्मेदवारी नपरेका चिह्नमा मतदान गरेको, दुईवटा कोठामा पर्नेगरी छाप लगाइएकाले पनि बदर हुने गरेको निर्वाचन आयोगको प्रतिवेदनमा उल्लेख छ।

२०७४ सालमा काठमाडौंमा निरक्षर पुरुष मतदाता ५८ हजार र एक लाख १५ हजार पाँच सय ९९ जना महिला रहेका थिए। काठमाडौंमा कुल पाँच लाख ५९ हजार चार सय सात मतदाता रहेका थिए। त्यसमध्ये चार लाख २२ हजार तीन सय १४ मत खसेको थियो। काठमाडौंको मत बदर संख्या २० प्रतिशत थियो। काठमाडौंमा ४९ हजार तीन सय ६० मत अर्थात् १२ प्रतिशत बदर भएको थियो। त्यसमध्ये ११ हजार नौ सय ८८ मत अर्थात् तीन प्रतिशत पूर्ण बदर भएको थियो। अघिल्लो चुनावमा विराटनगर महानगरपालिकामा २४ प्रतिशत बदर भएको थियो भने ललितपुर महानगरपालिकामा १९ प्रतिशत मत बदर भएको थियो।

प्रकाशित: २८ वैशाख २०७९ ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App