७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पाँच वर्षमा १४ पटकसम्म फेरिए प्रमुख प्रशासकीय अधिकृत

स्थानीय तहका पदाधिकारीहरूको पाँच वर्षीय कार्यकाल सकिनै लागेका बेला तीनवटाबाहेक ७ सय ५० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू पूरा कार्यकाल अर्थात पाँच वर्षसम्म टिक्न नसकेको पाइएको छ।

कतिपय पालिकामा १० पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् भने केहीमा त पाँच वर्षमा १४ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएको देखिएको छ। संघीय मामिला मन्त्रालयका अनुसार धनुषाको हंसपुुर, बाँकेको राप्ती सोनारी र मोरङको सुन्दर हरैँचामा पाँच वर्षको अवधिमा १ दर्जनभन्दा बढी प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।

धनुषाको हंसपुरमा १४ पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकारीहरू बताउँछन्। यद्यपि हंसपुर नगरपालिका मेयर रामज्ञान मण्डलले त्यति संख्यामा आफ्नो पालिकामा प्रमुख प्रशासकीय अधिकृत नफेरिएको दाबी गरे। उनले भने, ‘निमित्तलाई समेत जोड्ने हो भने १४ पुग्छ होला तर निमित्तलाई नजोडौं।’

धनुषाको जनकपुर उपमहानगरपालिकामा १० पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। कर्मचारी प्रशासन शाखाका अनुसार रौतहटलगायत मधेस प्रदेशका अधिकांश पालिकामा प्रमुख प्रशासकीय अधिकृत धेरैपटक फेरिए। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले केही पालिकामा पाँच वर्षको अवधिमा १४/१५ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएको बताए।

तर मन्त्रालयका अर्का एक उपसचिव भन्छन्, ‘यो पाँच वर्षीय अवधिको अनुभवबाट पाठ सिक्दै एउटा निश्चित मापदण्ड बनाउनुपर्छ, ताकि अबदेखि एक पालिकामा एक प्रमुख प्रशासकीय अधिकृत पूरा कार्यकालसम्म बसोस्।’ पालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई खटाउँदा काम र अवधि तोकेरै खटाउनुपर्ने उनको सुझाव छ। ‘अवधि तोकेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अवधि नसकिँदै फर्किए भने कारबाही गर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने।

पटकपटक फेरिएका प्रमुख प्रशासकीय अधिकृतहरू पनि आफ्नो मूल्यांकन नभएको गुनासो गर्छन्। राम्रोसँग काम गर्दा पनि मन्त्रालयले मूल्यांकन नगरेको उनीहरूको भनाइ छ। ‘यो अवधिमा कसले कसरी काम  गर्‍यो। यसको मूल्याकंन हुँदैन,’ हाल कपिलवस्तुको वाणगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भने, ‘यसबाट पटकपटक विभिन्न ठाउँमा खटाइएका हामीजस्ता प्रमुख प्रशासकीय अधिकृतहरूमा निराशा उत्पन्न हुन्छ।’ पाँच वर्षको अवधिमा उनी आफैं पनि ११ ठाउँ प्रमुख प्रशासकीय अधिकृत भएका छन्। सुुरुमा उनी ललितपुरको गोदावरीमा थिए भने हाल वाणगंगामा कार्यरत छन्।

तीनवटा पालिकामा भने प्रमुख प्रशासकीय अधिकृत पाँच वर्षसम्म टिकेका छन्। गोरखाका सहिद लखन गाउँपालिका जीवन आले, मकवानपुर थाहा नगरपालिकाका हरिलाल पुरी तथा इलामको देउमाई नगरपालिकाका प्रेमप्रसाद दाहाल मात्र पूरा अवधि (पाँच वर्ष) टिकेको संघीय मामिला मन्त्रालयले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारको मातहतमा हुने व्यवस्था छ। त्यसकारण पालिकाका प्रमुखहरूले चाहेर पनि आफ्ना पालिकामा प्रमुख प्रशासकीय अधिकृत फेर्न सक्दैनन्। धेरैजसो पालिकामा पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच द्वन्द्व भयो। कुनैमा बोलचाल नै बन्द भयो।

आफ्नो पालिकामा प्रमुख प्रशसाकीय अधिकृत फेर्न पालिकामा प्रमुखहरू डेलिगेसन लिएर मन्त्रालय पुग्ने गरेका थिए। चुनावको मिति घोषणा भएपछि पालिका प्रमुख र प्रमुख प्रशसकीय अधिकृतबीचको द्वन्द्व झनै बढ्यो। पालिकाका प्रमुखहरूको दबाब आउन थालेपछि केही ठाउँमा प्रमुख प्रशासकीय अधिकृतहरू वैशाख महिनाभर घरबिदासमेत बसेका छन्।

यता २ सय १३ स्थानीय तह अझै पनि निमित्तको भरमा चलेका छन्। मन्त्रालयका अनुसार केही स्थानीय तहका पालिका प्रमुखहरूले दरबन्दीअनुसार कर्मचारी नपठाउन र निमित्तकै भरमा काम चलाउन मन्त्रालयका माथिल्लो तहका कर्मचारीहरूलाई निर्देशन दिएका थिए।

यतिसम्म कि केही स्थानीय तहले मन्त्रालयले पठाएका कर्मचारीलाई हाजिरी नगराई केन्द्रमै फर्काएका थिए। ‘पालिका प्रमुखहरूको असहयोगका कारण पनि सबै स्थानीय तहमा निमित्त झिक्न सकेनौं,’ मन्त्रालयका अर्का एक उपसचिवले भन, ‘आफ्नो पुरानो हिसाबकिताब मिलाउन पनि पालिका प्रमुखहरूले निमित्तलाई चुनावसम्म निरन्तता दिन चाहेको देखियो।’

प्रकाशित: १४ वैशाख २०७९ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App