पाँचदलीय गठबन्धनले बिहीबार घोषणापत्र सार्वजनिक गर्दै फेवा टु बेगनास मेट्रो चलाउने उल्लेख गरेको छ। वर्षौदेखि थन्किएका योजना अझैसम्म कार्यान्वयनमा आउन नसकेको अवस्थामा दलीय गठबन्धनका पोखरा महानगरपालिकका मेयर उम्मेदवार धनराज आचार्यले फेवा टु बेगनास कनेक्टिभिटी मेट्रो चलाउन सक्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेका हुन्। ‘पोखरा महानगर पाँचदलीय गठबन्धन सरकार ,विकास हामी सबैको अधिकार’ भन्ने नारासहित घोषणापत्र सार्वजनिक गरिएको छ।
‘फेवा टु बेगनास लेक १० किलोमिटर दुरीको छ। मेट्रो चलाउन सक्छौ,’ उनले घोषणापत्र सार्वजनिक गर्दै भने,‘मेट्रो चलाउन आफ्नो घर आफ्नो शहर आफैं बनाउँ भन्दै अघि बढ्छौं।’ उनले मेट्रोको लागि आवश्यक आर्थिक पाटो जुटाउने सन्दर्भमा सबै पार्टीलई लिएर अघि बढ्ने प्रतिबद्धता जनाए। योजना पूरा गर्न विदेशमा भएकाहरुलाई ज्ञान, सीप र पैसा लिएर आउन समेत आग्रह गरे। ‘न्यून व्याज दिने अन्तर्राष्ट्रिय संस्था छन्। ती संस्थासँग सहकार्य गरेर आर्थिक सहयोग जुटाउँछौं,’ उनले भने,‘नभए पोखरा विकास प्राधिकरण गठन गरेर सबै पोखराबासीलाई लगानीको लागि प्रोत्साहित गर्नेछौ।’
वर्षौदेखि पोखरा, ९स्थित बसपार्क बन्न सकेको छैन। त्यो बसपार्क पनि राजनीतिक दलको चुनावी एजेण्डा बन्दै आएको छ। मेयरका उम्मेदवार आचार्यले पोखरा, ९ स्थित बसपार्कलाई सिटी बसपार्कको रुपमा विकास गर्ने र ठूला सवारी साधनको लागि लेखनाथ क्षेत्रमा बसपार्क बनाउने योजना सुनाए। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने भन्दै मेयर उम्मेदवार आचार्यले त्यसको लागि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न ल्याण्डफिल साईट सार्ने बताए।
‘ल्याण्डफिल साईट सारिएन भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन। विमानस्थल सञ्चालन गर्न ल्याण्डफिल साईट अन्यत्र सार्नुपर्छ। अन्यत्र सार्न आवश्यक अध्ययन समेत गरिसकिएको छ।’ उनले भने, ‘फोहोरलाई मोहोरमा परिणत गर्ने योजना ल्याउनुपर्छ।’ उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै फाष्ट ट्र्याक सडक निर्माणमा समेत आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन्। अहिले भइरहेको विमानस्थल नजिकैको मुस्ताङचोकदेखि कोत्रेसम्म फाष्ट ट्र्याक बनाउने योजना अघि सारे।
झण्डै तीन दशकदेखि अघि बढेको पोखरा रिङरोडलाई समेत प्राथमिकतामा राखिएको छ। रिङरोडको सम्भावित अध्ययन गर्ने उनले जनाए। रिङरोडको लागि पोखरा उपत्यका नगरविकास समितिले पटकपटक अध्ययन गरिसकेको छ। अध्ययन अनुसार ८४ किलोमिटर रिङरोड बन्ने सम्भाव्य अध्ययनले देखाएको छ। मेयरका प्रत्यासी आचार्यले रिङरोडलाई मध्यपहाडी लोकमार्ग र सिदार्थ राजमार्गसँग जोड्दै बाईपासको रुपमा प्रयोग गर्न सकिने स्पष्ट पारे। पहाडी लोकमार्ग र सिदार्थ राजमार्गको बाईपासले पोखरा बजारभित्र सवारी साधनको चाप घटाउने छ।
घोषणापत्रमा फेवाताल सौन्दर्यकरण गर्ने विषय छुटेको छैन। फेवातालमा मिसिने ढललाई व्यवस्थित रुपमा अन्यत्र व्यवस्थापन गर्ने समेत उद्घोष गरे। ‘अहिले फेवातालमै ढल विसर्जन गरिएको छ।’ उनले भने,‘अब हामीले पाँच वर्षभित्रमा ढललाई अन्यत्र विसर्जन गर्ने योजना बनाएका छौं।’ उनले फेवातालसँगै सेतीनदी वरपर सौन्दर्यकरण गर्ने तर्फ समेत ध्यान दिइएको बताए। लामो समयदेखि पोखराको रत्नमन्दिर दरबार सर्वसाधारणको लागि खुला गर्ने चर्चा चलेपनि सहज भईसकेको छैन। उनले रत्नमन्दिर दरबार, हिमा गृह र शान्ति वन बाटिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने बताए।
घोषणापत्रमा पोखराको सडक अझैपनि ६०९ किलोमिटर सडक खण्ड धुलो भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि पूरै कालोपत्रे गर्ने योजना अघि सारे। ६३४ किलोमिटर कालोपत्रे सडक रहेको उल्लेख गर्दै उनले ११०किलोमिटर कंक्रिट, ८ किलोमिटर मिश्रित र १०३ किलोमिटर ग्राभले सडक खण्ड रहेको जानकारी दिए। आगामी पाँच वर्षभित्र १५३५ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने योजना सुनाए। पोखरामा ३३ वटा वडा छन्। वडामा ४ लाख ५८ हजार जनसंख्या रहेको छ। जनसंख्याको आधारमा खानेपानीको पहुँच ९२ प्रतिशत, विद्युत ९९ प्रतिशत, घरघरमा शौचालय ९८ प्रतिशत, पक्की छानो ६० प्रतिशत रहेको घोषणापत्रमा उल्लेख छ। अझै पनि पोखरामा ३१ प्रतिशत बालविवाह रहेको समेत भन्दै त्यसलाई न्यूनीकरण गर्नुपर्ने आफ्नो मुख्य एजेण्डा भएको स्पष्ट पारे। अझैपनि १६ प्रतिशतमा मोवाईलको पहुँच पुगेको छैन।
महानगरमा शहर उन्मुख २० प्रतिशत रहेको उल्लेख छ। ग्रामीण क्षेत्र २० प्रतिशत रहेको छ। ‘समुन्नत पोखराको आधार सफल अर्थतन्त्र र पूर्वाधार भन्ने नारालाई आत्मसात गरेको छ। त्यही आत्मसात अनुसार नै पूर्वाधार विकास नभई अन्य विकास सम्भव नहुने भन्दै पूर्वाधार विकासमा आफूहरु केन्द्रित हुने स्पष्ट पारे। घोषणा पत्र सार्वजनिक समारोहमा बोल्दै उपमेयर उम्मेदवार कोपिला रानाभाटले गठबन्धन स्थानीय तहको निर्वाचनमा मात्रै नभई प्रदेश र संघीय निर्वाचनसम्म जाओस भन्ने अभिव्यक्ति दिइन्। ‘मलाई राजनीतिमा धन कमाउनु छैन,’ उलने भनिन्, ‘अनियमितता गर्ने छुट कसैलाई दिन्न। दिने छैन।’
प्रकाशित: १५ वैशाख २०७९ १२:२४ बिहीबार