९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सुत्केरीलाई निःशुल्क ऐम्बुलेन्स सुविधा, ज्येष्ठ नागरिकलाई घरमै उपचार

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा एमालेले १६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार उपलब्ध गराउने घोषणा गरेको छ।

यही वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर, उपमेयमा जितेपछि सुन्दर र स्मृद्ध धनगढी बनाउन लागु गर्ने योजना र काम सहितको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।

प्रत्येक वडामा नमुना प्राविधिक विद्यालय स्थापना गर्ने, सञ्चालनमा रहेका प्राविधिक विद्यालयको स्तरोन्नति गर्ने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने, माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क गर्ने घोषणापत्रमा उल्लेख छ।

‘निरोगी नेपाल, स्वस्थ’ नेपाली भन्ने नाराका साथ हाल वडामा रहेका नगर स्वास्थ्य चौकीहरूको स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गर्ने भनिएको छ। प्रत्येक सुत्केरी आमालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने र ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिक नगर स्वास्थ्य स्वास्थ्य सेवा घुम्ती सेवा सञ्चालन गर्ने प्रतिबद्धता पनि गरिएको छ।

गरिबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशत अनुदान प्रदान गर्ने, विद्यालयमा योग शिक्षा लागु गर्ने, प्रत्येक वडामा योग शिविर सञ्चालन गर्ने, संघीय तथा प्रादेशिक सरकारसँग समन्वय गरी ट्रमा सेन्टर सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ। नगरपालिकाभित्र सबै घरमा शुद्ध खानेपानी धारा र सार्वजनिक स्थलमा सार्वजनिक खानेपानीका धारा तथा शौचालय निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

कृषक परिचयपत्र वितरण, त्यसका आधारमा कृषकलाई मलबिउलगायत सुविधा र अनुदानसँगै प्राविधिक जनशक्ति उपलब्ध गराउने, नगरभित्रका सबै सडक कालोपत्रे गर्ने, मुख्य सडकवरिपरि वृक्षरोपण गरेर हराभरा धनगढी बनाउने, प्रत्येक घरमा विद्युतीकरण गर्ने, विद्युतीय चुलो र वैकल्पिक ऊर्जालाई प्रोत्साहन गर्ने, विपन्न घरमा निःशुल्क विद्युत् जडान गर्ने घोषणा पनि धनगढी एमालेले गरेको छ।

औद्योगिक ग्रामको स्थापना, एक गाउँ एक उत्पादन, एक घर एक सीप, महिलाको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन, महिला, दलित तथा सीमान्तकृत समुदायलाई उद्यमशीलता कार्यक्रमअन्तर्गत हरेक वडामा तालिम, अनुदान, प्रविधि, बिउ पुँजी उपलब्ध गराउने योजना पनि एमालेले बनाएको छ।

सामाजिक सुरक्षा भत्ता विपन्न वर्गलाई घरमै पुर्‍याउने, मानसिक असन्तुलन भएका, असाहय बालबालिका, सडक बालिबालिकाका लागि पुनःस्थापना केन्द्रको स्थापना गर्ने एमालेको प्रतिबद्धतापत्रमा उल्लेख छ। प्रत्येक वडामा पाँच वर्षभित्र खेलमैदान निर्माण गर्ने, भूमिहीन, सुकम्बासीलाई संघीय र प्रदेश सरकारसँग समन्वय गरी जग्गा उपलब्ध गराउने र आवास निर्माण गर्ने कार्यक्रम पनि एमालेले घोषणापत्रमा समेटेको छ।

धनगढी अवस्थित बेहडाबावा, शिवपुरी धाम लगायत धार्मिक स्थलको पूर्वाधार विकास गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिने, धनगढीभित्रका राना थारू समुदायको भाषा, संस्कृति, कलाको संरक्षण गरिने, धनगढीभित्र उपयुक्त क्षेत्रको पहिचान गरि प्राकृतिक चिडियाघरका रूपमा विकास गर्ने, धनगढीमा हुने डुबान समस्या अध्ययनपछि योजना निर्माण गरी लागु गर्ने, प्रत्येक विद्यालय र सार्वजनिक निकायका कार्यालयमा अनिवार्य वृक्षरोपण गर्ने, नदी दायाँबायाँ वृक्षरोपण गर्ने, नागरिकहरूलाई कानुनको ज्ञान र कानुनी उपचारबारे जानकारी दिने, विपन्न वर्गका लागी निःशुल्क कानुनी सेवा केन्द्र सञ्चालन गर्न योजना पनि घोषणापत्रमा समेटिएको छ।

धनगढीलाई मेगा सिटीका रूपमा विकास गर्दै संघीय र प्रदेश सरकारसँगको समन्वयमा प्रदेशकै पहिलो महानगरपालिका बनाउन पूर्वाधारमा जोड दिने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ। धनगढी उपमहानगरमा एमालेका तर्फबाट मेयरमा युवा नेता रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना उम्मेदवार छन्। गठबन्धनका तर्फबाट मेयरमा नेपाली काग्रेसका नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी चुनावी मैदानमा छन्। 

प्रकाशित: १७ वैशाख २०७९ ०४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App