२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धनको असरः बागलुङमा बागीको रौनक

जिल्लाको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस मुख्य प्रतिस्पर्धी हुन्। गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका सबै उम्मेदवारहरु विजयी हुँदा काँग्रेसका उम्मेदवारहरु निकटतम प्रतिस्पर्धीको रुपमा देखिएका थिए।  

उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रकाश घर्तीले ३३ सय ५० मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार डण्डपानी कँडेलले ९५६ मत प्राप्त गरेका थिए। एमालेबाट उम्मेदवार बनेकी पूर्णाकुमारी चालिसेको ३८२ र स्वतन्त्र उम्मेदवार ऋषिराम रोकाको ११५ मत थियो।

यो पटक भने बागलुङमा पाँच दलीय गठबन्धन बनेपछि मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र र काँग्रेस एकै ठाउँमा छन। ताराखोलामा अध्यक्ष पदमा माओवादी केन्द्रका धनबहादुर विक हिमाल अध्यक्ष र नेपाली काँग्रेसका भीमबहादुर रोका उपाध्यक्षको उम्मेदवार छन्। अघिल्लो पटकका स्वतन्त्र उम्मेदवार ऋषिराम रोका अहिले नेकपा एमालेमा आवद्ध भएका छन्। यसरी माओवादी र नेपाली काँग्रेस एकै ठाउँमा भएर निर्वाचनमा जाँदा ताराखोलामा चुनावी प्रतिस्पर्धा एउटा औपचारिकता मात्रै हुने आँकलन गरिएको थियो।  

गत निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित प्रकाश घर्तीले नै माओवादीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएपछि ताराखोलाको निर्वाचनले धेरैको ध्यान खिचेको छ। गाउँपालिका अध्यक्ष निर्वाचित भएर ५ वर्ष काम गरेका उनले अन्तिम समयमा गठबन्धनबाट साझा उम्मेदवार विरुद्ध नै बागी दिए। माओवादी केन्द्रको ताराखोला गाउँ कमिटिले आफ्नो नाममा सहमति जनाए पनि जिल्ला र केन्द्रीय नेतृत्वलाई भ्रममा पारेर टिकट वितरण गर्ने काम भएकाले त्यसको विरोध विद्रोह गरेको उनी बताउँछन्।

‘गाउँपालिकाका अधिकांश साथीहरुको मेरो नाममा सहमति थियो, गाउँपालिकाबाट म तल परेको भए पनि माथिको निर्णय मैले मान्ने थिएँ,’ उनले भने,‘टिकट वितरणमा जून खालको चलखेल भयो त्यसले पार्टीलाई हित गर्दैन भनेर त्यसको विरुद्धमा मेरो विद्रोह हो।’ ताराखोला गाउँपालिकामा आफुले धेरै काम गरेको र अझै धेरै कामहरु पूरा गर्न बाँकी रहेकाले एक कार्यकातलका लागि अध्यक्षमा आफ्नो दाबी रहेको उनी बताउँछन्।

‘मैले आफ्नो कार्यकालमा इमानदारीताका साथ धेरै काम गरेको छु, पूर्वाधार निर्माणको क्षेत्रमा ताराखोला निकै अगाडि बढेको छ,’ उनले भने,‘अझ धेरै कामहरु पूरा गर्नुपर्ने बाँकी थियो। त्यसलाई पूरा गर्नका लागि म उम्मेदवार बनेको हुँ। पार्टीले टिकट नदिएपछि स्वतन्त्र बनेर भए पनि आफ्नो लक्ष्य अनुसार काम गर्नेछु।’

५ वर्षमै प्रशासकीय भवन, कर्मचारी आवास, जिल्लाकै ठूलो सभाहल र संगाहालयसमेत निर्माण गरेको उनले बताए। ‘चक्रपथ कालोपत्रे गर्ने, सहिद स्मृति पार्कका काम पनि पूरा गर्नुछ,’ उनले भने,‘जनतालाई सुशासनको प्रत्याभूति दिने काम अबको कार्यकालमा गर्छु भन्ने मलाई लागेको छ।’ उनको उम्मेदवारी फिर्ता गराउन जिल्ला देखि केन्द्रसम्मका नेताहरु लागे पनि प्रयास असफल भएको छ। घर्तीलाई फकाउन माओवादी केन्द्रका धौलागिरि इन्चार्ज ताराखोला पुगे पनि रित्तो हात फर्कनु परेको छ।  

