देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्विरोध निर्वाचित हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेको जानकारी दिएका छन्।
यस्तै, आसन्न स्थानीय तह निर्वाचनमा १७० दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ। कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १७० पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो।
यस्तै निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न आग्रह गरेको छ।
प्रकाशित: १९ वैशाख २०७९ ११:२३ सोमबार