४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेयर ‘म्याराथन’

लहान नगरपालिकाको मेयरका प्रतिस्पर्धीहरु महेश चौधरी, मुनि साह सुडी। जनकपुरधाम उपमहानगरपालिकाको मेयर प्रतिस्पर्धीहरु, लालकिशोर साह, शिवशंकर साह।

स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत अन्तिम चरण अर्थात असोज २ गते मधेस प्रदेशमा निर्वाचन भएको थियो।  पाँच वर्षपछि एकै चरणमा वैशाख ३० गते भैरहेको निर्वाचनमा सत्तारुढ दलहरुबीचको ‘गठबन्धन’ र प्रतिपक्षी दलको ‘गठबन्धन’ ले चुनावी राजनीतिलाई खुबै तताएको छ। सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा सत्ताधारी दलहरुबीचको ‘गठबन्धन’ छ भने प्रतिपक्षी दल नेकपा एमालेको नेतृत्वमा प्रतिपक्षी दलहरुबीच चुनावी ‘गठबन्धन’ छ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा सत्तारुढ दलभित्रका जनता समाजवादी पार्टी(जसपा) नेतृत्वमा गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्। जसपाका लालकिशोर साह गठबन्धनका साझा उम्मेदबारको रुपमा मेयरको म्याथनमा छन्। नेकपा एमालेबाट शिवशंकर साह ‘हिरा’ र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट मनोज चौधरी मेयर पद्का लागि प्रतिस्पर्धा गर्दै छन्।  

आफूलाई मेयरको उम्मेदबार नबनाएको भन्दै प्रमुख दलका थुप्रै अकांक्षीहरु स्वतन्त्र उम्मेदबार बनेका छन्। लोसपाका जानकीराम साह सो पार्टीबाट मेयरको टिकट नपाउने देखेर बालकोट पुगेर नेकपा एमाले प्रवेश गरेका थिए। एमालेले अर्कैलाई मेयरको टिकट दिने भएपछि साह स्वतन्त्र उम्मेदबारको रुपमा मेयरमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली कांग्रेसका नेता मनोज साहलाई पार्टीले मेयरको टिकट नदिएपछि पार्टी नै परित्याग गरेर स्वतन्त्र उम्मेदबार बनेका छन्।  

नेपाली कांग्रेसका प्रभावशाली नेताहरु नै पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदबार बनेपछि यो दलसहितको गठबन्धनका साझा उम्मेदबारलाई आंकलन गरेअनुसारको मत जानेमा शंसय पैदा भएको छ।  

सप्तरीको सुरुङ्गा नगरपालिकाको मेयरमा टिकट नपाएपछि नेपाली कांग्रेसका नेता नारायण चौधरी पार्टी परित्याग गरी स्वातन्त्र उम्मेदवार बनेका छन्। चौधरीको विद्रोहले नेपाली कांग्रेसलाई यस नगरपालिकामा त मतभारको प्रभाव पार्छ नै यसको वाछिटा कांग्रेसले जिल्लाभरी बेहोर्नुपर्ने सप्तरीका कांग्रेसजन बताउँछन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयरका लागि  निवर्तमान मेयर रामबाबु यादवलाई जसपाले टिकट दिएन। मेयरको टिकट नपाएपछि यादव रन्थनिंदै लोसपा प्रवेश गरी मेयरमा उम्मेदवारी दिए।  

जिल्ला समन्वय समिति सप्तरीका निर्वतमान सभापति प्रभाकर यादवलाई लोसपाले छिन्नमस्ता गाउँपालिका अध्यक्षको टिकट नदिएपछि उनी जनता प्रगतिशील पार्टी प्रवेश गरी अध्यक्षका लागि उम्मेदवारी दिए।

राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भु यादवलाई जसपाले टिकट नदिएपछि उनी माओवादी केन्द्र प्रवेश गरी मेयरमा उम्मेदवारी दिएका छन्। यादव २०७४ सालको स्थानीय निर्वाचनमा १५ मतान्तरले तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए। पछि जसपा फुटेर लोसपा बन्दा उनले जसपा नै रोजेका थिए। यसपटकको चुनावमा जसपाले मेयरको टिकट भीमराज यादवलाई दिएको छ।  

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा वीरेन्द्र माझीले मेयरको टिकट नपाएपछि जसपा परित्याग गरी सिके राउत नेतृत्वको जनमत पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा टिकट नपाएपछि  जयप्रकाश यादव माओवादी केन्द्र परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेर अध्यक्षमा उम्मेदवारी दिएका छन्।

सर्लाहीको मलंगवा नगरपालिकाका निवर्तमान मेयर निरसल साहलाई  कांग्रेसले पुनः मेयरको टिकट नदिएपछि जसपामा प्रवेश गरी मेयरमा उम्मेदवारी दिएका छन्।  

मेयरको दौडमा साविकका दलले सहभागी नगराउने देखेर दलबदल गरेर वा स्वतन्त्रै भएपनि दौडमा सहभागी भएका यी प्रतिनिधि घटना हुन। बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मेयर बन्न अस्वभाविक म्याराथन चलेको छ। यसले चुनावी परिणामको आंकलनलाई समेत स्भाविक रुपमा जटिल बनाइदिएको छ।

गुटबन्दीको धरापमाथि ‘गठबन्धन’

