१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी रामकुमारी थापा र माओवादी केन्द्रका राजेन्द्र गिरी उम्मेदवारी फिर्ता लिएपछि आफूले समर्थन गरेका उम्मेदवारहरुसँग। तस्बिरः नगेन्द्र/नागरिक

वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ। पाँचदलीय गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार प्रदेश स्तरीय संयन्त्रले कर्णालीका १० मध्ये आठ जिल्लामा मनोनयनअघिनै पालिकाहरु भागबण्डा टुङ्ग्याएको थियो। सुर्खेत र रुकुममा नमिल्दा अन्य जिल्लाहरु गठबन्धनमा आवद्ध सबै दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए।

सुर्खेतमा भने शुक्रबार साढे चार बजे कांग्रेस र माओवादी केन्द्रबीच पालिका भागबण्डा टुंगिएको थियो। दुई दलबीच भएको सहमति अनुसार कांग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा गाउँपालिकाको उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिएको छ।  

माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाको मेयर र चिंगाड, सिम्ता र बराहताल अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। यस्तै चौकुनेमा माओवादीले उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ। दुई दलबीच वडामा सहमति हुन सकेन्।  

सुर्खेतमा एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा होमिने भएको छ। माओवादी र समाजवादीले चौकुने गाउँपालिका अध्यक्षमा दावी गर्दा पाँच दलीय गठबन्धनबीच सहमति हुन सकेको थिएन्। २०७४ सालको निर्वाचनमा चौकनेमा एमाले पहिलो भएको थियो भने माओवादी केन्द्र दोस्रो थियो। अन्य पालिकामा माओवादी तेस्रो स्थानमा थियो। ‘सुर्खेतमा एक्लाएक्लै चुनाव लड्दा जित्न नसकिने अवस्था छ,’ माओवादी केन्द्रका नेता सुदिप मल्लले भने, ‘जसकाविरुद्ध केन्द्रमा गठबन्धन बन्यो, यसैलाई हराउनका लागि पनि अन्तिममा सहमतिमा पुग्यौं।’ गठबन्धन बनेकाले सुर्खेतका नौ वटै पालिकाहरुमा आफूहरु विजयी हुने गठबन्धन दलका नेताहरुको दावी छ।  

गठबन्धन दलहरुलाई वडा मिलाउनु सहज छैन्। सबै दलहरुले वडामा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। वडाको असर पालिकाको नेतृत्वमा पर्ने डर पनि गठबन्धनलाई छ।  

रुकुममा भने गठबन्धनबीच सहमति हुन सकेन्। अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्लामा माओवादीले अन्य दललाई पालिका प्रमुख दिन नमानेपछि त्यहाँ सहमति हुन नसकेको हो। ‘गठबन्धन नभएपनि मित्रवत प्रतिष्पर्धा हुन्छ,’ कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले भने, ‘अरु जिल्लामा सहमति अनुसार अघि बढ्छौं।’

सुर्खेत र रुकुमबाहेका आठ जिल्लामा यसअघिनै सहमति भइरहेको थियो। उक्त सहमति अनुसार कांग्रेसले आठ जिल्लामा ३२ पालिका प्रमुख र अध्यक्ष पाएको छ भने माओवादी केन्द्रले २६ पालिका प्रमुख र अध्यक्ष पाएको छ। समाजवादीले १५ वटा पालिका प्रमुख पाएको छ। कर्णालीका ७९ वटा स्थानीय तह मध्ये हालसम्म डोल्पाका दुई पालिका प्रमुखमा एकीकृत समाजवादी निर्विरोध भएको छ भने एक पालिका प्रमुखमा नेकपा एमाले विजयी भएको छ।

खार्पुनाथको वडाध्यक्षमा कांग्रेस निर्विरोध

हुम्लाको खार्पुथान गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसकी रंगमति शाही निर्विरोध निर्वाचित भएकी छन्। शुक्रबार वडाध्यक्षमा उम्मेदवारी दिएकी नेकपा एमालेका कमल रावतले उम्मेदवारी फिर्ता लिएपछि रंगमति निर्विरोध भएकी हुन्। यस्तै वडामा दलित महिला सदस्य पनि निर्विरोध भएको छ। दलित महिला सदस्यमा पनि कांग्रेसकै दन्तकली कामी निर्वाचित भएकी छन्।

प्रकाशित: १६ वैशाख २०७९ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App