१५ चैत्र २०८० बिहीबार
राजनीति

कीर्तिपुरको चुनावी रंगः एमालेको विरासत उल्टाउने रणनीतिमा कांग्रेस

बायाँबाट क्रमश: राजकुमार नकर्मी कांग्रेसबाट मेयरका उम्मेद्वार,केशवरत्न बज्रचार्य-एमालेबाट, प्रा.डा.हरिशरण महर्जन- माओवादीबाट र जीत बहादुर विष्ट राप्रपाबाट।

अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेले पकड जमाएको किर्तिपुर नगरपालिकामा यसपटक भने परिणाम उल्टिने संभावना छ।  

अघिल्लो निर्वाचनमा मेयर र उपमेयरसहित ६ वटा वडामा एमाले र ४ वटाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेका थिए। वडा सदस्यहरुमा पनि एमालेकै वर्चश्व थियो।  

यसपटक नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेल छ। यो तालमेलमा मेयर नेपाली कांग्रेस र उपमेयर जनता समाजवादीले पाएका छन्। नेकपा एमाले, नेकपा एकीकृत (समाजवादी), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने आ-आफ्ना उम्मेदवार उठाएका छन् जसले गर्दा मत सबै दलहरुमा बाँडिने निश्चित छ।  

मत बाँडियो भने यसपटक एमालेलाई धक्का लाग्ने अनुमान गरिएको छ। नेकपा एकीकृत (समाजवादी)ले एमालेको मत काट्ने निश्चित देखिन्छ भने मेयरलगायतका पदहरुमा कांग्रेसलाई जनता समाजवादीको मत आउने प्रष्ट छ। उपमेयरमा कांग्रेसको मत जसपालाई नै जान्छ। यसो हुँदा कांग्रेसलाई फाइदा पुग्ने जानकारहरु बताउँछन्। नगरपालिकाका केही वडामा माओवादी केन्द्र बलियो भएपनि प्रमुख पदमा विजयी हुने संभावना कम देखिन्छ।    

अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयरमा रमेश महर्जन र उपमेयरमा सरस्वती खड्का निर्वाचित थिए। यसैगरी एमालेबाटै वडा नम्बर १ मा हर्ष महर्जन, २ मा रमेशमान डंगोल महर्जन, ३ मा  राजेन्द्र महर्जन, ६ मा न्हुच्छेबहादुर महर्जन, ७ मा राजकुमार माली र ९ मा गंगाराम महर्जन वडाध्यक्षमा निर्वाचित भएका थिए भने ४ वटा वडामा कांग्रेसले जितेको थियो।

कांग्रेसबाट ४ नम्बर वडामा राजेन्द्र बानियाँ, ५ नम्बर वडामा राजेन्द्रकुमार महर्जन, ८ नम्बर वडामा विनोद महर्जन र १० नम्बर वडामा अमन महर्जन वडाध्यक्षमा निर्वाचित भएका थिए। एमालेले चुनावी प्रतिस्पर्धामा मेयर/उपमेयरमा नयाँ अनुहार ल्याएको छ। एमालेबाट मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा विन्दु महर्जनले उम्मेदवारी दिएका छन्।  

कांग्रेसले भने एमालेलाई उछिन्ने रणनीतिसहित जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। गत निर्वाचनमा पराजित भएका उम्मेदवारलाई नै यसपटक पनि मैदानमा उतारेको छ। कांग्रेसका तर्फबाट मेयरमा राजकुमार नकर्मी र जसपाका तर्फबाट उपमेयरमा सुनिता शाक्यले उम्मेदवारी दिएका छन्।

चुनावी मैदानमा नेकपा माओवादी केन्द्रबाट मेयरमा प्राडा हरिशरण महर्जन र उपमेयरमा सुशीला बस्नेत, नेकपा एकीकृत समाजवादीबाट मेयरमा बटुकृष्ण थापा र उपमेयरमा कमला महर्जनले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। राप्रपाबाट मेयरमा जीतबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका छन्।

