२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाह्रविसे नगरमा पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा

बिरासत फर्काउने कांग्रेसकाे दाउ, फेरि दोहोरिने एमाले रणनीति

२०७४ को स्थानीय तह चुनावमा बाह्रविसे नगरपालिकाको प्रमुखको लागि एमालेका निमफुञ्जो शेर्पा, कांग्रेसका बालकृष्ण बस्नेत र माओवादीका बुद्धराज बस्नेत प्रतिस्पर्धामा उत्रिएका थिए। एउटा संयोग नै मान्नु पर्छ, यस पटकको निर्वाचनमा यी तीन नेता फेरि प्रतिस्पर्धाको मैदानमा आमने–सामने भएका छन्।  

यो नगरमा बिगतमा झैँ कांग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा छ। दुबै पार्टी विरुद्ध माओवादीले टक्कर बढाउँदै लगेको छ। अघिल्लो निर्वाचनमा दुई सय मतान्तरले एमालेका शेर्पा प्रमुखमा विजयी भएका थिए। उनले ४ हजार ९ सय २९ मत ल्याएका थिए। दोस्रो भएको कांग्रेसका बस्नेतले ४ हजार ७ सय २१ मत पाएका थिए। २ हजार ५ सय ७६ मत ल्याएर माओवादीका बुद्धराज तेस्रो भएका थिए।  

नौवटा वडा रहेको यस नगरमा बहुमत वडा जितेर पनि कांग्रेसले प्रमुख र उपप्रमुख गुमाएको थियो। बाह्रविसे कांग्रेसको बर्चश्व रहेको क्षेत्र मानिँदै आएको छ। तर, सबैलाई आश्चार्य पार्दै एमालेले जितेको थियो। कांग्रेस यो चुनावमा जसरी पनि गुमेको बिरासत फर्काउने दाउमा छ। एमाले पनि जुनै हालतमा जीत रक्षा गर्ने रणनीतिमा छ। त्यस्तोमा मतान्तर घटाउँदै कडा टक्कर दिने नीति माओवादीले अबलम्बन गरेको छ।  

बाह्रविसे कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहनगर हो। त्यसैले कांग्रेसले बाह्रविसेलाई प्रतिष्ठाको विषय मानेको छ। कांग्रेस उम्मेदवार बालकृष्ण नेता बस्नेतका भाइ पनि हुन्। माओवादी उम्मेदवार बुद्धराज पनि उनका बालकृष्ण जत्तिकै नजिकका भाइ पर्छन्। बालकृष्ण र बुद्धराज पनि दाजुभाइ हुन्। अघिल्लो चुनावमा कांग्रेसले टिकट नदिएपछि बुद्धराज अन्तिममा माओवादी प्रवेश गरेर उम्मेदवार बनेका थिए। बुद्धराजको उम्मेदवारीले नै कांग्रेसको पराजय भएको बिश्लेषण हुँदै आएको छ। उनले ल्याएको धेरै मत कांग्रेसबाट काटेका थिए।  

यो पटक पनि कांग्रेसलाई कसैको डर छ भने उनै बुद्धराजको। ‘डर एमालेको होइन, बुद्धराजको हो। उनले जति मत बढाउँछन्, त्यो कांग्रेसको भोट काटेर नै हो,’ कांग्रेसका एक नेताले भने। उनका अनुसार आफ्नो मत संरक्षण गर्न कांग्रेस सचेत भएर अघि बढेको छ। अघिल्लो पटक एमालेको जित र कांग्रेसको हार बालकृष्णले टिकट पाएको असन्तुष्टि थियो।  

क्षेत्रीय सभापति बनेर बालकृष्णले राजनीतिक छबि बनाएकाले यो पटक गुमेका शाख फर्कनेमा कांग्रेस ढुक्क छ। बलियो संगठन र स्थिर कार्यकर्ता भएको एमाले पुनः जित निकाल्नेमा विश्वस्त देखिन्छ। एमाले फुटको यहाँ कुनै असर छैन। पार्टी एक ढिक्का छ। पाँच वर्ष नगरको नेतृत्व गरेको सत्ता पक्ष भएकाले सबै पार्टीबाट मत थपिने उसको बिश्लेष्ण छ।  

चुनावको मुखमा सबैभन्दा धेरै स्थानीय नेता, कार्यकर्ताबीच पार्टी अदलबलद कहीँ छ भने बाह्रविसेमै हो। केही निर्वमान वडाध्यक्ष कांग्रेसबाट एमाले गएका छन् भने कतिपय एमालेबाट कांग्रेसमा। यो प्रक्रिया अहिले पनि जारी छ। चुनावको अघिल्लो दिनसम्म यही प्रक्रिया चलिरहने हो भने कसले बाजी मार्छ भनेर अहिल्यै भन्न नसकिने स्थानीय जानकार बताउँछन्।  

एमालेले उपप्रमुखमा सुशीला पाख्रिनलाई नै दोहोर्‍याएको छ। उनी निवर्तमान उपप्रमुख पनि हुन्। कांग्रेसले उपप्रमुखमा मञ्जु तामाङ र माओवादीले पातली थामीलाई अघि सारेको छ। चुनावी मैदानमा उनीहरु नयाँ अनुहार हुन्। २१ हजार ६ सय १५ मतदाता रहेको यहाँ जसले प्रमुख जित्छ, उसैले उपप्रमुख पनि जित्ने आँकलन गरिएको छ।

प्रकाशित: २७ वैशाख २०७९ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App