५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपा कास्कीको घोषणापत्रः रेल होइन, निःशुल्क शिक्षा र चक्रपथको योजना

नेकपा एमाले र पाँचदलीय गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा मेट्रो र मोनोरेल गुडाउने सपना बाँडिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफनो घोषणापत्रमा भने त्यस्ता महत्त्वाकांक्षी योजनालाई समेटेको छैन। राप्रपाले आफनो घोषणापत्रमा महानगरपालिकामा भएका अनावश्यक कर्मचारीलाई अवकाश दिई खर्च कटौती गर्ने उल्लेख गरेको छ। कर्मचारी कटौती मात्रै नभई अनावश्यक सुविधा समेत कटौती गर्ने लक्ष्य लिएको छ। ‘महानगर कार्यालय भ्रष्टाचार मुक्त गराइने छ,’ राप्रपा पोखरा महानगरको घोषणापत्रमा उल्लेख छ।  

राप्रपा पोखरा महानगरका प्रमुखका उम्मेदवार शंकर खराल र उपप्रमुख रन्जना सेन पौडेलले सार्वजनिक गरेको घोषणापत्रमा शिक्षा क्षेत्रलाई विशेष महत्व दिएको छ। १२ कक्षासम्मको शिक्षालाई निःशुल्क गरिने महानगर प्रमुखका उम्मेदवार खरालले जनाए। विद्यालयमा राष्ट्र शिक्षा र नैतिक शिक्षा लागु गर्ने जनाएको छ। बेरोजगार न्यूनीकरणको लागि आवश्यक प्राविधिक सिपमुलक शिक्षामा जोड दिईने उल्लेख छ।

राप्रपा पोखरा महानगरले पनि अन्य दुई ठूला दलकै झैं पोखराको चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ। महानगर भित्रका ग्रामीण ईलाकाहरुलाई समेटी बृहत चक्रपथ निर्माण गरिने आफनो घोषणा पत्रमा समेटिएको उम्मेदवार खरालले सुनाए। सडकको व्यस्ततालाई मध्यनजर गर्दै भूमिगत मार्ग निर्माणमा पहल गर्ने उदघोष गरेको छ। पोखरामा भूमीगत मार्ग निर्माणको लागि चर्चा गरिएपनि कामको शुरुवात भने भईसकेको छैन्।  

पोखरामा बढ्दै गएको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने, अपांगमैत्री पार्क निर्माण र पार्किङ शुल्क निशुल्क गर्ने घोषणा पत्रमा राप्रपा कास्कीले समेटेको छ। लामो समयदेखि अलपत्र रहेको पोखरा बसपार्कलाई आधुनिक बसपार्क निर्माण गर्ने सपना राप्रपाले पनि देखाएको छ। झण्डै चारदशकदेखि पोखरा बसपार्क सबै राजनीतिक दलको चुनावी अजेण्डा मात्रै बन्दै आएको छ। स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याउने रणनीतिक योजना बनाएको दावी राप्रपा कास्कीले गरेको छ।  

राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीका अनुसार सुत्केरी महिलालाई तीन महिनासम्म ३ हजार रुपैयाँको दरले सुत्केरी भत्ता दिईने छ। सर्वसुलभ स्वास्थ्य सुविधाको लागि महानगरीय अस्पताल निर्माणमा चासो दिदैं सम्पूर्ण स्वास्थ्य चौकीलाई सुविधायुक्त मिनि अस्पतालको रुपमा विकास गर्ने योजनालाई घोषणापत्रमा समेटेको छ। निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने छ। पाँच वर्षमुनिका न्युन आय भएका परिवारका बालबालिकालाई कुपोषण मुक्त बनाउन निशुल्क पौष्टिक आहार वितरण गर्ने उल्लेख गरिएको छ।  

