बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ। आठ स्थानीय तह रहेको जिल्लाको नरेनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी परेको हो।
जिल्लामा गठबन्धन दलको तर्फबाट अधिकांश ठाउँमा महिला उम्मेदवार छैनन्। नरेनापुर गाउँपालिकाको अध्यक्षमा पदमावती यादव र डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा सरोजकुमारी यादवले सो पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन्। पदमावती यसअघि साविक नरेनापुर गाविसको अध्यक्ष समेत हुन्।
नेपालको संविधानले समावेशी सिद्धान्तलाई अङ्गिकार गरेपनि यस पटकको निर्वाचनमा महिला उम्मेदवारको सहभागिता जिल्लामा न्यून देखिएको छ। महिला तथा दलित कोटाको सदस्य पदका लागि पनि उल्लेख्य उम्मेदवारी नपरेपनि प्रमुख राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको जिल्लास्थित निर्वाचन अधिकृतका विभिन्न कार्यालयले जनाएका छन्।
एमालेको तर्फबाट खजुरा गाउँपालिकाको उपाध्यक्षमा सजरुला निशा, जानकी गाउँपालिको उपाध्यक्षमा भूमिसरा धिताल, राप्ती सोनारीको उपाध्यक्षमा चमेली वागबान, कोहलपुर नगरपालिकाको उप्रमुखमा अस्मिता थारु, बैजनाथ गाउँपालिकामा उपाध्यक्ष प्रेमपूर्ण योगी र नेपालगञ्ज उपमहानगरपालिकामा शान्ति ढकालले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्।
जिल्लाको खजुरा गाउँपालिकामा उपाध्यक्ष पदमा महिला छ, वडाध्यक्ष एक, खुल्ला महिला सदस्यमा छ को उम्मेदवारी दर्ता भएको छ। त्यस्तै महिला सदस्यमा ३५ र दलिततर्फ ३४ को उम्मेदवारी परेको निर्वाचन अधिकृत कार्यालय, खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए।
बैजनाथ गाउँपालिकामा महिला सदस्य ३२ र दलिततर्फ ३० जनाको उम्मेदवारी परेको छ। नरेनापुरमा महिला ३६ र दलिततर्फ ३१ को मनोनयन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कोहलपुरमा नगरपालिकामा ६९ दलिततर्फ र १७६ महिला सदस्यतर्फ उम्मेदवारी परेको छ।
नेपालगञ्ज उपमहानगरपालिकमा १३४ दलिततर्फ र १४९ महिला सदस्यतर्फ उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जले जनाएको छ। अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित नगरसभाले नै गर्ने प्रावधान रहेको नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।
प्रकाशित: १५ वैशाख २०७९ ०८:२३ बिहीबार