लहान नगरपालिकामा कांग्रेसका निर्वाचित नगर अध्यक्ष रासलाल राय सो पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन्। कारण हो यस नगरपालिकाको वडा नम्बर २४ मा उनलाई कांग्रेसले अध्यक्षको टिकट दियो। मनोनयन दर्ता गराउनुअघि सोही वडाको अध्यक्षमा कांग्रेसले वीरेन्द्र यादवलाई समेत टिकट दियो। यो जानकारी पाएपछि रायले प्रतिवाद गरे। तर, वीरेन्द्रलाई फिर्ता नगर्ने सिरहा कांग्रेसको अडानपछि निरीह बनेका राय पार्टी परित्याग गरी जसपा प्रवेश गरे।

यो घटना लहानको एक वडाको नभई अधिकांश पालिकाको हविगत भएको कांग्रेसीहरु बताउँछन्। ०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस सिरहाको १७ वटा स्थानीय तहमध्ये दुईमा मात्र जित हात पार्न सकेका थिए। कारण थियो–गुटबन्दी। यसपाली पनि कारण उही भएकाले चुनावी नतिजा समेत दोहरिने कांग्रेसी नेताहरुकै आंकलन छ। सिरहामा नेपाली कांग्रेसको दुई गुट प्रष्ट छ। एउटा सभापति रामचन्द्र यादवको अर्को सभापतिका प्रत्यासी भई पराजित भएका रामसुन्दर चौधरीको।  

लहान नगरपालिकाको मेयरका तीन आकांक्षीहरु महेश चौधरी, सन्तोष चौधरी र सुनिल कुमार महतो मध्ये महेशले टिकट पाएका छन्। उनी संस्थापन पक्षका नेता एवं लहान नगरपालिका रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति हुन। महेशले टिक पाएपछि संस्थापन पक्षबाटै मेयरका अर्का आकांक्षी सुनिल महतो रुष्ट छन्। इत्तर पक्ष त पहिलादेखि नै संस्थापनसँग रुष्ट छन्।

यस नगरपालिकामा नेपाली कांग्रेसले जसपा र माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेको छ। जसपालाई उपमेयर र माओवादी केन्द्रलाई मागेअनुसारको वडा अध्यक्ष दिएर कांग्रेसले नगरको मेयर जित्ने रणनीति बनाएको छ। तर, गठबन्धन दल जसपाभित्रै उम्मेदवारको विषयमा एकमत छैन। उपमेयरमै जसपाबाट दुई जनाले उम्मेदवारी दिएका छन। रामचरित्र महतो र चन्द्रनारायण कुशवाहाले जसपाबाट उपमेयरमा उम्मेदवारी दिएका छन्। यो अवस्थामा कांग्रेसका लागि लहान नगरपालिकामा झण्डा फहराउन सोचेजसतो सजिलो भन्ने देखिदैन।

मेयर उम्मेदबार महेश कोरोना कहरका बेला विपन्न बस्तीमा राहत सामग्री पुर्याएर जनतासँग जोडिन पुगेका थिए। दुःखका बेला साथ उभिएकाले निर्णायक मानिएका समुदायको मत आफ्नो पक्षमा पोखिने महेशको दावी छ। नेपाली कांग्रेसको मत मात्र इमान्दारपूर्वक आयो भने महेशको पल्ला भारी हुने कांग्रेसका नेताहरु बताउँछन्।  

२०७४ को स्थानीय तह निर्वाचनमा यस नगरपालिकामा नेकपा एमालेका उम्मेदबार मुनी साह सुडी मेयरमा विजयी भएका थिए। उनले ११ हजार ३०७ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत ल्याएका थिए। २४ वडा रहेको लहानमा ९ वटा वडामा कांग्रेसबाट अध्यक्ष जितेका थिए भने ९ वडामा एमाले, ४ मा जसपा र २ वटा वडामा माओवादी केन्द्रबाट अध्यक्ष जितेका थिए।

गत्त चुनावमा मुनी साहभन्दा दुई हजार कम मत प्राप्त गरेका थिए कांग्रेस उम्मेदवार। यसपाली परिदृश्य फरक छ। त्यो बेलाको एक ढिल्का एमाले अहिले औपचारिक रुपमा विभाजित छ। तर कांग्रेस एक ढिक्का नै छ। मतमा गुटबन्दीको प्रभाव नै महेशको जित हारको मुख्य कारण बन्ने कांग्रेसजनको भनाई छ।

एमाले विभाजन भएर बनेको नेकपा (एस)बाट लहान नगरपालिकाको मेयरमा विनोद साह प्रतिस्पर्धा गर्दै छ। लहानको पुराना वडाहरु १ देखि १० सम्मका जनतामा साहको राम्रै पकड छ। एमालेको उल्लेख्य मत साहतिर खन्याउने गरी नेकपा(एस)का नेताहरुले कसरत तिब्र पारेका छन्।

मधेस आन्दोलनको उद्गमथलो लहान नगरपालिकाको मेयर जित्न २०७४ को जस्तो मुनी साहलाई सजिलो भने छैन्। लहान नगरका निर्वतमान मेयर उनी चौथो पटक मेयरको म्याराथनमा सहभागी छन्। तीन पटक लहान नगरको मेयर जितिसकेका उनले चौथो पटक जित्न सबै दाउपेंच प्रयोग गरिरहेका छन्। उनको नजर भने गठबन्धन दलका अनसन्तुष्ट एवं रुष्ठ समुहमाथि छ। यी समुहको मतलाई आफुतिर ‘क्यास’ गर्न उनले नजर गाडेका छन्। मेयरको पछिल्लो कार्यकाल बहुमत नहुँदा पनि सहजै चलाएका उनी रणनीतिक रुपमा चतुर मानिन्छन्।

प्रकाशित: १४ वैशाख २०७९ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App