स्थानीय तह निर्वाचनअन्तर्गत मतदान हुने दिन नजिकिँदै गर्दा दल तथा उम्मेदवारहरुले चुनाव प्रचार तीव्र पारेका छन्। पाँच दलिय सत्ता गठबन्धनले कतिपय स्थानीय तहमा चुनावी तालमेल गरेको छ भने कतिपय ठाउँमा गठबन्धनकै दलहरु पनि एक्ला–एक्लै प्रतिस्पर्धामा छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि स्थानीय तह हेरेर गठबन्धन र एक्लाएक्लै प्रतिस्पर्धा गरिरहेको छ।

नेकपा एमालेका मेयर उम्मेदवार केशरत्न बज्राचार्यले एमालेको विरासत कायम राख्न आफू लागि परेको बताए। ‘समृद्ध नेपाल सुखी नेपाली’को मुख्य नारासहित अघि बढिरहेको एमालेको विजयले कीर्तिपुरबासीको अवस्था सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा मैले गरेको छु,’ उनले नागरिकन्यूजसँग भने, ‘जनताको आर्थिक सुधार र दिगो विकासको लागि महत्वपूर्ण योजनाहरु ल्याएर अघि बढ्नेछु।’

दिगो विकाससहित समावेशी समाजवादलाई मुख्य अजेण्डा बनाइरहेको नेकपा एमालेले कीर्तिपुरमा समेत समृद्धिको अजेण्डासहित आफ्ना चुनावी गतिविधिहरु अघि बढाइरहेको उनी बताउँछन्। स्नातक तहसम्मको शिक्षा हाँसिल गरेका उनी सामाजिक कार्यहरुमा सक्रिय छन्। आफूले मेयर जितेमा जनताको सेवा सुविधा र सहजताका लागि काम गर्ने उनले बताए। ‘मैले जिते भने एमालेले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानका कार्यक्रमहरुलाई सम्बोधन गर्ने गरी साधारण जनताको अवस्थालाईमाथि उठाउनमा विशेष जोड दिनेछु,’ उनले भने।  

एमालेले पुष्पलाल पार्कदेखि चम्पादेवी हुँदै कुलेखानीसम्म ट्रेकिङ रुट निर्माण गर्न अन्तरपालिका समन्वय, कीर्तिपुरको नेवारी खानालाई प्रवद्र्धन गर्ने, सांस्कृतिक पर्वहरूको व्यवस्थापन, मौलिक र काष्ठकलायुक्त स्थलमा चलचित्र छायांकनलाई प्रोत्साहन गर्ने नीति एमालेको छ। कीर्तिपुर सांस्कृतिक संग्रहालय स्थापना र सञ्चालनलाई प्राथमिकता दिइएको छ।  

यसैगरी जसपासँग गठबन्धन गरेको नेपाली कांग्रेसका मेयर उम्मेदवार राजकुमार नकर्मी भने आफू र आफ्नो पार्टीले जित्ने पक्का पक्की जस्तै भएको बताउँछन्।  

‘स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका मुद्दाहरुलाई हेर्ने हो भने जनताले हामीलाई नै भोट हाल्छन् र हामीले नै जित्नेमा दुई मत छैन,’ उनले भने, ‘अब हाम्रो मुद्दा भनेको कीर्तिपुरको समग्र विकाससँग सम्बन्धित छ।’

फोहोर व्यवस्थापन  र खानेपानी वितरणलाई प्रमुख अजेण्डाको रुपमा अघि सारेको नकर्मी बताउँछन। यी दुई वटा मुद्दालाई आधार बनाएर नै आगामी योजनाहरु ल्याउने उनले बताए। स्नातक तह उर्तीण उनी यहाँका जनताको जिवनस्तर उकास्नमा आफू र आफ्नो पार्टीले कुनै कसर नछाड्ने बताए। उनले कांग्रेसलाई अहिले जनताले पत्याउने र कांग्रेसकै नेतृत्व देख्न चाहिरहेको बताए। ‘म आफैंले भन्नुपर्दा आफ्नो दलको स्थिति नै अहिले राम्रो पाएको छु। हामीले उठाएका एजेन्डा लगायतले गर्दा यसपटक हामी नै विजयी हुन्छौं। जनताले हामीलाई नै चुन्ने छन्।’

