३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोट माग्न घरदैलो अभियानमा बैतडीका उम्मेदवार

दशरथचन्द नगरपालिका मेयरका प्रत्यासी गजेन्द्रसिंह रावल र उपमेयरकी प्रत्याशी कौशिला चन्द मतदातासँग मत माग्दै। तस्बिरः नागरिक

आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न घरदैलो अभियान सुरु गरेका हुन्।

दशरथचन्द नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गजेन्द्रसिंह रावल र उपप्रमुखका उम्मेदवार कौशिला चन्द पार्टीका नेतासहित वडावडामा घरदैलो अभियानमा छन्। मतदाताको घरघरमा पुग्न थालेको मेयरका उम्मेदवार रावलले बताए। मतदाताको घरमा पुगेर उनीहरुका समस्या बुझ्ने, सुन्ने र उनीहरुको चाहना अनुसार काम गर्ने विश्वास दिलाउँदै मत मागिरहेको उनले बताए। नगरपालिकाको मुहार फेर्न आफूले उम्मेदवारी दिएको उनले बताए। निर्वाचित भएमा प्रतिबद्धता अनुसार काम गर्ने उनी बताउँछन्।

त्यसैगरी एमालेबाट मेयरका उम्मेदवार पुष्कर जोशी, उपमेयरकी उम्मेदवार सरस्वती नेपाली पनि घरदैलो अभियानमा छन्। १० वटा स्थानीय तह रहेको बैतडीमा उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेपछि गाउँघरमा चहलपहल बढेको छ। गठबन्धन गरेका दलहरुले एक्लाएक्लै र संयुक्त रुपमा आमभेला, भेटघाट गरेर मतदातासँग भोट माग्न थालेका छन्। सत्ता साझेदार दलहरुले जिल्लाका ५ वटा स्थानीय तहमा गठबन्धन गरेका छन्। ति स्थानीय तहमा संयुक्त प्रचार अभियान सञ्चालन गरिएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए।

वडा सदस्यदेखि पालिका प्रमुखसम्मले आ-आफ्ना अजेण्डा सार्वजनिक गर्दै जनतासँग मत माग्न थालेका छन्। अहिले गठबन्धन र एमालेले सामाजिक सन्जालको भरपुर उपयोग गरेर चुनावी प्रचारमा दलका उम्मेदवार लागेका छन्। गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल ह्वात्तै बढेको छ। दलहरू प्रचारप्रसारमा नयाँनयाँ शैली अपनाइराखेका छन्। उम्मेदवार घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन्। स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारीले समेत आफ्नो चुनाव चिह्न लिएर मत माग्न व्यस्त देखिएका छन्।

उम्मेदवारहरु घर आगँनमा आउँदा र उनीहरुका योजना सुन्दा मतदातालाई केही गर्छन् कि अब जस्तो पनि लाग्छ। तर विगतका अभ्यास सम्झँदा प्रायःजसो उम्मेदवार चुनावमा मत माग्न मात्रै आउने र त्यसपछि हराउने गरेको स्थानीयको अनुभव छ।

चुनावमा मतदातालाई विश्वस्त पार्दै आफ्ना योजना सुनाउने माध्यम घरदैलो भएको कांग्रेसबाट मेयरको उम्मेदवार बनेका पुर्चौडी नगरपालिकाका दिपकबहादु बमले बताए। नगरको चौतर्फी विकास र जनताका हरेक समस्या सामाधान गर्न आफूले उम्मेदवारी दिएको उनले बताए। आश्वासन मात्र होइन काम गरेर देखाउने मेयरका उम्मेदवार बमले बताए।

उम्मेदवारहरु जनतालाई रिझाउन विभिन्न किसिमका आश्वासन बाँडिरहेका छन्। दोहोर्‍याएर उम्मेदवारी दिएका उम्मेदवारले पहिलो कार्यकालमा गर्न नसकेको काम दोस्रो कार्यकालमा गर्ने जनतासँग वाचा गरेर मत माग्दै छन्। नयाँ उम्मेदवारले बितेको ५ वर्षमा पालिकामा विकासभन्दा भ्रष्टाचार मौलाए यस्ता विकृति अन्त्य गर्न आफूलाई मत दिन भनिरहेका छन्।

प्रकाशित: २० वैशाख २०७९ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App