८ वैशाख २०८१ शनिबार
राजनीति

अभिनयका पारखी मदनदास होलान् त मेयरमा ‘फिट’

चिरपरिचित कलाकार मदनदास श्रेष्ठलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ। राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको हो।  

कलाकार श्रेष्ठले ५ दशकदेखि कलाकारिता क्षेत्रमा अनवरत रुपमा योगदान पुर्‍याएका छन्। तर कलाकारिता क्षेत्रमा परिचित भएकै कारण भने राजनीतिबाट फाइदा लिन नखोजेको उनी बताउँछन्। परिचित भएकै आधारमा मत पनि नमागेको उनको भनाइ छ।  

‘परिचितको आधारले भोट दिने होइन। मैले रेडियो, रङ्गमञ्च र चलचित्रमा विभिन्न भूमिकामा अभिनय गरेँ। त्यसका माध्यमबाट देश, समाजको स्थिति, परिस्थिती, कुरुती, कुसंस्कारलाई उद्गार गर्ने सन्देशमुलक नाटकहरु, सन्देशमुलक कार्यक्रमहरु दिएर म चर्चामा आएको हुँ। त्यसभन्दा पनि धार्मिक संस्कार रेडियोबाट जनमानसमा पुर्‍याउने काम गरेँ,’ उनले भने। 

उनी अगाडि भन्छन्, ‘अभिनय यात्राबाट पूर्णरुपमा विदाई भएपछि विभिन्न सामाजिक संस्थाको नेतृत्वदायी पदमा रहेर सामाजिक काम समेत गरेँ। त्यो कामको अनुभवका आधारमा आधिकारिक पदमा रहेर सामाजिक काम गर्न आत्मशक्ति जागेर उम्मेदवारी दिएँ।’

पार्टीले जारी गरेको घोषणा पत्रनै आफूले कार्यान्वयानमा लैजाने उनको भनाइ छ। संस्थागत रुपमा मौलाइ रहेको भ्रष्टाचार नियन्त्रण नै आफ्नो कामको पहिलो योजना भएको उनी बताउँछन्।  

उनले भने, ‘यदी म महानगरपालिकाको मेयर भए भने पहिलो सुरुवात नै महानगरपालिकाबाट सुरु गर्छु र भ्रष्टाचार निर्मुलनको योजना त्यहाँ राख्छु।’

काठमाडौं महानगरपालिकामा मेयर पदमा अहिले आफ्नो प्रतिस्पर्धी कोही नभएको उनको विश्लेषण छ। आफू निष्कलंकित भएका कारण पनि एक्लो प्रतिस्पर्धी भएको उनको आंकलन छ। ‘मैले मेरो प्रतिस्पर्धी कोही देखेको छैन। म एक्लै मेयरको लागि दावेदार हु,’ उनी भन्छन्, ‘म योग्य छु। म निष्कलंकित छु। ममा कुनै खोट छैन। आम नागरिकले हेर्न चाहे एक क्लिकमा छर्लङ्ग देख्न सकिन्छ र बुझ्न सकिन्छ।’ आफू विजयी भएको ५/६ महिना भित्रै जनताले महसुस गर्ने गरी सकारात्मक परिवर्तन अनुभूति गराउने उनले विश्वस दिलाए।  

महानगरका अन्य उम्मेदवार जस्तो भोटको अंक गणित अहिले नै ठोकुवा नगरे पनि आफू जित्नेमा भने ढुक्क भएको उनको आत्मविश्वास छ। ‘भोटको आंकलन त मैले जनतालाई नै दिएको छु। मैले यति ल्याउछु र उति ल्याउँछु भनेर मान्छेहरुले भन्लान्,’ ढुक्क हुँदै उनी भन्छन्, ‘तर म जित्छु। मलाई काठमाडौं महानगरबासीले अत्यधिक मत दिएर विजय गराउँनुहुन्छ।’

हिन्दु राजसस्थाको पक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठ मुलुकमा सांस्कृतिक राजाको आवश्यक भएको बताउँछन्। तर कार्यकारी अधिकार भने जनताकै हातमा हुनुपर्ने उनको तर्क छ। आफूले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभन्दा अघि वा पछि राजासँग भेट नगरेको उनको जिकिर छ। ‘कोहीसँग भेटघाट भएको छैन। कसैसँग यस विषयमा कुरा पनि भएको छैन,’ उनले भने, ‘राजा ज्ञानेन्द्रले कुनै केही पनि दिएका छैनन्। म एउटा राष्ट्रभक्त नागरिक भएका कारण सांस्कृतिक राजा र सनातन हिन्दु धर्मको आवश्यक छ भन्ने मात्रै थाहा छ मलाई।' 

वरिष्ठ कलाकार श्रेष्ठ काठमाडौँ महानगरपालिकाको अन्य प्रत्यासीभन्दा चिरपरिचित र लोकप्रिय व्यक्तिको रुपमा चिनिँदै आएका छन्। उनको ख्याती राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो छ। तर राजनीतिक अनुभव भने नभएको आरोप लाग्दै आएको छ। राजनीतिक अनुभव राजनीति गर्दै गए स्वतः सिक्न सकिने उनको विश्वास छ। ‘राजनीति गर्दै गएपछि त्यसको अनुभव हासिल हुँदै जान्छ। विशिष्ट व्यक्तित्व हाम्रा पार्टीमा छन्। उहाँको संसर्गमा छु अहिले। राजनीति त सिक्दै जाने हो,’ उनी भन्छन्, ‘राजनीतिक चेतना राजनीतिक संस्कार ममा पनि छ। तपाईमा नि छ। खाली राजनीतिमा सिधै नहोमेको मात्रै हो। अब चाँही राजनीतिमा सिधै होमिएर केही गर्छु भन्ने हिसावका साथ अठोट लिएर म आएको हु।’  

उमेरका हिसाबले पाँच दशक कटाएका श्रेष्ठ आफूमा अझै युवा जोस र जागर रहेको बताउँछन्। सेतो जुँगा वा कपालले वृद्धताको पुष्टी नगर्ने भन्दै जोसका साथ उनी भन्छन्, ‘म वृद्ध नै भएको छैन। सोह्र सत्र वर्षको युवाहरु जतिकै जोस जागरका साथ काम गर्न सक्छु भन्ने आत्म शक्ति मसँग छ। त्यस कारण म बुढो भइसकेको छैन।’ वृद्धताको परिभाषा दिदै उनले भने, ‘बुढो त त्यस्तो हुन्छ, जो जिर्ण छ, जसलाई रोग व्याधि आदीले सताए छ। जो अरुको साहारा बिना हिड्न सक्दैनन्। त्यसलाई वृद्ध भनिन्छ। म त एक्टिभ सिनियर सिटिजन।’

प्रकाशित: १७ वैशाख २०७९ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App