नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले पाँच दलिय गठबन्धनलाई अलच्छिनाको संज्ञा दिएका छन्। एमाले नेतृत्वको सरकारले अघि सारेका आयोजनाहरुको बजेट वर्तमान सरकारले कटौती गरेको भन्दै उनले गठबन्धनलाई अलच्छिनाको संज्ञा दिएका हुन्।
नेकपा एमाले रुपन्देहीले बुटवलमा गरेको आम सभामा आफ्नो दलका चुनावी एजेण्डा प्रस्तुत गर्नुको साटो उनले गठबन्धनका दलहरुलाई नै गाली गर्न धेरै समय खर्चिएका थिए। ओलीले गठबन्धन बनेपछि देशमा अलच्छिन् पसेको बताए।
‘हामीले अघि सारेका योजना र कार्यक्रममा यसमा पनि पैसा छैन, त्यसमा पनि पैसा छैन भनेका छन्, एमालेले कहिल्यै त्यसो गरेन,‘गठबन्धन आएपछि देशमा अलच्छिन् पस्यो’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने। वैशाख ३० गतेको चुनावमा गठबन्धनका नेतालाई जनताले जरादेखि टक्टक्याएर फ्याँक्ने दावी उनले गरे। गठबन्धनलाई उनले सत्ता स्वार्थका लागि बनेको आरोप पनि लगाए।
गठबन्धनलाई जनताले मतलबै नराखेको र एमालेको पक्षमा जनलहर उर्लेको उनको दावी थियो। चुनाव हार्ने डरले सत्ता गठबन्धनका दलहरु धम्कीको भाषा बोल्न थालेको आरोप लगाउँदै उनले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित बनाउन निर्वाचन आयोगलाइ आग्रह गरे। प्रहरी सेना र कर्मचारीलाई समेत उनले तटस्थ रहेर निर्वाचनलाई शान्तिपूर्ण र स्वतन्त्र बनाउन आग्रह गरे।
गठबन्धनलाई उनले करङ निस्किएको बच्चा जस्तो भन्दै टिप्पणी गरे। ‘यो गठबन्धन करङ निस्किएको बच्चा जस्तो,देशै करङ निस्किएको बच्चा जस्तो,बाहिरैबाट करङ कन्न सकिने भएको छ’ ओलीले भने।
आफू प्रधानमन्त्री छँदा संविधान विपरित गरेको प्रतिनिधि सभा बिघटनबारे प्रष्टिकरण दिँदै ओलीले संविधानको रक्षा गर्न र जनताको अधिकार रक्षाकालागि चुनावमा जाने निर्णय गरेपनि सर्वोच्चको परमादेशले नयाँ सरकार बनेको उल्लेख गरे। एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले कांग्रेस लामो इतिहास भएको पार्टी भएपनि आफ्ना एजेण्डा नभएको आरोप लगाए।
कांग्रेससंग दीर्घकालीन योजना नभएकाले गठबन्धनको साथ लिएर मत माग्न हिँडेको आरोप भुसालले लगाएका हुन्। आफ्नै गृह जिल्ला तथा क्षेत्रमा भएको आमसभामा पनि उपाध्यक्ष बिष्णु पौडेलले भने सम्बोधन गरेनन्।
प्रकाशित: २५ वैशाख २०७९ १५:३२ आइतबार