कांग्रेसले ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने, मौलिक संस्कृतिको प्रचार गर्दै पर्यटकीय नगरी बनाउने, कीर्तिपुर नगरपालिकाभित्र दाफा (संस्कृति) को संरक्षण सम्वद्र्धनका लागि दाफा अनुसन्धान केन्द्र स्थापना गर्ने नीति लिएको छ। ऐतिहासिक वस्तीमा तत्तत् क्षेत्रको संस्कृति झल्किने गरी होमस्टे सञ्चालन गर्ने लगाएतका प्रतिबद्धता कांग्रेसले लिएको छ।

यसैगरी माओवादी (केन्द्र)का तर्फबाट प्राडा शिव शरण महर्जनले प्रतिस्पर्धा गर्दैछन्। साथै कीर्तिपुर नगरका हेभिवेट मानिने महर्जन आफूले विजयी हाँसिल गर्नेमा विश्वस्त छन्। सत्ता गठबन्धनबाट प्राडा. महर्जनले टिकट पाए पनि स्थानीय पार्टीहरुको तालमेल हुन नसकेपछि चुनावमा विजयी हुनको लागि घोषित र अघोषितरुपमा चुनावी मैदानमा उत्रेका छन्।

अघिल्ला निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित भएका उम्मेदवारहरु पुनः चुनावमा प्रमुख पदका लागि उठेका कारणले यो पटक प्राडा शिवशरण महर्जनको चर्चा अत्याधिक छ।  

पहिलो पटक राजनीतिक रुपमा उम्मेदवारी दिएका उनले नेकपा माओवादी केन्द्रकोतर्फबाट मेयर पदमा उम्मेदवारी दिएका छन्। बौद्धिक, शैक्षिक, मानवअधिकार तथा सामाजिक संघसंस्थामा रहेर आफ्नो क्षमता देखाइसकेका महर्जन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागका प्रमुख र विश्वविद्यालय अनुदान आयोगका सदस्य रहेर काम गरिसकेका छन्।

माओवादी केन्द्रले चम्पादेवीमा निर्माणाधिन राष्ट्रिय संग्राहलयको कार्य योजना पूरा गर्ने र कीर्तिपुर तथा चोभार क्षेत्रमा स्थानीय समुदायसँग समन्वय गरी सांस्कृतिक, प्राकृतिक संग्रहालय स्थापना गर्ने नीति लिएको छ। कीर्तिपुर नगर संस्कृति संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ को प्रभावकारी कार्यन्वयन गर्ने नीति यो पार्टीको छ।

यस्तै, चुनावी प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका तर्फबाट कीर्तिपुर नगरपालिकामा जीतबहादुर बिष्टको उम्मेदवारी छ। सामान्य पढाइ भएपनि उमेरले अनुभवी र परिपक्व मानिन्छन् उनी। राप्रपाले उठाएका अजेन्डामा रहेर आफूले नगरको विकास गर्ने बिष्ट बताउँछन्। उनी भन्छन्, 'मैले मेयर जितेमा कीर्तिपुर नगरपालिकाको काया पलट गरिदिन्छु। यहाँको शिक्षा, स्वास्थ्यलगाएतका क्षेत्रमा उल्लेखनीय काम गर्नेछु।’

राप्रपाले भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने, कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने, सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक धारको विद्यालय, सबै विद्यालयमा अनिवार्य कम्प्यूटर शिक्षा सबै नागरिकलाई अनिवार्य निःशुल्क स्वास्थ बीमा गर्ने नीति लिएको छ। यही नीतिअनुरुप आफूले कीर्तिपुरमा काम गर्ने उनको भनाइ छ।

‘हाम्रो पार्टीले उठाएका एजेन्डाअनुसार नै म अघि बढ्नेछु,’ उनले भने, ‘मलाई जनताले भोट दिएर जिताउनु हुनेछ।’ स्थानीय तहको निर्वाचन २०७४ मा कीर्तिपुर नगरपालिकामा २८ हजार १ सय १ मतदाता रहेका थिए भने ३० हजार ३ सय २८ मतदाता अहिले छन्।

प्रकाशित: २६ वैशाख २०७९ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App