४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागी उम्मेदवारविरुद्ध एमालेको ‘डन्डा’

पार्टी निर्णयविपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका पार्टी नेता–कार्यकर्तामाथि इलाम नेकपा (एमाले)ले कारबाहीको ‘डन्डा’ चलाउन थालेको छ। एमालेले बागी उम्मेदवारलाई पार्टीबाट निस्काशित गर्दै उनीहरूलाई यसअघि दिइएको जिम्मेवारीबाट मुक्त गर्न थालेको हो।

एमालेले पार्टीको इलाम नगर सचिवालय सदस्य योगेन्द्र आचार्यलाई जिम्मेवारीबाट हटाउँदै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निस्काशन गरेको छ। आचार्यले पार्टी निर्णयविपरीत वडा–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकाले पार्टीबाट निस्काशन गरिएको एमालेले जनाएको छ।

इलाम नगरपालिका–८ को वडा सदस्य पदमा उम्मेदवारी दिएका कुमार राई, त्यही वडाको सदस्यमै उम्मेदवारी दिएका मेखबहादुर विष्ट र पार्टीका उम्मेदवारविरुद्ध प्रचारमा हिँडेका यही वडाका ऋतुनाथ बाँस्तोलाको पार्टी सदस्यता खारेज गरेको एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। ‘पार्टीको अनुशासनविरुद्ध कार्य गर्नेहरूलाई पार्टीले कारबाही गरिरहेको छ र गर्नेछ,’ सुवेदीले भने।

यसअघि एमालेले इलाम नगरपालिका–९ का पार्टी अध्यक्ष शेरबहादुर खड्कालाई जिम्मेवारीबाट हटाउँदै पार्टीबाट निस्काशन गरेको थियो।

प्रकाशित: २२ वैशाख २०७९ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App