६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीयतह निर्वाचन २०७९ः रामधुनीमा काँग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीको रामधुनी नगरपालिकामा नेपाली काँग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।  

रामधुनीमा नेपाली काँग्रेसका तर्फबाट मेयरमा सुदिप अधिकारी र एमालेका तर्फबाट शंकरलाल चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो। उपमेयरमा काँग्रेसकै आशा चौधरी र एमालेकी तारा थापाबीच प्रतिस्पर्धा हुने भएको छ।

यहाँ एकीकृत समाजवादी पार्टीबाट मेयरमा सीताराम घिमिरे र उपमेयरमा सीता चौधरी मतदाता समक्ष मत माग्न घरदैलो अभियानमा सक्रिय छन्। राप्रपाबाट सतनारायण चौधरी मेयर र उपमेयरमा सीता नेपाल पौडेल चुनावी मैदानमा छन्। यस्तै, माओवादी केन्द्रबाट मेयरमा चन्द्रकुमार चौधरी र उपमेयरमा श्यामकुमारी साह उम्मेदवारी बनेर मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय छन् ।  

यहाँ रहेका राजनीतिक दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धाम उत्रिएकाले गर्दा आफ्नो मुख्य प्रतिस्पर्धा एमालेसँगै हुने काँग्रेसका मेयरका उम्मेदवार अधिकारीले बताए। उनका अनुसार काँग्रेसको मेयर र उपमेयरसँगै एउटा वडाबाहेक सवै स्थानमा एमालेसँग प्रतिस्पर्धा हुने छ। वडा नं. ९ मा भने वडाध्यक्षका लागि एकीकृत समाजवादीसँग प्रतिस्पर्धा हुने अधिकारीले बताए।

एमालेका मेयर पदका उम्मेदवार चौधरीले पनि मुख्य प्रतिस्पर्धा काँग्रेससँग हुने र काँग्रेसले पाँच वर्षको नेतृत्व लिँदा कछुवाको गतिमा काम गरेकाले गर्दा चुनाव जित्नेमा आशावादी रहेको बताए।  

यहाँ वडा नं. १, २ र ९ मा थारु बाहुल्यता छ। अरु वडामा मिश्रित समूदायको बसोबास छ। जसले गर्दा रामधुनीको निर्वाचनमा जातीय मतले असर गर्ने गर्छ। यही भएर  काँग्रेस र एमाले दुवै सचेत ढंगले अघि बढेका छन्।  

२०७४ को स्थानीय तहको निर्वाचनमा रामधुनी नगरपालिकामा काँग्रेसले प्रमुख पदमा जितेको थियो। काँग्रेसले तीन वडाध्यक्ष र १३ जना सदस्य जितेको थियो। एमालेबाट उपप्रमुखसहित छ जना वडाध्यक्ष र २३ जना सदस्य जितेको थियो। २०७४ सालमा रामधुनीमा ३० हजार ३५६ जना मतदाता थिए। यसपटक ४१ हजार ४७८ जना मतदाता छन्।

प्रकाशित: २० वैशाख २०७९ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App