१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

उम्मेदवारसँग मतदाता माग्छन्: पूर्वाधारसँगै आर्थिक विकास

स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा गाउँदेखि शहरसम्म सरगर्मी बढिरहेको छ। साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आ-आफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन्।

निर्वाचनमा प्रमुख प्रतिस्पर्धा हुने आंकलन गरिएको नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन र नेकपा (एमाले) चुनाव जित्ने आआफ्नै आधार दाबी जनताको बीचमा पेश गरेका छन्। निर्वाचनको समयमा घरदैलोमा आउने उम्मेदवार तथा दलका नेताहरूलाई मतदाताले खुलेर आफ्नो धारणा राख्न थालेका छन्।

‘निर्वाचनको बेला दैलोमा आएका नेतालाई अहिले आफ्ना भनाइ नराखे कहिले राख्ने?’, बागलुङ नगरपालिका–५ मालिकाका सुन्दर रेग्मीले सुझावसहित भनाइ राख्दै भने, ‘हामीले सुनाएका गुनासा, योजना र समस्या यहाँहरूका नीति तथा कार्यक्रममा समेटिनु आवश्यक छ।’

देशमा रोजगारी अभावका कारण विदेशिएका युवा, विदेशमा भोगेको दुःख र स्वदेशमा गर्न सकिने कामका विषयमा युवा मतदाताले सुझाउने गरेका छन्। घरदैलोमा रहेका उम्मेदवारलाई पूर्वाधार विकासको विषयमा सुझाउने मतदाता यसपटकको निर्वाचनको समयमा भने आर्थिक विकासको विषयमा समेत सुझाउँछन्।

‘मैले सवारी चढ्दा हरेकपटक करसहितको भाडा तिरिरहेको छु, मलाई थाहा छैन, नेपालमा कहीं कतै सवारी भाडाबाट कर संकलन भएको’, रेग्मीले बागलुङ नगरपालिकामा प्रमुखका उम्मेदवार जनकराज पौडेललाई सुझाव दिंदै भने,‘त्यही भाडामा मैले कोचाकोच भएर हिंड्नुपर्छ, कर जोडेर तिर्नुपर्छ भने नगरले त्यो सवारीसाधनबाट कर किन नलिने।’

‘कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, पूर्वाधार निर्माण र मानव संशाधन विकासबाट हामीले समृद्ध बागलुङको सपना देखेका छौं, सोहीअनुसारका सुझाव आइरहेका छन्, एमालेको तर्फबाट बागलुङ नगरपालिकाका उम्मेदवार जनकराज पौडेलले भने, ‘जनताका माग एकदमै ठिक छन्, हिजो सडक, पानी, बिजुली मात्रै माग्नेहरू अहिले कृषि, पर्यटन, पशुपालन र साना उद्योगका कुरा गर्नुहुन्छ।’

घरदैलो अभियानमा रहेका बागलुङ नगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार वसन्तकुमार श्रेष्ठले पनि बागलुङ नगरपालिका–८ सिगाना गाउँमा पुगेर आर्थिक विकासकै लागि धेरै सुझाव पाए। ‘हामीले सुन्तला गाउँ भनेर चिनिएको सिगानाको सुन्तला ब्रान्डिङ गर्छौं’, सर्वसाधारणको सुझावपछि उनले भने, ‘कृषिलाई व्यावसायिक बनाउँदा युवाको परिचालन, रोजगारीको सिर्जना र आयआर्जन बढ्छ।’

बागलुङ नगरले प्रदेश सरकारसँगको सहकार्यमा सुरु गरेको रिङरोड बनाउनेदेखि बलेवा विमानस्थल चलाउनेसम्मका प्रतिबद्धता सबै उम्मेदवारका दस्तावेजमा छन्। पर्यटनको हब बागलुङलाई बनाउने भनेका दल तथा उम्मेदवारले जनताको आर्थिक विकासका माग सम्बोधन गर्न नै ती योजना आएको बताउँछन्।

सडकमा केन्द्रित मानसिकता सामाजिक विकास र आर्थिक विकासतर्फ मोडिएको जैमिनी नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार लीला रानाले बताए। गठबन्धनको तर्फबाट जैमिनी नगरपालिकाको प्रमुखका उम्मेदवार नरबहादुर पुनले सर्वसाधारणको मागकै आधारमा हरक्षेत्रको विकासमा विज्ञको प्रयोग गरेर योजना बनाउने, गुरुयोजना तयार गरेर दीर्घकालीन योजना सञ्चालन गर्ने लक्ष्य रहेको बताए।

प्रकाशित: २४ वैशाख २०७९ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App