१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विराटनगरमा नाम मात्रैको गठबन्धन

विराटनगर महानगरपालिकामा पाँचदलीय गठबन्धन नाम मात्रको देखिएको छ। सरकारमा सहभागी ५ वटा दलले गठबन्धन गरेको भनिए पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन व्यवहारिक रुपमा देखिएको छैन।  

स्थानीय स्तरमा नेता कार्यकर्ता गठबन्धनको विपक्षमा हुँदाहुँदै केन्द्रबाट जबर्जस्ती  गठबन्धन गरेर लादिएको चुनावी तालमेललाई स्थानीय नेता कार्यकर्ताले अस्वीकार गरेका छन्। विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादीका अमरेन्द्र यावद उम्मेदवार छन्। तर, वडा स्तरमा गठबन्धन कायम छैन। सबै दलले एकलौटी रुपमा वडा स्तरमा उम्मेदवार उठाएका छन्। वडामा मात्रै हैन गठबन्धनमा आबद्ध दलका शिर्ष नेतृत्वले भाग लगाएको मेयर र उपमेयरमा पनि भाग नपुगेका दलहरूले स्वतन्त्रबाट उमेदवारी दिएका छन्।

पाँचदलीय गठबन्धनका मेयर र उपमेयर पदका साझा उम्मेदवार कांग्रेसका नागेश कोइराला र जसपाका अमरेन्द्र यादव हुन्। तर, तीनै दलका असन्तुष्ट पक्षले दुबै पदमा उम्मेदवार खडा गरेका छन्। जसपाबाट राजीनामा दिएर उमेश यादवले उम्मेदवारी दिएका छन्। यस्तै नेकपा माओवादी केन्द्रले नगर सचिव नमिता न्यौपानेलाई स्वतन्त्रबाट उम्मेदवार बनाएको छ। स्वतन्त्र भनिए पनि मेयरका उम्मेदवार यादव जसपाको असन्तुष्ट पक्षधरका उम्मेदवार हुन् भने न्यौपाने माओवादी केन्द्रकी उम्मेदवार हुन्।

जसपाका सबै कार्यकर्ताले खुलैरै यादवलाई सहयोग नगरेको भए पनि स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकी नमिता न्यौपानेलाई सिंगो माओवादी केन्द्रले खुलेरै समर्थन गरेको छ। माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ताहरू स्वतन्त्रबाट उम्मेदवारी दिएकी न्यौपानेको पक्षमा खुलेरै भोट मागिरहेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ता खुलेरै सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारको विरुद्धमा लागेका छन् भने जसपाका कार्यकर्ताले पनि आंशिक रुपमा मात्रै गठबन्धनका उम्मेदवारलाई सघाउने देखिएको छ। आफ्नो पार्टीले महानगरपालिकाको कुनै पनि पदमा सत्ता गठबन्धबाट भाग नपाएको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेता कार्यकर्ता गठबन्धको तर्फबाट उठाइएका आधिकारिक उम्मेदवारको विपक्षमा लागेका छन्।

‘विराटनगरमा हाम्रो पार्टीका कोही पनि उम्मेदवार गठबन्धनबाट नउठाइएकाले गठबन्धनका उम्मेदवार भनिएकाहरूलाई मतदान गर्न आफूहरू बाध्य छैनौ,’ नेकपा माओवादी केन्द्रका एक स्थानीय नेताले भने। महानगरपालिकामा वडा स्तरसम्मै गठबन्धन गरौं मिलेर जाऔं भन्दा कांग्रेसले नमानेको उनको गुनासो छ। ‘तलसम्म नै गठबन्धन गरौं मिलेर जाऔं भन्दा नमान्ने अनि भोटमात्रै खोजेर हुन्छ,’ ति नेताले भने।  

माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै हैन नेपाली कांग्रेस र जनता समाजवादीले पनि व्यवहारमा गठबन्धन भएको देखाएका छैनन्। मुखले गठबन्धनका आधिकारिक उम्मेदवार हौं भने पनि व्यवहारमा त्यस्तो देखिएको छैन। कांग्रेस र जसपाले मेयर र उपमेयरको पद पाएपनि उनीहरूले कहिलै एक अर्कासँग सहकार्य गरेको पाइएको छैन।

चुनावी अभियानमा पनि उनीहरूसँगै देखिएका छैनन्। कांग्रेस र जसपाले छुट्टाछुट्टै चुनावी अभियान सञ्चालन गरिहरका छन्। यस्तै नेकपा माओवादी केन्द्र र समाजवादीले पनि छुट्टाछुट्टै अभियान चलाई रहेका छन्। यति मात्रै हैन चुनावी घोषणा पत्रसमेत दलहरूले साझा बनाउन सकेनन्। नेपाली कांग्रेसले शुक्रबार गठबन्धनका तर्फबाट घोषणापत्र सार्वजनिक गरेको दाबी गरे पनि घोषाणपत्र सार्वजनिक कार्यक्रममा गठबन्धनमा आबद्ध अन्य दलका नेता तथा कार्यकर्ता उपस्थित थिएनन्। 

कांग्रेसले एकल घोषणापत्र सार्वजनिक गरेको थियो। तर, आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विराटनगरको रानीमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेकाे कार्यक्रममा भने गठबन्धकातर्फबाट मेयर र उपमेयरका उम्मेदवारहरू कोइराला र यादव एउटै मञ्चमासँगै सहभागी भएका थिए। विराटनगर महानगरपालिकामा नाममात्रैको गठबन्ध भए पनि गठबन्धनका जिल्ला, प्रदेश र केन्द्र स्तरका नेताहरू भने गठबन्धनमा भएको सहमति अनुसार नै निर्वाचनमा मतदान हुने दाबी गर्दै आएका छन्।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले ५ दलीय गठबन्धमा भएको सहमति अनुसार नै दलका साझा उम्मेदवारलाई देशैभर मतदान गरी जिताइने बताए।

प्रकाशित: १८ वैशाख २०७९ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App