२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

टीकापुरमा त्रिपक्षीय प्रतिस्पर्धा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको टीकापुर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। यो प्रतिस्पर्धामा सत्ता गठबन्धन, प्रतिपक्षी नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

जातीय मुद्दा अघि सारेर हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धन र एमालेलाई कडा चुनौती दिने देखिएको छ। सो पार्टीले थारु मतदातालाई लक्षित गरेर आफ्ना क्रियाकलाप बढाएको छ। पार्टीले उपमेयरका रुपमा दलित समुदायकी उल्कादेवी विश्वकर्मालाई अघि सारेर दलित मतदातालाई समेत समेट्न खोजेको छ।

पार्टीले दलित समुदायको समेत केही मत प्रभाव पार्ने आँकलन गरिन्छ। सत्ता गठबन्धन र एमालेबीचको प्रतिस्पर्धामा थारु र दलित समुदायको मत प्रभावमा पारेर नागरिक उन्मुक्ति पार्टीले बाजी मार्न सक्ने कतिपयको भनाइ छ। टीकापुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामलाल डगौरा थारु नागरिक उन्मुक्तिका तर्फबाट मेयरको रुपमा चुनावी मैदानमा छन्।

उनी यसअघि नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष भएका थिए। उनले माओवादी केन्द्रको मत समेत प्रभाव पार्न सक्ने चर्चा छ। यो दल २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा गठन भएको हो।

तीन महिना अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको पार्टीले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न गतिविधि तीव्र पारेको छ। तर सत्ता गठबन्धन र एमालेले नागरिक उन्मुक्ति पार्टीलाई प्रतिस्पर्धी मानेका छैनन्। उनीहरु जातीय मुद्दा बोकेको पार्टीलाई मतदाताले विश्वास नगर्ने दाबी गर्छन्। जातीय मुद्दा बोकेको व्यक्तिको हातमा स्थानीय तहको नेतृत्व जानु दुर्भाग्य हुने उनीहरुको तर्क छ।

थारु समुदायमा नागरिक उन्मुक्ति पछि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र कांग्रेसको राम्रो पकड छ। उनीहरु आफ्नो पक्षमा रहेका थारु मतदातालाई अन्यत्र जान नदिने प्रयास गरिरहेका छन्। सत्ता गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नवराज रावलले थारु मत अन्यत्र नजाने दाबी गरे।

उनले थारु समुदाय जातीय मुद्दामा अल्झेर समग्र टीकापुरको विकासमा बाधक नबन्ने बताए। ‘हाम्रो एउटै उद्देश्य टीकापुरको समग्र विकास हो’ उनले भने–‘टीकापुरको समग्र विकासका लागि नेतृत्व लिन सक्ने व्यक्तिलाई सबै मतदाताले साथ दिनेछन्।’

सत्ता गठबन्धनकै उपमेयर पदका उम्मेदवार खडक शाहले नागरिक उन्मुक्तिले माओवादी केन्दको थारु मत चोर्न नसक्ने बताए। ‘हाम्रा साथीहरु प्रष्ट हुनुहुन्छ’ उनले भने–‘भ्रम फैलाउने काम भैरहेको छ। त्यसो हुँदैन।’ माओवादी केन्द्र र कांग्रेसको तुलनामा थारु मतदातामा एमालेको पहुँच कम छ।

विगतमा एमालेबाट सकृय राजनीतिमा रहेका केही थारु नेताहरु यतिबेला निष्कृय छन्। उनीहरुको निष्कृयताले एमाले र थारु मतदाताबीचको दूरी बढाएको छ। एमालेबाट मेयर पदमा उम्मेदवार रहेका श्याम खत्रीले थारु नेतृत्व निष्कृय रहेको स्विकारे।

उनले नेताहरु निष्कृय भएपनि एमालेका थारु मतदाताको संख्या नघटेको दाबी गरेका छन्। ‘पार्टीले थारु मतदाताकै सहयोगमा हिजो पनि जितेको थियो र आज पनि जित्छ’ उनले भने–‘नेतृत्व निष्कृय भएकाले त्यस्तो भ्रम फैलिएको मात्रै हो।’

माओवादी केन्द्रबाट विद्रोह गरेर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका ललित थापा शिवले कांग्रेसका असन्तुष्ठ लगायतलाई समेटेर छुट्टै टिम बनाएका छन्। उनको टिममा उपमेयर कांग्रेसबाट असन्तुष्ठ मिना साउँद रहेकी छिन्। उनले नेपाली कांग्रेस विपिबाट उम्मेदवारी दिएकी छिन्।

मेयरका उम्मेदवार थापा २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट मेयर पदमै लडेका थिए भने उपमेयर साउँद कांग्रेसबाट मेयर लडेका जंगबहादुर साउँदकी छोरी हुन्। यो टिमले सत्ता गठबन्धन र एमालेलाई प्रत्यक्ष असर पार्ने मतदाताको अनुमान छ। टिमलाई परिचालन गरिरहेका केही व्यक्तिहरुले जित्ने भन्दा पनि कसैलाई हराउन महत्वपूर्ण भूमिका रहने बताउने गरेका छन्।

टीकापुरमै मौलिक जरो किलो पार्टीले समेत राजु बिष्टलाई मेयर र हिरादेवी थारुलाई उपमेयरका रुपमा मैदानमा उतारेको छ। टीकापुर नगरपालिकामा ५२ हजार ९४० मतदाता छन्। ती मतदाताले नगरपालिकाका १६ मतदानस्थलमा रहेका ५७ वटा मतदान केन्द्रमा मतदान गर्ने सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिइन्। उनले निर्वाचन तयारीको काम तीव्र रुपमा अघि बढिरहेको बताइन्।

प्रकाशित: १९ वैशाख २०७९ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App