coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरा महानगरः हिजो दोस्ती, आज प्रतिश्पर्धी

पोखराका मेयरका प्रतिश्पर्धी कृष्ण थापा (बायाँ) र धनराज आचार्य।

अघिल्लो स्थानीय तहको चुनावमा एमालेको तर्फबाट पोखराको मेयरका उम्मेदवार थिए मानबहादुर जिसी। उनै जिसीलाई जिताउने रणनीति बनाउनेमध्येका एकजना पात्र हुन्, धनराज आचार्य। सबैको बलमा जिसीले चुनाव जितेर पाँच वर्ष महानगर हाँके।  

पाँच वर्ष अघिको चुनावमा जिसीलाई जिताउन लागिपरेका आचार्य अहिले एमालेकै लागि टाउको दुखाई र चुनौतीको पहाड बनेर अघिल्तिर उभिएका छन्। कारण? जिसीको कार्यकाल नसकिँदै पार्टी विभाजन हुँदा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्य एमालेकै उम्मेदवार कृष्ण थापासँग प्रतिश्पर्धा गर्न पोखरा महानगरको मैदानमा ओर्लिएका छन्। यतिसम्म की २०५४ मा थापालाई पोखराको मेयर बनाउन उनै आचार्यको पनि भूमिका थियो।

अघिल्लोपटक जुन दलका लागि भोट माग्दै आचार्य हिडेका थिए, अहिले त्यही दलसँग चुनावी प्रतिश्पर्धामा आचार्य छन्। अघिल्लो पटकको स्थानीय तहको चुनावमा आचार्य र थापा एकै मैदानमा रहेर पोखराको मेयरको उम्मेद्वार बन्न चाहन्थे। तर, अन्तिम समयमा जिसीको पोल्टामा उम्मेद्वारी पुग्यो। यो अवधिमा राजनीतिले कोल्टे फेर्दा हिजोका मित्र अहिलेका कट्टर प्रतिश्पर्धी बनेका छन्। थापा र आचार्यबीचको हिजोको सम्बन्ध अहिले प्रतिश्पर्धामा बदलिएको छ। हिजोका सहयात्री अहिले एकअर्कालाई पाखा लगाउनेगरि बल निकाल्दैछन्।

पोखरा महानगर हाँक्न तम्सिएका दुवै उम्मेदवार कुनैबेला एकैदलमा रहेर काम गरेका  नेता हुन्। तर, अहिले फरक कित्तामा रहेर एकअर्काबीच प्रतिश्पर्धा गर्दा त्यसले चुनावी परिणामलाई कत्तिको फरक पार्न सक्छ ? विश्लेषक सुरेन्द्र थापामगर भन्छन, ‘आचार्य र थापाबीच स्वस्थ प्रतिश्पर्धा हुनेछ। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका आचार्य र आचार्यकै पुरानो पार्टीका नेता थापा अहिले एकै मैदानमा छन। एकले अर्काको अवस्था बुझेका पनि छन्।’  

उनको विश्लेषणमा पार्टी फुट्दा मुल पार्टीलाई बढी माया गर्ने चलन हुन्छ। पार्टी विभाजन भएर छुट्टिएका भन्दा पुरानौ पार्टीभित्रै रहेकालाई बढी हेरिन्छ। जहाँ व्यक्ति भन्दा दल नै हेरिन्छ। तर, विभाजन भएर जानेमा दलभन्दा व्यक्ति हेर्ने चलन बढी हुन्छ। ‘सिंगो पार्टीप्रति विश्वास र भरोसा जति बढी हुन्छ, त्यो गुटगत राजनीतिमा कम हुन्छ। एकैठाउँमा भएपनि त्यो विश्वास कम हुन्छ। गठबन्धनमा अहिले त्यही अवस्था छ,’ उनले भने।  

गठबन्धनभित्रका राजनीतिक दलले धनराजलाई हामी सबैको साझा उम्मेदवार भनेर लिएमा उनलाई चुनाव जित्न सहज हुने विश्लेषक थापा बताउँछन्। ‘राजनीतिमा सिद्धान्त र बिचार भन्दा बाहिर गयो भने अझ असहज हुन सक्छ,’ उनले भने। उनका अनुसार फरक दलको मत एकैठाउँमा आउनु अलि गाह्रो कुरा हो, जति एकै दलको एकैठाउँमा आउन सहज हुन्छ। ‘चारैतिर छरिएको घाँसको मुठा पार्न गाह्रो हुन्छ, तर, एउटै डोकोमा खन्याउन सहज हुन्छ, त्यस्तै अवस्था अहिले छ,’ उनले भने, ‘एकीकृत समाजवादीका आचार्यसँग अहिले चारैतिर छरिएको घाँसलाई एकै डोकोमा हाल्नुपर्ने चुनौती छ।’  

विगतमा नगरप्रमुख भएको हुँदा एमालेका थापालाई केही सहज हुनसक्ने उनको आँकलन छ। गठबन्धन दलभित्र पनि बिद्रोही उम्मेदवार तयार भएको र पार्टीभित्रैको विमतीले गर्दा थापालाई फाइदा हुन सक्ने उनको भनाई छ। त्यसबाहेक एमालेमा तत्कालका तत्काल महानगरको उम्मेद्वार परिवर्तन हुँदाको फाइँदा आचार्य पुग्ने पनि उनको बुझाई छ।  

