१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कीर्तिपुरका लागि यस्तो छ दलीय प्रतिबद्धता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार आफ्नो घोषणापत्र लिएर भोट माग्दै घरदैलो अभियानमा छन्। उमेदवारहरूले आफ्नो घोषणा पत्रमा विभिन्न विकासका योजनासँगै कीर्तिपुरको मौलिक संस्कृतिलाई जोगाउने प्रतिबद्धता जनाएका छन्।

मुख्यगरी कांग्रेस, एमाले र माओवादी केन्द्रले कीर्तिपुरको मौलिक संस्कृति जोगाउनका लागि आ–आफ्ना योजना उल्लेख गरेका छन्। सरकारले कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा सांस्कृति संग्रालय बनाउने काम अघि बढाइरहेको छ भने कीर्तिपुर नगरपालिकाले कीर्तिपुरको स्थापना, सभ्यता, संस्कृतिलगायत इतिहासलाई समेटेर ‘कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याएको छ। लिच्छवीकालको उतराद्र्धमा करिब ११औं शताब्दीमा शिवदेव तृतीयले स्थापना गरेको उक्त स्थानमा पाइएका लिपी, शिलापत्र, ताम्रपत्रको अध्ययनका आधारमा संस्कृतिको अनुसन्धान समावेश गरी कृति प्रकाशन गरेको छ।

राजनीतिक दलका नेताहरूले सार्वजनिक रूपमा सांस्कृतिक क्रान्ति, पर्यावरण क्रान्ति, आर्थिक क्रान्ति गर्नुपर्ने बताइरहेका हुन्छन्। समाज एउटा सुमधुर ढंगबाट अघि बढ्नका लागि संस्कृतिको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ। नेकपा एमालेले आफ्नो घोषणापत्रमा चम्पादेवी र जलविनायक क्षेत्रमा प्राकृतिक र पर्यावरणीय स्वरूप नबिग्रने गरी उद्यान र पार्क निर्माण गरिने उल्लेख गरेको छ।

एमालेले पुष्पलाल पार्कदेखि चम्पादेवी हुँदै कुलेखानीसम्म ट्रेकिङ रुट निर्माण गर्न अन्तरपालिका समन्वय गरी बनाइने नीति लिएको छ। कीर्तिपुरको नेवारी खानालाई प्रवद्र्धन गर्ने, सांस्कृतिक पर्वहरूलाई थप व्यवस्थापन गरिने, कीर्तिपुरका मौलिक र काष्ठकलायुक्त स्थलमा चलचित्र छायांकनलाई प्रोत्साहन गर्ने नीति एमालेले लिएको छ। एमालेको कीर्तिपुर सांस्कृतिक संग्रहालय स्थापना र सञ्चालनमा जोड दिइने नीति छ।

कांग्रेसले ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने, मौलिक संस्कृतिको प्रचार गर्दै पर्यटकीय नगरी बनाउने, कीर्तिपुर नगरपालिकाभित्र दाफा (संस्कृति) को संरक्षण सम्वद्र्धनका लागि दाफा अनुसन्धान केन्द्र स्थापना गर्ने नीति लिएको छ। ऐतिहासिक वस्तीमा तत्तत् क्षेत्रको संस्कृति झल्किने गरी होमस्टे सञ्चालन गर्ने लगाएतका प्रतिबद्धता कांग्रेसले लिएको छ।

माओवादी केन्द्रले चम्पादेवीमा निर्माणाधिन राष्ट्रिय संग्राहलयको कार्य योजना पूरा गर्ने र कीर्तिपुर तथा चोभार क्षेत्रमा स्थानीय समुदायसँग समन्वय गरी सांस्कृतिक, प्राकृतिक संग्रहालय स्थापना गर्ने नीति लिएको छ। कीर्तिपुर नगर संस्कृति संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ को प्रभावकारी कार्यन्वयन गर्ने नीति यो पार्टीको रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले संस्कृतिको संरक्षणको संधै पक्षधर भएको जनाए पनि कुनै योजना बाहिर ल्याएको छैन। राप्रपाले भ्रष्टचारमुक्त स्थानीय तह बनाउने, कक्षा १२ सम्म निशुल्क शिक्षा दिने, सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक धारको विद्यालय, सबै विद्यालयमा अनिवार्य कम्प्यूटर शिक्षा सबै नागरिकलाई अनिवार्य निःशुल्क स्वास्थ बीमा गर्ने नीति लिएको छ।

कीर्तिपुर नगरपालिकामा बाघभैरवका साथै उमामहेश्वर, नारायण, सरस्वती र इन्द्रायणी मन्दिरले धार्मिक रूपमा विशेष महत्व बोकेका छन्। परम्परादेखि चल्दै आएको गाईजात्रा, गणेशजात्रा, कुमारीजात्रा, बाघभैरवजात्रा, इन्द्रायणीजात्रा, सात गाउँले, पाँगाको जात्रा, दशैं, तिहार यहाँको महत्वपूर्ण पर्व हुन्।  परम्परागत लाखेनाँच, देवीनाचजस्ता अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने अवस्था रहेको नगर प्रमुखका उमेदवारहरू चुनावी भाषणमा बताउने गर्छन्। अहिले यहाँ लोपोन्मुख संस्कृति र सम्पदामाथिको अनुसन्धान प्रोत्साहित गर्नुपर्ने अवस्था छ।  किरात, लिच्छवी, मल्लकालीन इतिहाससमेत कीर्तिपुरमा भेटिएको इतिहासकारहरू बताउँछन्।

