१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगरको गुमेको शाख फर्काउने प्रतिबद्धता

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागि विराटनगर महानगरपालिकाका मेयरका प्रत्यासीहरू। तस्बिर: विनोद/नागरिक

विराटनगर महानगरपालिकाका मेयरका प्रत्यासीहरूले विराटनगरको गुमेको शाख फर्काउने प्रतिबद्धता जनाएका छन्। मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको  समृद्धिका लागि अर्थव्यापार संवादमा  सहभागि मेयरका प्रत्यासीहरूले विराटनगरको गुमेको शाख फर्काउने प्रतिबद्धता जनाएका हुन्।  

कार्यक्रममा ५ दलीय गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी नागेश कोइरालाले आफू मेयरका निर्वाचित भएर आएपछि औद्योगिक नगरीका रुपमा परिचित विराटनगरको शाख फर्काउने प्रतिबद्धता जनाए। उनले विराटनगरका बन्द भएका पुराना ठूला र घरेलु उद्योग पुन: सञ्चालनको वातावरण बनाउने दाबी गरे। कोइरालाले भने, ‘विराटनगरका बन्द भएका पुराना ठूला, मझौला र साना उद्योगहरू  पुनः सञ्चालन गर्ने, विराटनगरको औद्योगिक क्षेत्रलाई व्यवस्थित पार्ने, विराटनगरमा उद्योग सञ्चालनको वातावरण बनाउने संघीय सरकारसँग पहल गर्ने छु।’ उनले विराटनगरको गिरेको साख फर्काएर औद्योगिक क्षेत्रमै पछि परेको विराटनगरलाई पुनः स्थापित गर्ने प्रतिबद्धता जनाए।  

नेकपा एमालेबाट विराटनगर महानगरपालिकाका मेयरका उमेदवार सागर थापाले माइग्रेट भइरहेको विराटनगरलाई भाइव्रेट बनाउने आफ्नो योजना रहेको बताए। उनले विगतको राजनीतिले भाइब्रेट विराटनगरलाई माइग्रेट बनाएका कारण अब, मेयरमा निर्वाचित भएर आएपछि माइग्रेट विराटनगरलाई भाइब्रेट बनाउने योजना रहेको जानकारी दिए। 

थापाले भने, ‘विगतको राजनीतिक नेतृत्वले विराटनगरको शाख गुमेका कारण अब, विराटनगरको शाख फर्काउने गरी काम गर्ने योजना छ।’ राप्रपा नेपालबाट विराटनगर महानगरपालिकाको मेयरका उमेदवार प्रह्लाद साहले विगतमा आफूले दुई पटक विराटनगरको मेयरको कार्यभार सम्हालेको बताउँदै त्यतिवेला आफूले ल्याएको योजनालाई पुन: स्थापित गर्ने बताए। 

साहले विराटनगर, इटहरी र धरानलाई  जोडेर औद्योगिक करिडोर बनाउने आफ्नो योजना मेयरमा निर्वाचित भएपछि कार्यान्वयनमा लैजाने स्पष्ट पारे। उनले आफू विराटनगरको गुमेको साख जोगाउन सक्षम रहेको दाबीसमेत गरे।  

विवेकशिल साझा पार्टीबाट मेयरका उमेदवार अमलेश कर्णले विराटनगरको उद्योग व्यवसायलाई तीन भागमा विभाजन गरेर सबै क्षेत्रलाई समेट्ने गरी आर्थिक निती ल्याउने आफ्नो योजना रहेको बताए। 

स्वतन्त्रबाट मेयरका उमेदवार उमेश यादवले विराटनगरको व्यपारमा खुल्ला वोर्डर समस्या रहेकाले खुल्ला बोर्डरबाट हुने चोरी निकासी नियन्त्रण गर्ने, विराटनगरको गुमेको शाख फर्काउन आर्थिक क्षेत्रका विज्ञहरूसँग छलफल गरी कार्ययोजना कार्यान्वयनमा ल्याउने, करमा सहुलयित दिने र उद्योग व्यवसायमा निजी क्षेत्रलाई आकर्षित गरेर विराटनगरको गुमेको शाख फर्काउने योजना रहेको बताए। कार्यक्रममा मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष अनुपम राठीले विराटनगरको औद्योगिक शाख फर्काउने विषयमा मेयरका प्रत्यासीका योजनाहरूबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए।

प्रकाशित: २६ वैशाख २०७९ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App