बजार क्षेत्रको अव्यवस्थित विद्युतीय लगायतका तारलाई व्यवस्थित गर्ने तर्फ पनि आफनो चुनावी अजेण्डाको रुपमा अघि सारेको छ। तालचोकदेखि बेगनास तालसम्मको बाटो ६ लेनको बनाउने कार्यलाई अगाडि बढाईने उल्लेख छ। सुकुम्बासी र अवस्थित बस्ती परिवारलाई दीर्घकालिन उचित व्यवस्थापन गरिने समेत जनाएको छ। राप्रपाले अशक्त अपांग तथा बृद्धहरुलाई भत्ता घरघरै पु¥याउने व्यवस्था मिलाउने घोषणा गरेको छ।  

पोखरामा कर व्यवस्थित नहुदाँ सास्ती पाएको व्यवसायीले गुनासो गर्दै आएको छन्। राप्रपाले त्यसलाई पनि सम्बोधन गर्ने प्रयास गर्दै व्यवसायिक कर प्रणालीलाई परिमार्जित गर्ने तर्फ ध्यान दिएको छ। ग्रामीण भूमीकर ५० प्रतिशत र घरबहाल करमा २५ प्रतिशत कटौती गरिने समेत घोषणापत्रमा समेटिएको प्रवक्ता गिरीले बताए। खेलकुद क्षेत्रको पूर्वाधार बिकासमा समेत राप्रपाले चासो दिएको छ। पोखरा–२९ भण्डारढीक खेल मैदानलाई व्यवस्थित बनाउने तर्फ ध्यान दिएको छ। भण्डारढीक खेल मैदानमा बहुउद्देश्यीय कभर्ड हल निर्माणाधिन छ। चार वर्ष अघि शुरु गएिको थियो। तर बजेटकै अभावमा अलपत्र अवस्थामा छ। पोखरालाई खेल पर्यटनसँग जोड्दै राप्रपाले पोखरा–३३ भरतपोखरीमा प्रास्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई तदारुकता साथ कार्य अघि बढाउने उल्लेख गरेको छ।  

आफनो घोषणापत्रमा राप्रपाले दशलाख भन्दा तलको बार्षिक कारोबार गर्ने घरेलु तथा साना उद्योगलाई वार्षिक करमुक्त गरिने घोषणा गरेको छ। आर्थिक अवस्था कमजोर भएका परिवारलाई निर्वाहमुखी भत्ता उपलब्ध गराइने समेत घोषणापत्रमा उल्लेख गरिएको छ। पोखरालाई पर्यटनमैत्री शहर निर्माण गर्ने जनाउँदै राप्रपाले बरपौवा, निर्मलपोखरी, पुम्दीकोट, पञ्चासे, कास्कीकोटको कस्यप ताल, काहुँ, ढिकी डाडाँ, आर्वाको महाप्रभु धाम, शान्ति मैदान र बेगनास कोटलाई पर्यटकीयस्थलको रुपमा विकास गरिने उल्लेख छ। पोखराका नौवटै ताल संरक्षणमा विशेष ध्यान दिईने राप्रपा कास्कीले जनाएको छ। घाटहरुलाई मोक्ष धामको रुपमा विकास गर्ने लक्ष्यसहितको योजना राप्रपाले आफनो घोषणापत्रमा समेट्दै सार्वजनिक गरेको छ।  

कृषितर्फ व्यवसायिक पशुपालक किसानलाई औषधी र प्राविधिक खर्च निशुल्क उपलब्ध गराईने घोषणा गरेको छ। उत्पादक किसानलाई बालीनालीको समय सीमासम्म निशुल्क विमा गरिने व्यवस्था मिलाउने समेत उल्लेख गरेको छ। महानगरभित्र उत्पादन हुने फोहोरलाई व्यवस्थापनको लागि आधुनिक डम्पिङ साईट निर्माण गरिने जनाएको छ। डम्पिङ साईट निर्माणमा महानगरको ध्यान नपुग्दा २२ अर्बमा निर्माण गरिएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाई हुदैं गएको छ। राप्रपाले राष्ट्रिय जनावर गाईको संरक्षण गर्दै छाडा चौपाय नियन्त्रण गर्ने उल्लेख गरेको छ। छाडा चौपाय नियन्त्रण नहुदाँ वर्षेनी बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ।  

प्रकाशित: १९ वैशाख २०७९ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App