एमालेले सुरुमा पोखरा महानगरपालिकामा मेयरको उम्मेद्वार दीपक पौडेललाई बनाउने निर्णय गरेको थियो। तर, पार्र्टीले पौडेललाई उम्मेद्वार बनाउने निर्णय बाहिरिएसँगै एउटा भिडियो भाइरल बन्यो जुन भिडियो उनै उम्मेदवार पौडेलसँग सम्बन्धित रहेको भन्दै सामाजिक सञ्जालमा दावि गरिएको छ। मेयरका उम्मेदवार बनेका पौडेल दशकअघि पोखरामा सुनचोरीमा संलग्न भएको भन्दै भिडियो पोष्ट गरियो, जसको आधिकारिक पुष्टि अझैसम्म कतै भएको छैन। भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा ब्यापक टिकाटिप्पणी हुन थाल्यो। पौडेलबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी चलिरहँदा उनको उम्मेदवारी खोसेर गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई मेयरको उम्मेदवार बनाइएको थियो।  

‘फरक दल र ती दलका मतदातालाई रिझाउनुपर्दा आचार्यले बढि मेहनत गर्नुपर्ने देखिन्छ। त्यो विषयमा एमालेका थापालाई केही सहज छ,’ उनले भने, ‘फरक दललाई मनाउन आचार्य बाध्य छन। त्यसका लागि आचार्यले थप बल प्रयोग गर्नुपर्छ।’ थापाको बुझाईमा अहिलेका प्रतिश्पर्धीद्वय आचार्य र थापा हिजो एकै दलमा रहेर काम गरेकोले पनि अरुजस्तो गुटबन्दीमा उनीहरु थिएनन। ‘हिजोसम्म एकाकार भएर लागेका व्यक्ति हुन्। आत्मियता भएका नेताहरु हुन्। तर, अहिले फरक तरिकाले प्रतिश्पर्धी बनेका छन,’ उनले भने।  

एमालेका अर्का एकजना नेता भने थापा र आचार्यबीच पुरानो सम्बन्ध भएपनि अहिलेको चुनावमा त्यो सम्बन्धले खासै अर्थ नराख्ने बताउँछन्। ‘अहिले दल नै फरक छ। हिजोका साथी भएपनि अहिले त्यो सम्बन्धले खासै अर्थ राख्दैन,’ ती नेताले भने, ‘अहिलेको प्रतिश्पर्धा साथी भन्दा पनि दलबीचको हो।’  

स्वयं उम्मेदवारद्वय एकअर्काबीचको प्रतिश्पर्धालाई सहज लिएका छन्। एमालेका उम्मेदवार थापा भन्छन, ‘हामी (धनराज र म) हिजोका साथी हौ। तर, अहिले एकअर्काबीचको प्रतिश्पर्धामा छौ। प्रजातन्त्रमा प्रतिश्पर्धा हुनु नै ‘इन्जोय’ हो। स्वस्थ प्रतिश्पर्धालाई आत्मसाथ गर्दै नयाँ पुस्तालाई राजनीतिमा आउन सिकाउने हो।’ थापाले आचार्यलाई बिखण्डनको बाटोमा लागेको समेत आरोप लगाए। ‘आफुले बनाएको घर ध्वंस बनाउन धनराज जी लाग्नुभयो, धनराज त्यो बाटोमा नलागेको भए हुन्थ्यो भन्ने मेरो चाहना थियो,’ उनले भने, ‘हिजो जनताले विश्वाल गरेका थिए। तर, अहिले धोका भयो । धनराजले मुल घर छाडेर गएकोमा मेरो चिन्ता छ। तर, लडाइको मैदानमा गएपछि प्रतिश्पर्धा स्वतः भईहाल्छ।’

पोखरामै रहेर राजनीति गरेको र पोखरेलीको सेवा गरेकोले आफुलाई चुनावमा सहज रहेको उनले बताए। ‘मैले पोखरामै रहेर निरन्तर राजनीति गरे। पोखरेली जनताको सेवामा लागे। दुइवर्ष राजनीति गरेर व्यवसायमा फर्केको होईन,’ उनले भने, ‘निरन्तरजसो पोखरेलीको सेवामा समर्पित भएकोले महानगरका जनताले मुल्यांकन गर्नेछन।’  

अर्का उम्मेदवार आचार्य नयाँ परिस्थिति ह्याण्डल गर्न केही कठिन भएपनि बारम्बारको चुनावी अनुभवले निखारिएको बताउँछन। ‘सबैको जोडमा सबैको स्थानीय सरकार बनाउने हो। लथालिंग भएको पोखरालाई राम्रो बनाउने हो,’ उनले भने, ‘त्यसका लागि सबै दलसँग बसेर छलफल गर्नेछौ।’ उनले राजनीतिक सहयात्री थापासँग स्वच्छ प्रतिश्पर्धा हुने बताए।  

प्रकाशित: १३ वैशाख २०७९ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App