यता जिल्लाको गलकोट नगरपालिकामा नेपाली काँग्रेस पहिलो शक्ति, माओवादी केन्द्र दोस्रो शक्ति र राष्ट्रिय जनमोर्चा तेस्रो शक्ति हो। गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका भरत शर्मा गैरे ५७१५ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका थिए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका फमलाल निउरेले २७४० र नेकपा एमालेसंग तालमेल गरेको राष्ट्रिय जनमोर्चाका टंकबहादुर केसीले ३५६२ मत प्राप्त गरेका थिए। गलकोटका ११ वडामध्ये ७ काँग्रेस २ माओवादी १ राजमो र राजमोसंगको सहकार्यमा १ वडा एमालेले जितेको थिया ।  

चुनावी गठबन्धन अनुसार गलकोट मुख्य प्रतिस्पर्धी शक्तिहरु काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एकै ठाउँमा छन्। नेपाली काँग्रेस नगरप्रमुख पाएको यहाँ फेरी भरत शर्मा गैरेलाई उम्मेदवार बनाएको छ। नगर प्रमुखमा शर्मालाई नेपाली काँग्रेसकै नेतृ मञ्जु शर्मा चालिसेले चूनौती दिएका छिन्। टिकट नपाएपछि पोखराबाट हेलिकप्टर चढेर गलकोट झरेकी उनले स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी हालिन्। जिल्लादेखि केन्द्रसम्मको दबाबका बीच उनको उम्मेदवारी कायमै छ। महिलाहरु उपेक्षामा परेका कारण आफुले विद्रोह गरेको उनी बताउँछिन्।  

‘महिलाहरुलाई निकै नै उपेक्षा गरियो, चार वटा नगरपालिकामा कुनै पनि महिला उपस्थीति भएन,’ उनी भन्छिन्,’ बारम्बार एउटै व्यक्तिलाई दोहो¥याउने कुराले पनि साथीहरुमा निराशा ल्याएको छ। त्यसको विरोधका लागि मैले उम्मेदवारी दिएकी हुँ।’ नगरप्रमुखमा मात्रै होईन नगर उपप्रमुख समेत माओवादी केन्द्रै गलकोट नगर अध्यक्ष तिलक उप्रेतीले बागी उम्मेदवारी दिएका छन्। पार्टीको उम्मेदवारी छनोटप्रति असहमति राख्दै उनले नगर अध्यक्षबाट राजिनामा दिएर उपप्रमुख उम्मेदवार बनेका हुन।  

उनलाई पनि फकाउने निकै प्रयास भए पनि नेताहरु सफल भएनन्। गलकोट र ताराखोलामा मुख्य प्रतिस्पर्धी शक्ति नै गठबन्धन गरेपछि चुनावी प्रतिस्पर्धा औपचारिक मात्रै हुने देखिए पनि स्वतन्त्र र बागी उम्मेदवारले केही मसला थपिदिएका छन्। जिल्लाको बागलुङ नगरपालिका—३ को वडाध्यक्षमा नेकपा एमालेको जिल्ला सचिवालय सदस्य पुनम शर्माले बागी उम्मेदवारी दिएका छन्। एमालेले कमल खड्कालाई उम्मेदवार बनाएको छ। यहाँ गठबन्धन भित्रकै दल माओवादी केन्द्रबाट पनि बाबुलाल शाक्यले बागी दिएका छन।

वडा नम्बर २ मा एमालेका आधिकारीक उम्मेदवार रामबहादुर जिसी विरुद्ध एमालेकै रामराज गुरुङको बागी परेको छ भने गठबन्धनबाट नेकपा एसका सुरज बोसेलका विरुद्ध शशिकपुर श्रेष्ठले विद्रोही उम्मेदवारी दर्ता गरेका छ। काठेखोला गाउँपालिका—४ तंग्राममा गठबन्धनका उम्मदवार लक्ष्मण पुनका विरुद्ध काँग्रेसका यामदत्त कँडेलले बागी दिएका छन्। काँग्रेस गाउँपालिका अध्यक्षमा तंग्रामकै राजु थापालाई उम्मेदवार बनाएको छ ।  कँडेलको उम्मेदवारीले गाउँपालिका अध्यक्षमा थापालाई असर पर्ने भन्दै उनको उम्मेदवारी फिर्ता गराउन भरमग्दुर प्रयास भए पनि कँडेल टसमस भएनन्। गठबन्धन र तालमेलले सहज नतिजा आउने ठाउँहरुमा परेका बागी उम्मेदवारीले निर्वाचनलाई रोचक बनाउने देखिएको छ।  

प्रकाशित: १९ वैशाख २०७९ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App