४ वैशाख २०८१ मंगलबार
राजनीति

वडाध्यक्षमा ज्वाँई–जेठानको रोचक भिडन्त

स्थानीय तह निर्वाचन

धरान वडा ६ मा वडाध्यक्षका उम्मेदवार जेठान हरि राई (बाँया) र गठबन्धनबाट कांग्रेसका उम्मेदवार ज्वाँई कृष्ण राई, भुपाल (दाँया)। तस्बिरः रोहित राई

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त हुँदैछ।

वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई। उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल)। गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आफ्नै कान्छी बहिनी लक्ष्मीका श्रीमान् अर्थात कान्छा ज्वाँई हुन्।  

निर्वाचनको बेला अलग अलग पार्टीका नेता, कार्यकर्ताहरुबीच आरोप प्रत्यारोप, घोचपेच र बोलचाल नै पनि बन्द हुने गर्छ। कतिपय ठाउँमा झगडा नै पनि पर्छ। यहाँ त झन् प्रमुख प्रतिस्पर्धी दलबाटै ज्वाँई र जेठान चुनावी मैदानमा छन्। तरपनि उनीहरुबीच सम्बन्धमा कुनै कटुता आएको छैन। दुवै जनाको कुरामा समानता छ, ‘हामी व्यक्तिगत लडाईमा छैनौ, समाज बनाउने र वडाको समग्र विकास गर्ने प्रतिस्पर्धामा छौ। त्यसैले व्यक्तिगत गालीगलौचमा उत्रदैनौं।’

अर्को रोचकता के पनि छ भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु वडा सदस्य पदमा एमाले र कांग्रेसबाट उठेका थिए। त्यसबेला एमालेको प्यानलै विजयी भएको थियो। उक्त जित हारले पनि दुवैको पारिवारिक सम्बन्धमा दरार आएन। जेठान हरि भन्छन्,‘राजनीति समाजलाई राम्रो बनाउन, विकास गर्नको लागि गर्ने हो। मैले ५ वर्षमा के गरे, त्यो मतदातालाई भन्ने हो। गालीगलौज गर्नुपर्दैन, र त्यो खालको राजनीति गर्नुपनि हुन्न। त्यसैले हामीमा कुनै समस्या छैन।’

उनले आफू ५ वर्ष वडा सदस्यको रुपमा गरेको कामको मूल्यांकन गरेर पार्टीले वडाध्यक्षको टिकट दिएको र मतदाताहरुले पनि त्यसरी नै मूल्यांकन गरेर मत दिने दाबी गरे। आफन्तजनहरुले पनि स्वविवेक प्रयोग गरेर मतदान गर्ने उनको भनाई छ।  

गठबन्धनका उम्मेदवार कृष्णलाई भने टिकट दिने बेला पार्टीले ज्वाँई जेठानको सम्बन्ध देखाएर प्रश्न गरेको थियो। तर, उनले नाता सम्बन्ध भएपनि राजनीतिक विचार, आस्था अलग अलग भएकोले कुनै समस्या नहुने भनेर नेताहरुलाई बुझाए पछि टिकट पाएका थिए। ‘जेठानलाई मात्र होइन, कुनै पनि पार्टीको उम्मेदवारलाई जथाभावी गाली किन गर्ने ? तर मैले उहाँको कार्यकाललाई प्रश्न गरेको छुँ, कि ५ वर्षको बजेट कता कता गयो भनेर,’उनले भने,‘एजेण्डामा प्रश्न गर्ने हो। पाँच वर्षमा खानेपानी समस्या किन हल भएन भनेर सोधेको छुँ।’

आफन्तजनहरुले दुवै जना एउटै पदमा उम्मेदवार भएर अफ्ठेरो भएको भन्ने गरेको पनि गठबन्धनका उम्मेदवार कृष्णले बताए। त्यसबेला जेठानको ५ वर्ष कार्यकाल मूल्यांकन गर्न आफुले आग्रह गर्ने गरेको उनले बताए। ‘अफ्ठेरो भयो भन्नुहुन्छ, म उहाँहरुलाई जेठानले एक कार्यकाल काम गर्नुभयो, त्यो मूल्यांकन गर्नुस् भन्छु। मैले जनप्रतिनिधि नहुँदा पनि के गरेको छुँ, त्यो पनि मूल्यांकन गरेर भोट दिनुस् भन्छुँ,’ उनले भने।

दुवैको एजेण्डा, खानेपानी र लागुऔषध समस्या हल गर्ने  

वडाध्यक्षको चुनावी मैदानमा होमिएका ज्वाँई र जेठानको चुनावी एजेण्डा अधिकांश समान छन्। दुवैले वडालाई लागुऔषध दुर्व्यसन मुक्त बनाउने र युवाहरुलाई रोजगारीमुलक सिप सिकाउने, खानेपानीको दीगो व्यवस्थापन गर्ने एजेण्डालाई प्राथमिकताका दिएका छन्।

एमालेका उम्मेदवार हरि युवा पुस्तालाई दुर्व्यसनमुक्त गरेर सही बाटोमा हिडाउन योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने बताउँछन्। बालबालिका र किशोरहरुलाई कुलतमा फस्न नदिन टोल टोलमा मिनि बाल क्लब बनाउने र विदाको दिन पनि बाल क्लब जाउँ भन्ने वातावरण तयार गर्ने उनले बताए। ‘५ वर्षपछि युवा हुन्छन्। उनीहरुलाई सिप दिन्छौं, र युवाहरु रोजगारमुखी हुन्छन्,’उनले भने,‘भौतिक पूर्वाधार विकास, खानेपानीको सहज व्यवस्थापन, अर्गानिक कृषि उपजलाई प्राथमिकतालगायत एजेण्डा छन्।’

गठबन्धनका उम्मेदवार कृष्ण पनि आफ्नो पहिलो प्रथामिकता वडामा माग बमोजिमको खानेपानी आपूर्ति र वितरण रहेको बताउँछन्। पछिल्लो समय लागुऔषध दुर्व्यसनको समस्या बढीरहेको भन्दै उनले युवाहरुलाई कुलतबाट जोगाउन बिशेष योजना बनाउने बताए। पुर्व फुटबल खेलाडीसमेत रहेका उनले खेलकुदको विकासमा प्राथमिकता दिँदै युवाहरुलाई विभिन्न खेलमार्फत सही बाटोमा हिँड्न प्रेरित गर्ने पनि बताए। ‘डिप बोरिङ गरेर पानीको आपूर्ति बढाउनेछुँ। खेलकुदको पुर्वाधार विकास र व्यवसायिक खेलाडी उत्पादन गरेर युवाहरुलाई कुलतबाट जोगाउन पहल गर्नेछुँ,’उनले भने,‘शिक्षाको पुर्वाधार र गुणस्तर विकासमा ध्यान दिनेछुँ। सुकुम्बासीहरुलाई सुरक्षित बास र सेवा, सुविधा पुर्याउनेछुँ।’

प्रकाशित: २२ वैशाख २०७९ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App