प्रत्येक पार्टीले आफ्नो प्रतिबद्धतापत्रमा महत्वकांक्षी योजना प्रस्तुत गरेका छन्। अमूल्य मतको कुनै पनि अवमूल्यन हुन नदिने वाचा उनीहरूले गरेका छन्। संस्कृति, पर्यटनसँग सम्बन्धित प्रतिबद्धताका साथै शिक्षासँग सम्बन्धित प्रतिबद्धता, स्वास्थ्यसँग सम्बन्धित प्रतिबद्धता, भौतिक पूर्वाधार विकाससँग सम्बन्धित प्रतिबद्धता, खेलकुद र अन्य प्रतिबद्धता, कृषि तथा पशु र खानेपानी, सुशासनसम्बन्धी पनि आ–आफ्ना प्रतिबद्धता उनीहरूले गरेका छन्। 

एमालेले विकासका नाराहरू बनाएको छ।  स्वस्थ्य आहार, स्वस्थ्य बिहार, सफा टोल, राम्रो आनीबानी, समानतातर्फको महिला यात्रा, खुसी जेष्ठ नागरिक, सुखी बालबालिका, आपांगमैत्री नगरपालिका भन्ने नारा लिएको छ। सबल राष्ट्रका लागि स्वस्थ्य र सिर्जनात्मक युवा भन्ने नारा लिएको छ।  यो पार्टीले कक्षा ११ र १२ लाई निःशुल्क गर्ने नीति लिएको छ। विपद् व्यवस्थापन कोष स्थापना गरिने नीति यसले लिएको छ।

कीर्तिपुर अस्पतालमा निःशुल्क ‘वर्थिङ सेन्टर’ को व्यवस्था गरिने नीति एमालेको छ। कीर्तिपुर रिङरोड र कलंकी रिङरोड जोडने ट्याङ्ला फाँटका दुई ठूला सडकको सडकपेटी सहित स्तरोन्नति गरी सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने व्यवस्था गरिने नीति पनि एमालेले लिएको छ।

कांग्रेसले गरेका अन्य प्रतिबद्धताहरूमा कीर्तिपुर नगरपालिकाका सबै वडामा स्वास्थ्य खानेपानी लागि एक घर एक धाराको व्यवस्था गर्ने, कीतिपुर नगरपालिकाका सबै वडामा रहेका अव्यवस्थित र कच्ची सडकलाई स्तरोन्नति गरी ढल निकास सहित कालोपत्रे वा ढलान गर्ने व्यवस्था मिलाउने, साँघुरा सडकको सम्बोधनार्थ विश्वका पुराना सहरका प्रविधिहरूको अध्ययन गरी सोही अनुरूप दमकलका लागि फायर हाइड्रयान्ट सिष्टम जडान गरिने कांग्रेसले नीति लिएको छ।

कीर्तिपुर नगरभित्र रहेका खोलानाला नदी, पाटी, पौवा दाहसंस्कार स्थल, पार्क स्मारकको सरसफाइ संरक्षण र सम्बद्र्धन तथा तिनीहरूको सौन्दर्यकरण गर्ने व्यवस्था मिलाइने नीति पनि कांग्रेसले लिएको छ। माओवादी केन्द्रले आफूलाई भोट दिनुपर्ने कारण उल्लेख गरेको छ। उसले जसको जित उसको नेतृत्व स्थापित गर्ने, टोल टोलमा सहकारी घरघरमा रोजगारी नारा साकार पार्न, कीर्तिपुरलाई स्वच्छ, सफा र वातावरणमैत्री सांस्कृतिक नगरका रूपमा विकास गर्न, संघीयताको मर्म बमोजिम गाउँगाउँमा सिंहदरबारको नारा कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ।

प्रतिगमनबाट लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्नका लागि पनि माओवादीलाई भोट दिनुपर्ने माओवादीको दाबी छ। माओवादीले ई–गभर्नेन्स पद्धतिमार्फत वडास्तरबाटै दैनिक सेवा सर्वसुलभ बनाउने नीति लिएको छ भने सबै वडामा इ–लाइब्रेरीको स्थापना गर्ने नीति लिएको छ। सार्वजनिक स्थानमा सिसिटिभी र फ्रि वाइफाइको व्यवस्था गर्ने नीति यो पार्टीले लिएको छ। सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक र अपांगताहरूलाई घरघरमा वितरण गर्ने, एक घर एक रोजगारको अभियान सञ्चालन गर्ने नीति यो पार्टीको रहेको छ।

प्रकाशित: २३ वैशाख २०७९ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App