७ वैशाख २०८१ शुक्रबार
राजनीति

उतारचढावबिना निरन्तरता

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुरु भएको यो साता ७५ वर्ष पुगेको छ। सन् १९४७ अप्रिल २५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध सुरु भएको थियो। बेलायतपछि नेपालसँग कूटनीतिक सम्बन्ध सुरु गर्ने अमेरिका दोस्रो मुलुक हो।

नेपालको महत्त्वपूर्ण विकास साझेदार समेत रहेको अमेरिकाले यहाँको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरेको छ। अमेरिकाले औलो रोग उन्मूलनदेखि सामुदायिक वनको विकासमा समेत महत्वपूर्ण सहयोग गरेको छ।

यो वर्ष अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कार्यान्वयनमा नेपाली पक्षबाट अपरिपक्वता प्रदर्शन हुँदा दुई देशबीचमा आशंकाको अवस्था सिर्जना भयो। तर एमसिसी कार्यान्वयनमा गएसँगै आशंका पनि अन्त्य भएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।

७५ वर्षको अवधिमा नेपाल र अमेरिकाबीच निरन्तर र उतारचढावरहित सम्बन्ध रहँदै आएको अमेरिकाका लागि पूर्व नेपाली राजदूत जयराज आचार्य बताउँछन्। ‘अमेरिकासँगको हाम्रो सम्बन्ध निरन्तर बलियो हुँदैछ,’ उनले भने।

छिमेकी मुलुक र कतिपय मित्रराष्ट्रसँगको सम्बन्धमा उचारचढाव आए पनि अमेरिकासँग कुनै असमझदारीबिनै सम्बन्ध अघि बढिरहेको आचार्यको विश्लेषण छ। उनी अमेरिकाले नेपालको आर्थिक सामाजिक विकासमा दिगो प्रभाव पार्ने काम गरेको बताउँछन्। त्यसमध्येको एउटा महत्वपूर्ण काम नेपालबाट औलो उन्मूलन भएको उनले बताए।

सन् १९५० को दशकमा नेपालमा औलोले करिब २५ प्रतिशत जनसंख्यालाई असर पारेको थियो। सन् १९६८ सम्म नेपालमा करिब २० लाख औंलोको बिरामी थिए। अमेरिकाले युएसआइडीमार्फत सञ्चालन गरेको औलो नियन्त्रण कार्यक्रमले यस्ता बिरामीको संख्या दुई हजार चार सय ६८ मा झारेको थियो।

१९८० को दशकमा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाल भविष्यमा पहाडी मरुभूमि बन्न सक्ने अनुमान गरेका थिए। त्यसलाई गलत साबित गर्दै सामुदायिक वनको माध्यमबाट नेपालको जंगल संरक्षणमा पनि अमेरिकाले महत्त्वपूर्ण सहयोग गरेको आचार्य बताउँछन्।

यसका अतिरिक्त परिवार नियोजन कार्यक्रम मार्फत जनसंख्या नियन्त्रण, उच्चशिक्षाका लागि नेपाली विद्यार्थीलाई अवसर दिनेदेखि नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापनामा समेत अमेरिकाको सहयोग रहेको उनले बताए। आचार्य एमसिसीका कारण उत्पन्न भएको आशंका निर्मूल पार्न नेपालले तोकिएको समयभन्दा पहिले नै यो परियोजना सम्पन्न गर्नुपर्ने बताउँछन्।

‘एमसिसी अनुमोदन भइसक्यो। अब यसलाई समयमै सम्पन्न गरेर विश्वसनीयता देखाउने काम हाम्रो हो। यो परियोजना तोकिएको समयभन्दा पहिले नै पूरा गर्‍यौं भने अमेरिकासमक्ष हाम्रो विश्वसनीयता थप बलियो हुन्छ,’ उनले भने। नेपालमा अमेरिकी सहयोग निरन्तर बढिरहेको आचार्य बताउँछन्। ‘सन १९५१ देखि हालसम्म अमेरिकाले नेपालाई गरिरहेको सहयोग हेर्ने हो भने निरन्तर बढिरहेको छ,’ उनले भने।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी ७५ वर्षको अवधिमा दुवै देशमा भएका परिवर्तनमा अमेरिका र नेपाल एक अर्काको साथमा उभिँदै आएको बताउँछन्। दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै राजदूत बेरीले अमेरिकी जनताले नेपालीलाई चार कुराले चिन्ने गरेको उल्लेख गरेका छन्।

अमेरिकीले चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला तथा संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसका रूपमा नेपालीलाई चिन्ने गरेको उनले उल्लेख गरेका छन्। अमेरिकी र नेपालीबीचको सम्बन्ध पुस्तौंदेखि चल्दै आएको र भविष्यसम्म पनि चलिरहने उनको विश्वास छ।

राजदूत बेरीले जनता–जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै बहुपुस्ताको अमेरिका–नेपाल सम्बन्धको जग भएको बताएका छन्। ‘आजको दिनमा जलवायु संकटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्या समाधान गर्न हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ,’ उनले जारी गरेको विज्ञप्तिमा छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनले अमेरिका–नेपाल कूटनीतिक सम्बन्ध सुरु भएको ७५ वर्ष पुगेको अवसरमा शुक्रबार ट्विट गर्दै नेपालको शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अविश्वसनीय परिवर्तन देखिएको बताएका छन्। उनले नेपालसँगको साझेदारीबाट प्राप्त उलब्धिप्रति गर्व रहेको बताउँदै दशकौंसम्म पनि मित्रता जारी रहने विश्वास गरेका छन्।

दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण भइरहेको छ। हालैमात्र पनि अमेरिकी संसदीय प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेर फर्किएको छ। स्थानीय निर्वाचनलगत्तै नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाले नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

तिब्बत मामिलासम्बन्धी अमेरिकी विशेष संयोजकसमेत रहेकी उनी जेठ पहिलो साता नेपाल आउने कार्यक्रम छ। करिब एक दशकको अवधिमा नेपाल भ्रमण गर्ने उनी सबैभन्दा उच्च अमेरिकी अधिकारी हुनेछिन्। यसअघि सन् २०१२ फरवरी १२ देखि १४ सम्म नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरोले नेपाल भ्रमण गरेकी थिइन्।  जेयाले गत डिसेम्बर ८ मा नेपालमा आयोजना गरिएको ‘समिट फर डेमोक्रेसी’ कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेकी थिइन्। 

प्रकाशित: १७ वैशाख २०७९ ००:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App